एकल आमाको पौरख : गाउँ धान्दै, बिरासत बचाउदै !

एकल आमाको पौरख : गाउँ धान्दै, बिरासत बचाउदै !

Badigad Online
7 Min Read

-भुपाल थापा

उमेरले चारबिसा काटिसकेकी, जिङृङ्ग कपाल, अनुहार पनि त्यस्तै । घर लिपपोत नगरेको पनि बर्ष कटेछ, आगनभरी दुबोझारले लपक्कै ढाकेछ, शरीर आफैले धान्न नसक्ने तरपनी आगनमा लतारिदै आफ्नै सुरमा काम गर्दैछिन् । बुढेसकालमा छोराबुहारी र नानातिनाको माया स्याहारसुसार पाउने र मिठोमसिनो खाने रहर सबै बृद्दबृद्दामा रहने रैछ, त्यो रहर उनमा पनि थियो । कान कमै सुन्ने, राम्रोसँग हातले कुनैपनी सामान समाउन समेत नसक्ने भएकी उनी आफ्नो जोडा (पति) गुमाएको ३७ बर्ष पुगिसकेछ । साहारा दिने आफ्नो एकमात्र छोरा पाल्ने उमेर देखि बिदेशी भुमिमा आफ्नो दिनचर्या बिताउँदैछन् । त्यही छोरा बुहारीका दुई छोरा (नाति)को दु खद देहान्त भैसकेछ, छोराबुहारी पनि बर्सौ भैसकेछ मुग्लान पसेको ।

बिगत ३७ बर्षदेखि एकल रुपमै विविध अभावका बिचमै जङ्गलको किनारमा जीवन बिताइरहेकी छिन्, गुल्मी धुर्कोट गाउपालिका ६, धुर (हिउदेपानी) कि प्रेम कुमारी बस्नेत । समाजको हेपाहा प्रवृत्ति, शारीरिक अशक्तता, अभाव र पिडामा आज पनि कयौं प्रेम जस्तै एकल महिलाले कठोर जीवन बिताउन बाध्य छन् । सन्तानको माया, स्याहारसुसार, सहज जिवनयापन भन्ने कुरा उनीहरुको लागि “आकाशको फल, आँखा तरि मर“ भने जस्तै रहेको उनीहरुको गुनासो छ ।

“सन्तान जन्माएर के गर्नु, जुन बेला साथको खाचो पर्छ त्यही बेलामा एक्लै जीवन जिउनु पर्छ“ उनी आफ्ना मनका बह पोख्दै भक्कानिन्छिन र भन्छिन् (“पाखुरा बलियो हुन्जेल सबै आफ्ना हुनेरैछ्न, सबै कुरा समयले सिकाउदै जान्छ ।“ आँखा र कान दुबैले काम गर्न छाडिसकेको उनी बताउछिन् । यस्तै सोही ठाउँ बस्ने बेदकुमारी बस्नेतको वेदना पनि प्रेमकुमारीको भन्दा कम छैन । गाउँको पुछारमा घर, दिउसै बाघको सन्त्रास, बादरको दादागिरी, कतिपय बारी बाझिएको अवस्थामा जिवनलाइ खुसी बनाउने कोशिसमा दिन बिताइरहेकी छिन् बेदकुमारी । उमेरले २०७७ बैशाख महिना लागेसङ्गै ७० बर्षमा टेकेकी उनको जिन्दगीको कहरकहानी पनि बिरक्त छ । सन्ततिको रुपमा दुई छोरा, दुई छोरी, उनिहरुका पनि छोराछोरी छ्न, तर साथमा कोहि छैनन् । कोहि मुग्लान छ्न त कोहि कहिल्लै नफर्किने गरि बिदाइ भैसकेका छन् ।

त्रासदी पुर्ण जीवन बिताइरहेकी उनी आफ्नो अर्धबैशे उमेरमै आफ्नो श्रीमान गुमाउनु परेको पीडा सुनाउदै भन्छिन् (“उहाँ स्वर्गबास हुँदा मेरो कान्छी छोरी दुई महिनाकि थि, त्यो दुइमहिनाकी छोरीको स्याहार(सुसारसङ्गै बाकी तिन सन्तानको लालनपालन कसरी गर्न सके हुला ?“ अहिले सम्झिदा सपना जस्तो लाग्छ उनी थप्छिन् । सन्तानको मायाकै कारण अहिलेसम्म जिउने प्रेरणा मिलेको छ, थोरैधेरै मनलाई शान्त पार्न खोज्छु तर पनि एकल बस्न थालेको बर्सौ भएछ । “साहारको लागि कान्छो छोराको छोरी(नातिनी) थिइन्, उनले पनि बिहे गरेर घरबारे भैसकिन“ अहिले एक्लै छु, उनी भन्छिन् । बस्तुभाउ समेत पालेकी उनले सन्तानलाइ सन्तोष दिनकै लागि आफुलाइ हेरबिचार गर्न दबाब नदिएको बताउछिन् । एक्लै बस्न लागेको पनि कयौं समय भएछ, त्यसैले एक्लै बस्न बानी परिसक्यो, उनको आफ्नो अनुभव सुनाउछिन् ।

