काठमाण्डौ, वैशाख ३ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण नेपालमा बढ्दै गएको छ । मगंलबारसम्म द्रुुत परीक्षण विधि र पीसीआर विधिबाट १२ हजार ९ सय ६ जनाको नमुना परीक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना पुष्टि हुनेमा १९ वर्षका युवतीदेखि ८१ वर्षका वृद्धासम्म छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सङ्क्रमित १६ मध्ये पहिलो पटक सङ्क्रमित देखिएका एकजना निको भएर घर फर्किसकेका छन् । १५ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ । पाँचजनाको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने चारजनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा दुई, पाटन अस्पताल लगनखेलमा दुई र धौलागिरि अस्पताल, बागलुङमा दुईजनाको उपचार हुँदैछ । हिजो मात्रै भक्तपुरको पेप्सीकोलामा एउटा अपार्टमेन्टमा बस्ने एउटै परिवारका दुईजनामा सङ्क्रमण पुष्टि भएको थियो । दु्रत परिक्षण किटबाट परिक्षण गर्दा परिवारका तीन जनामा संक्रमण देखिएपछि उनीहरूको पुनः पीसीआर विधिबाट परीक्षण गरिएको थियो । जसमा ५८ वर्षका पुरुष र ८१ वर्षका महिलामा सङ्क्रमण देखिएको मन्त्रालयले जानकारी गराएको हो । एक जनाको भने परिक्षणको नतिजा आउन बाँकी रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । हालसम्म देशभरका क्वारेन्टाइनमा पाँच हजार ७ सय ७१ को रहेका छन् ।