काठमाडौँ, वैशाख ६ । नेपालको दोस्रो कोभिड १९ संक्रमित निको भएर आज डिस्चार्ज भएकी छिन् । चैत १० गते कोरोना पुष्टि भएकी काठमाडौंकी १९ वर्षीया युवती टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा वार्डमा उपचाररत थिइन् ।
टेकु अस्पतालका प्रवक्ता डाक्टर अनुप बाँस्तोला र संक्रमणपछि निको भएकी युवतीको अनुमतिमा यो तस्बिर स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको हो । सबै रिपोर्ट नेगेटिभ आएपछि उनलाई आज डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्री भानुभक्त ढकालका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिनुभएको छ ।
ती युवती चैत ४ गते फ्रान्सबाट नेपाल आएकी थिइन् । फ्रान्सबाट कतारको दोहासम्म सँगै आएको भियतनामी साथीले फोन गरेर आफूलाई संक्रमण रहेको बताएपछि परिवारका सदस्यले उनलाई टेकु अस्पताल ल्याएका थिए । त्यसैगरी टेकु अस्पतालमा चैत १२ गते कोरोना पोजिटिभ देखिएका धादिङका युवक उपचाररत छन् । उनी युएईबाट चैत ६ गते नेपाल आएका थिए ।
नेपालमा पहिलोपटक चीनबाट फर्केका ३२ वर्षीय पुरुषमा माघ १० गते कोरोना पोजिटिभ देखिएको थियो । उनी निको भइसकेका छन् ।
कान्तिपुर दैनिकले समाचार लेखेको छ ।