नयाँ वर्षको स्वागत अप्ठ्यारो परिस्थितिमाः प्रधानमन्त्री ओली

नयाँ वर्षको स्वागत अप्ठ्यारो परिस्थितिमाः प्रधानमन्त्री ओली

Badigad Online
2 Min Read

प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने समय उल्लासमय हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसरमा एक भिडियो सन्देश जारी गर्दै नयाँ वर्ष २०७७ सालको स्वागत साह्रै अप्ठ्यारो परिस्थितिमा गर्नुपरेको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारी समाप्त नभएसम्म आफूले पारिश्रमिक नलिने घोषणा पनि गर्नुभएको छ । आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय उहाँले गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मुलुकको प्रगतिमा हुने उपलब्धीको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह–भारवहन सबैले मिलेर गर्नुपर्नेमा जोड दिनुभएको छ ।

भारी मनका साथ नयाँ वर्ष २०७७ को शुभकामना दिनुपरेको उहाँले उल्लेख गर्नुभयो । ‘तपाईंहरूका प्रधानमन्त्रीका रुपमा मैले केही असहज अवस्थाबीच भारी मनका साथ नयाँ वर्ष २०७७ को शुभकामना भन्नु परिरहेको छ ।’ प्रधानमन्त्री ओलीले दिएको सन्देशमा भन्नुभयो । प्रधानमन्त्री ओलीले कोरोना भाइरस विरुद्धको जारी ‘युद्ध’को अगुवाइ सरकारले गरिरहेको उल्लेख गर्दै हरेक दुःखका पलहरुमा नागरिकबाट हौसलापूर्ण साथ, सहयोग र सद्भाव पाएको बताउनुभयो ।

आगामी दिनमा पनि सम्पूर्ण देशवासीहरुको निरन्तर साथ रहनेमा सरकार विश्वस्त रहेको उहाँको भनाइ छ । विगतमा भूकम्पको अफ्ठ्यारो अबस्थामा नेपालीले देखाएको एकता र सहासबाट सो भूकम्पको प्रभावबाट उठ्न सफल भएको दृष्टान्त दिदै कोरोना विरुद्धको लडाइँमा पनि एक हुन प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित