काठमाडौंको कपन क्षेत्रमा भइरहको अवैध बालुवा उत्खनन् रोक्दा प्रहरी इन्चार्जको सरुवा भएको छ । स्थानीय जनप्रतिनिधिको समेत संलग्नतामा कपन क्याम्पस हाताभित्रबाट भइरहेको अवैध बालुवा उत्खनन् रोक्दा महानगरीय प्रहरी प्रभाग कपनकी इन्चार्ज इन्स्पेक्टर सुरक्षा केसीको सरुवा भएको हो ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार केसीलाई हटाएर सो ठाउँमा अर्का इन्स्पेक्टर शेखरजंग मल्ललाई इन्चार्ज बनाएको छ । काजमा एकेडेमी ल्याइएकी केसीलाई कपनबाट हटाउन स्थानीय जनप्रतिनिधि समेत लामो समयदेखि जोडबल गरिरहेका थिए । कपन क्याम्पसबाट उत्खनन् गरिएको बालुवा बेच्ने जनप्रतिनिधिको निर्णयमा प्रहरी असहमत थियो ।
क्याम्पसको भवन निर्माणका लागि त्यहाँको बालुवा प्रयोग गर्न दिए पनि बालुुवा बेच्न प्रहरीले रोक्दै आएको थियो। क्याम्पस प्रशासन र स्थानीय जनप्रतिनिधि क्याम्पसको हाताबाट बालुवा उत्खनन् गरेर अन्यत्र बिक्री गर्ने खेलमा थिए । बालुुवा उत्खनन्का कारण कपन क्याम्पसका भवनसमेत जोखिममा परेका छन् । तर गएको पुस ९ गते क्याम्पस र बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० ले एकसाथ विज्ञप्ति जारी गर्दै बालुवा बेच्ने निर्णयको बचाउ गरेका थिए ।
उनीहरुले क्याम्पसको हाताबाट उत्खनन् गरेर बालुवा बेच्न पाउनु पर्ने बताएका छन् । निर्माणाधीन भवनका लागि बालुुवा प्रयोग गरे पनि अन्यत्र बेच्न भने नमिल्ने अडानमा प्रहरी थियो । बालुुवा बेच्न नपाएपछि स्थानीय जनप्रतिनिधिको जोडबलमा लकडाउनकैबीच एक वर्ष नपुुग्दै इन्चार्जको सरुवा गरिएको हो । क्याम्पसको हाताभित्रबाट जथाभावी रुपमा बालुुवा उत्खनन् भइरहेको छ ।
वि.सं.२०७० चैत ९ गते प्रहरी निरीक्षकबाट सेना सुरु गरेकी केसी ९० दिने कमान्डो तालिम लिने एक मात्र महिला प्रहरी अधिकृत हुन् । ९० दिने यो कमान्डो तालिम प्रहरीभित्रकै सबैभन्दा कठिन तालिम हो । क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट सेवा सुरु गरेकी केसीले जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय पशुपतिनगर, बानेश्वर वृत्त, कालिमाटीस्थित महिला वालवालिका सेल, बारा र कन्चनपुुरमा काम गरिसकेकी छन् ।
नेपाल खबरल यो समाचार लेखेको छ