कैलालीकी एक महिलामा कोरोना पुष्टि

कैलालीकी एक महिलामा कोरोना पुष्टि

Badigad Online
2 Min Read

काठमाडौं, वैशाख १ । कैलालीको लम्की चुहा नगरपालिका १ मा एक महिलालाई कोरोनाभाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतले महिलामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

’उहाँको संक्रमण पुष्टि भइसकेको छ,’ स्रोतले भन्यो । १५ दिनअघि वीरगञ्जबाट आएकी ती महिलालाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो । र्यापिड टेस्टका क्रममा उनको नतिजा नेगेटिभ आएको थियो । तर थप परीक्षणका लागि उनको स्वाब काठमाडौं पठाइएको थियो ।

काठमाडौंमा परीक्षण गर्दा उनको नतिजा पोजेटिभ देखिएको हो । अहिले महिलालाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ । संक्रमित महिलासँगै १७ जनाको टोली वीरगञ्जबाट गत चैत १७ गते लम्की पुगेका थिए । बाँकीको पनि नमूना परीक्षणको गरिएको सबैको नतिजा नेगेटिभ आएको छ ।

’उहाँहरूलाई पर्सा जिल्ला प्रशासन कार्यालयले पत्रसहित चिसापानीसम्म छोडिदिनुभएछ । त्यहाँबाट उहाँहरू सिधै आ आफ्नो घर जानुभएछ’ लम्कीचुहा १ का वडा अध्यक्ष जनक बमले भन्नुभयो, ’गाउँलेले बाहिरबाट आएको खबर गरेपछि सबैलाई क्वारेन्टिनमा राख्यौं।’ यसअघि आइतबार वीरगञ्जको मस्जिदमा बसेका तीन जना भारतीयमा कोरोनाको संक्रमण पुष्टि भएको थियो । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अहिले चार जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

आईतबार मात्रै बाग्लुङमा पनि एक ६५ वर्षीय महिलाको र्यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । ती महिलालाई नेपाल रेडक्रस बाग्लुङ बिहुँ शाखाका एम्बुलेन्स चालकले ल्याउन नमानेपछि जिल्ला प्रहरी कार्यालय बागलुङको टालीले उनको उद्धार गरि भिमशेन माध्यमिक विद्यालयको क्वारेन्टाइनमा ल्याएर राखेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता हेम केसीले जानकारी दिनुभयो । उनलाई आइतबार राती ११ बजे प्रहरीले घरबाटै लिएर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टानमा राखेको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित