सागर भण्डारी,वैशाख ११ गुल्मी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) कोरोना भाइरस रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण सम्पूण क्षेत्रहरु प्रभावित बनेका बेला कृषकहरु पनि मारमा परेका छन् । लकडाउनका कारण उत्पादित कृषि उपजको बजारीकरण नहुनुले किसान निराश बनेका छन् ।
अझै त्यसमा पनि पशु र कुखुरा पालक कृषकहरु त झनै मारमा परेका छन् । अहिले कोरोना भाईरसका कारण धेरैले मासु कम आएका छन् । जसका कारण कुखुरा विक्रि भएका छैनन् । गुल्मीको छत्रकोट गाउँपालिका वडा नं १ हुँगाका चन्द्र भण्डारीले लकडाउनका कारण कुखुरा विक्री नभएपछि व्यवसाय नै छाड्नुपर्ने स्थिति आएको गुनासो गर्छन् । भण्डारीलाई लकडाउनले निकै पिरलेको छ । फार्म भरी कुखुरा बेच्नको लागि तैयारी अवस्थामा छन् तर कहाँ बेच्ने कसरी बेच्ने केही मेसो छैन् ।
पहिले पहिले स्थानीय स्तरमै राम्रो मासु खपत हुने गरेकोमा अहिले मासु विक्री हुनै छाडेको छ । खोरमा रहेका कुखुरालाई दाना दिएर यत्तिकै राख्नु परेको छ । न विक्रि हुन्छ न त नाश गर्न नै सकिन्छ । उनले ब्रोइलर कुखुराबाट यस अगाडी राम्रै आम्दानी गरेको भएपनि अहिले भने लकडाउनले कुखुरा नै विक्री भएका छैनन् । अहिले उनको खोरमा ५ सय ब्रोइलर कुखुरा छन् । तर विक्री भने भएको छैन् । दिनमा त्यस्तै १/२ किलो बिक्री हुन्छ, यी कुखुरा हुर्काउन झनै समस्या भएको छ यतिबेला दाना पनि धेरै खान्छन् उनले दुखेसो गरे ।
देश बिदेशमा रोजगारमा असफल्ता मिलेर आफ्नै देशमा केही गर्नु पर्छ भन्ने सोच बोकेर आफ्नै गाउँमा व्यवसाय गर्दै आएका भण्डारीले गाउँमै कुखुरा पालन सुरु गरेका थिए । केही समय देखि कुखुरा पालन गर्दै आएका उनले लकडाउनले आफु जस्ता कृषकवर्गलाई निकै पिरोलेको बताउँछन् ।लकडाउन भन्दा अगाडि लिएका ब्रोइलर कुखुराका चल्ला अहिले करिब ५/६ किलो सम्मका भए तर बिक्री भने जस्तो भएको छैन ।लकडाउन भन्दा अगाडि उनले ब्रोइलर कुखुराबाट राम्रो आम्दानी गर्दै आएको बताउँछन् । खै गाउँपालिकाले खरिद गर्छ भन्ने त सुनेछु होकी हैन थाहा छैन् । यस्तै अवस्था आएर विक्री नभए कुखुरा नै नष्ट गर्ने अवस्था आउने उनले बताए ।
उनले स्थानीय तहले आफूजस्ता कृषकहरुको कृषि उत्पादन बजारीकरणका लागि सहजता र समन्वयकारी भूमिका खेल्नुपर्ने बताए ।लकडाउनका कारण दाना र कुखुरा ओसार पसार तथा विक्री वितरण नभएपछि भण्डारी जस्तै अन्य कुखुरा पालक कृषकहरु निराश बनेका छन् । लाखौँ लगानी लगाएर स्वदेशमै केही गर्ने सपना बोकेका कृषकहरु पेशा नै परिवर्तन गर्ने सोँचसम्म पुगी सकेका छन् ।