गण्डकी प्रदेशमा कडाई :कोही पनि छिर्न नपाउने ,एक स्थानीय तहबाट अर्कोमा जान मनाही

गण्डकी प्रदेशमा कडाई :कोही पनि छिर्न नपाउने ,एक स्थानीय तहबाट अर्कोमा जान मनाही

Badigad Online
2 Min Read

पोखरा,वैशाख ५ । वैशाख गण्डकी प्रदेशले अन्य प्रदेशबाट गण्डकी छिर्न लागेका कसैलाई पनि प्रवेश नदिने निर्णय गरेको छ । शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण र व्यवस्थापन सम्बन्धी उच्चस्तरीय समितिको बैठकले अरु प्रदेशबाट आएका सबैलाई नाकाबाटै फिर्ता गर्ने निर्णय गरेको हो ।

प्रदेशभित्रका एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहदेखि अर्को स्थानीय तहमा हुने आवतजावत नियन्त्रण गर्ने र कोेही आउजाउ गरिहाले सम्बन्धित ठाउँमा नै क्वारेन्टाइनमा बस्नुपर्ने अनिवार्य व्यवस्था गर्ने निर्णय पनि गरेको छ । मालबाहक ट्रक वा अन्य अत्यावश्यक सवारी साधनबाट लुकीछिपी आउने व्यक्ति र गाडीलाई समेत नियन्त्रणमा लिन सम्बन्धित निकायलाई सरकारले निर्देशन दिएको छ ।

बैठकले प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबाट भइरहेको राहत वितरणको कामलाई एकद्वार प्रणालीबाट वितरण गर्ने व्यवस्था मिलाउने र त्यस्ता राहत असंगठित क्षेत्रका मजदुर, श्रमजीवि र निम्न आय भएका व्यक्तिहरूलाई उपलब्ध गराउने निर्णय पनि गरेको छ। जिल्ला र स्थानीय तहमा भएका क्वारेन्टाइनलाई आवश्यक मापदण्ड पूरा गर्न र आइसोलेसनका लागि तयार गरिएका कक्षलाइ कोभिड क्लिनिकको रूपमा चलाउन निर्देशन पठाएको छ ।

यस्तै, र्यापिड डायग्नोस्टिक टेष्ट (आरडिटी) बाट नेगेटिभ रिजल्ट आएकाहरू पनि पिसिआर मेसिनमा पोजिटिभ आउन सक्ने भएकोले २८ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । त्यस्ता व्यक्तिहरू घरमै पनि क्वारेन्टाइनमा बस्न सक्नेछन् । प्रदेशभित्र सञ्चालित सबै अस्पताललाई ओपिडीबाहेकका सबै स्वास्थ्य सेवा सूचारु गर्न निर्देशन दिएको छ ।

मस्जिद, मदरसा, मन्दिर, गुम्बा, चर्चलगायतका धार्मिकस्थल पूर्ण रूपमा बन्द गर्ने र बजारमा किनमेलका लागि हुने भीडसमेत नियन्त्रण गर्ने निर्णय गरिएको छ । प्रदेशका सबै नाकाबाट प्रवेश गर्ने गाडीलाई डिसइन्फेक्सन गर्न स्प्रे छर्ने र गाडी चालकलाई द्रूत परीक्षणको व्यवस्था मिलाउने निर्णय भएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिनुभयो ।

नेपाल न्यूजले समाचार लेखेको छ

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित