वैशाख ५ गुल्मी । जिल्लाको इस्मा गाउँपालिकाले खाद्यको नाममा मदिरा बोकेर मालिका गाउँपालिका ५ छापहिले जाँदै गरेको गाडीलाई नियन्त्रणमा लिएको छ । ग १ च ९८६ नं को जीपलाई गाउँपालिका ३ दर्लामचौर रामकोटमा चेकजाँच गरेर १० कार्टुन मदिरा बरामद गरी चालकलाई सम्झाएर छाडिएको गाउँपालिकाकी उपाध्यक्ष विमला खत्रीले जानकारी दिनुभयो ।
त्यस्तै, बिहीबार बिहान छापहिले नै जाँदै गरेको लु २ च २५७३ को जिपबाट पनि छल्दी पनाहमा ५ कार्टुन मदिरा बरामद गरिएको उहाँले जानकारी दिनुभयो । यता, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खडकाले खाद्यको नाममा मदिरा बोकेर हिँड्ने छुट कसैलाई नभएको बताउनुभयो । खाद्यको नाममा मदिरा बोक्नेलाई चेक जाँचमा कडाइ गरिनेसमेत उहाँको भनाई छ ।
इस्मा गाउँपालिका ४ दोहलीका २७ वर्षीय कृष्णबहादुर नेपालीले २४ वर्षीया लक्ष्मी नेपालीको मदिरा सेवन गरी कुटपिट गर्दा बायाँ हात भाँचिएको इस्मा प्रहरीचौकी इन्चार्ज मोहनलाल अधिकारीले बताउनुभयो । पीडितको सदरमुकाम तम्घासमा उपचार गरिएको छ । मदिरा बिक्री वितरण गर्ने र सेवन गरेर झगडा गरेको सूचनाको आधारमा इस्मा गाउँपालिका ४ दोहलीको सालघारी पुगेको गस्ती टोलीले टेकबहादुर नेपाली र कुखरियाच्यनाका रमेश जिसीको घरबाट अवैध मदिरा बरामद गरेर नष्ट गरेको प्रहरीचौकी इन्चार्ज अधिकारीले बताउनुभयो ।
दुई घरबाट बिना इजाजत बिक्री गर्न राखेको २१ कार्टुन मदिरा बरामद गरेर नष्ट गरिएको हो । साथै लकडाउनकै समयमा रातका जम्मा भएर मदिरा सेवन गर्ने, बिक्री गर्ने गरेको सूचनाको आधारमा एक सय ५० लिटर मदिरा बरामद गरेर नष्ट गरिएको गाउँपालिकाले जनाएको छ । इस्मा गाउँपालिकाले लकडाउन व्यस्थित गर्न दर्लामचौरमा २५ जना स्वयमसेवक टोली गठन गरेको छ । भने इस्मा गाउँपालिका २ र ३ मा विभिन्न ठाउँबाट आएका २५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
थाहा खबरमा पत्रकार तिलाचन पाण्डेले यो खबर लेख्नुभएको छ ।