विष्णु प्रसाद आचार्य,गुल्मी वैशाख ५ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोकथामका लागि सरकाले यतिबेला देशभर लकडाउनको घोषणा गरेको छ । लकडाउनका कारण दैनिक ज्यालादारी र मजदुरी गर्नेहरु बढी प्रभावित बनेका छन् । देशका विभिन्न जिल्लामा श्रम गरेर जीवन धान्ने नागरिकहरुले सास्ती भोग्नु परेको छ ।
उनीहरु न काम पाउँछन् , न खान बस्न । स्थानीयहरुले साथ र सहयोग नदिएपछि दैनिक ज्याला मजदुरी गरेर चल्ने नागरिकहरुले भोकभोकै तिर्खाएर, अपहेलित भएर मर्नभन्दा पैदलै बरु गाउँघरतिरै फर्कौंला भन्ने कठोर निर्णय लिइ आ–आफ्नो घरतिर हिड्न थालेका छन् । नेपाल सरकारले बिना कुनै पूर्व तयारी देशमा लकडाउन शुरु गर्दा देशभित्र आफ्नो गाउँघरबाट टाढा अर्को जिल्लामा आन्तरिक श्रम गरी जीवन धान्दै आएका मजदुर, श्रमिकहरुले काम पाउन छोडेपछि चार–पाँच दिन हिडेरै भएपनि आ–आफ्नो गाउँघर फर्किने क्रम बढेको हो ।
यसै क्रममा बाग्लुङको गल्कोट नगरपालिकाबाट सल्यानको कपुरकोट गाउँपालिका र त्रिवेणी गाउँपालिका पैदल जाँदै गरेका १० जनाको समूहलाई गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ स्थित स्थानीय एक क्लबले सहयोग गरेको छ । गल्कोट नगरपालिकाको हटियामा पक्की पुल निर्माणमा काम गर्दै आईरहेका मजदुरहरु लकडाउनका कारण पुल निर्माणको काम रोकिएपछि अबोध बालकदेखि ७१ वर्षका वृद्धसम्म रहेका महिला, पुरुष मजदुरहरुको उक्त समूहलाई मुसीकोट–१, अरेबाको अनुरोध प्रगतिशील युवा क्लबले खान, बस्न सक्ने व्यवस्था मिलाएर सहयोग गरेको हो ।
बैशाख ४ गते बिहीबार दिउँसो करिब २ः३० बजे एउटा आगन्तुक मानिसहरुको हुल गाउँमा देखेपछि कोरोना सँक्रमण फैलिदै गरेको अवस्थामा स्थानीय समाजमा जोखिम हुनसक्ने कुरालाई मध्येनजर गरी सोधपुछ गरेको र उक्त समूह गल्कोट नगरपालिकामा बन्दै गरेको पक्की पूलमा अन्य जिल्लाहरुबाट आई श्रमकार्यमा खटेको पाईएको बताईएको छ । पूल निर्माणकार्यको ठेकेदारले पैसा नदिएपछि गल्कोट नगरपालिकाका मेयरले बाटा खर्ची दिएर पठाएको उनीहरुले बताएका छन् ।
सोधपूछका क्रममा उनीहरुले कोही सल्यान, कोही प्यूठान त कोही दांगदेखि आएको तर लकडाउनका कारण एक महिना बित्न लागीसक्दा पनि काम, दाम नपाउँदा यहाँ अल्पत्र परेपछि हिडेरै भए पनि घर फर्कन लागेको बताएका क्लवका सरंक्षक शक्तिराज घिमिरेले जानकारी दिनुभयो । अनुरोध प्रगतिशील युवा क्लबले बस्न, खान, सुत्न सबै व्यवस्था मिलाएको र शुक्रवार बिहानै ४ बजेतिर उठेर पुन ः पैदल यात्रामा उनीहरु निस्किएको घिमिरेले बताउनुभयो ।