सागर भण्डारी, वैशाख ७ बाग्लुङ । बाग्लुङको बडिगाड गाउँपालिकाले भोलि सोमबारदेखि टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस रोकथामका लागि नेपाल सरकारले जारी गरेको लकडाउनका कारण बैकं बन्द भएपछि सहजताका लागि टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको गाउँपालिका अध्यक्ष मेयरसिहं पाईजाले जानकारी दिनुभयो ।
बैंकमा पुगेर रकम झिक्न यतिबेला सम्भव नहुने र भीडभाड हुने तथा अति अशक्त, ज्येष्ठ नागरिक, शारीरिक अपाङ्गता, अस्वस्थ भएकालाई असहज भएपछि गाउँपालिकाका कर्मचारी र वडा सचिवको पहलमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको उहाँले बताउनुभयो । यो बेला सामाजिक दुरी कायम गर्नु अत्यन्तै जरुरी छ बैकं खोलेर भत्ता वितरण गर्न बोलाउँदा थप जोखिम पनि निम्तिने भयो उहाँले भन्नुभयो ।
‘उहाँहरु बैंकमा आएर भत्ता लैजान सक्ने अवस्थामा हुनुहुँदैन, त्यसैले हामीले घरमै गएर भत्ता वितरण गर्न थालेका हौँ”, यसले उहाँहरुलाई सहज हुने अपेक्षा गरेका छौँ ।” अध्यक्ष पाईजाले भन्नुभयो । भत्ता भने विश्वस्वास्थ्य सगंठनले कोरोना सतर्कताका लागि जारी गरेका नियमहरुलाई पालना गर्दै सामाजिक दुरी कायम गरी वितरण गरिने उहाँको भनाई छ ।
उहाँका अनुसार १० वटै वडाका केही ठाउँहरुलाई केन्द्र बनाई भत्ता वितरण गरिनेछ । जसका लागि वडा नं १ मा २ ठाउँ, वडा नं २ मा ३ ठाउँमा, वडा नं ४ मा ३ ठाउँमा, वडा नं ३ मा ३ ठाउँमा, वडा नं ५ मा ७ ठाउँमा, वडा नं ८ मा ३ वटा, वडा नं ९ मा २ वटा र वडा नं १० मा २ वटा केन्द्र बनाएर भत्ता वितरण गर्न लागिएको छ । अन्य असक्तलाई पनि घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरिनेसमेत उहाँले बताउनुभयो ।
लक्ष्य अनुसार वितरण गर्न सकेमा ३ दिन भित्र भत्ता वितरण गरेर सक्ने लक्ष्य रहेको गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत बालकृष्ण सुवेदीले जानकारी दिनुभयो । गाउँपालिका भित्रका ३ हजार १ सय ४३ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको र जसका लागि २ करोड ७५ लाख ९८ हजार ४ सय रुपैयाँ छुट्टाईएको उहाँको भनाई छ ।
साथै उहाँले आफुलाई पायक पर्ने केन्द्रमा गई भत्ता बुझिलिन पनि आग्रह गर्नुभएको छ । लकडाउनका कारण प्रभावित बनेका र यो अनिश्चित बन्दै गएकाले सामाजिक सुरक्षा भत्ता बापतको रकमले स्थानीयलाई केही राहत हुने र अत्यावश्यकीय सामाग्री खरिद गर्न सहज हुने उहाँले बताउनुभयो ।