ढोकादेखि अगेनासम्म बिस्तारा लगाउदा पनि नपुग्ने गरि सन्तान स्याहारेकी उजेला पाण्डेको दिनचर्या पनि उस्तै छ । ५ छोरी र दुई छोरालाइ जन्म दिएकी पाण्डे अहिले एक्लै कुटोकोदालो, घरगोठ, घासस्याउला एक्लै गर्दै्छिन । श्रीमानको २०६८ सालमा स्वर्गबास भएपछी प्रायः एक्लै बस्दै आएकी पाण्डेको एक छोरीको मात्रै बिबाह गर्न बाकी रहेको बताउछिन् । छोराहरु जागिर र नोकरीको सिलसिलामा घरबाहिर रहेको पीडा छदै छ, त्यो माथी खेतबारी बाझै राख्न पर्दा झन खिन्न लाग्ने गरेको दुखेसो उनको छ । “एकुल्टे मान्छे साझबिहान भएको पनि पत्तो हुँदैन, अलिअलि हातपाखुरा चल्दा सम्म जीवन धान्न सकिएला, त्यसपछिका दिनमा त खोइ“ उनी भन्छिन् ।

उनिजस्तै पुतला पाण्डेको अवस्था पनि उस्तै छ, तीन सन्तानकि पुतलाका दुई छोरा र एक छोरी छन् । जेठो छोरा मुग्लान पसेको करिब १६ बर्ष पुग्नै लाग्दा पनि आमा सम्झिएर घरगाउ नफर्किएको उनको भनाइ छ । निक्कै मन सम्हालेर बोलेकी पुतलाले कान्छो छोरोले पनि एक्लै पारेर मुग्लान पसेको र खोजखबर पनि नगरेको पीडा सुनाउछिन । २०५९ सालमा आफ्नो श्रीमान गुमाएकी पुतलाले एक्लै जीवन निर्वाह गर्दै्छिन । दुइभाइ छोरा र नाति समेत गुमाएर एक्लै गाउँ सम्हालेकी डल्ली सामतको दैनिकी पनि कम छैन । उनी आफू एकल भएपनी गुनासो कसैसँग नभएपनी भगवान सङ्ग भएको बताउछिन् ।

यहाँ उल्लेख गरिएका ब्यक्तिहरु प्रतिनिधि पात्र मात्रै हुन्, यिनीहरु जस्तै लाखौं एकल आमाहरु छन् जुन एक्लै जिवननिर्वाह गरिरहेका छन्, सन्तान भएर पनि सन्तान बिहिन जस्तै बाच्न बिबश छन् । अचल सम्पत्ती भएपनी उर्बरहिन, बाझिएका छन् । रुझाइरहेका छन् पसिना, असिना र आशुले आफ्ना आँखा र शरीर । लडिरहेका छन् पुरुष प्रधान समाजसङ्ग, पैठोजोरी खेलिरहेका छन् आफ्नै भाग्यसङ्ग, आफ्नै वेदनासङ्ग । गाउँमा वसौदेखि पाइला नटेकेकाहरुको भेटघाटलाई अहिलेको महामारीले अवसर दिलाएको छ । हिजोको दिनमा गाउँको समस्या भोगेर कहिल्यै नफर्किने गरी कसम खाएर बाहिरिएकाहरु पनि ज्यानको मायाले फर्केका छन् । तर यी प्रतिनिधि पात्र आमाका सन्तान कोहि पनि जन्मभुमि सम्झिएर, गाउँ सम्झिएर अनि आमा सम्झिएर फर्किएनन् !

गाउँका वारि बाझिएका छन् । पहिले बस्तुभाउ चराउन लैजाने हरियाली डाडा अहिले मनमाराले झ्याप्प छोपेको छ । दिउसै बाघको सपरिवार रमाउदै हिड्न थालेका छन् । बादरको बदमासी झन्झन् बढ्दो तवरमा बढ्दैछ । जंगली जनावरको त्रासदी दिनप्रतिदिन बढ्दैछ तरपनी आमा एकछिन रोकिएकि छैनन् । उनिहरुमा आफ्नो कुनै लालच छैनन्, आफ्ना सन्तानको भबिस्यको चिन्ता अनुहारमा छरपस्ट देखिएको हुन्छ, आफ्नै आँखा अगाडि सबै भइदिए उनिहरुको जिवनको सबभन्दा ठुलो हर्ष त्यही हुनेछ ।

आधा गाँस आफ्नो पेटमा र आधा गाँस सन्तानको पेटमा पार्नकै लागि कयौं हन्डररठक्कर खाए, आफ्ना हरेक खुसीलाई पैतालामुनी राखेर आफ्नै सन्तानको खुसीमा हराउने अनि सन्तान बिरामी हुदा आफै डाक्टर बन्ने महान भगवान हुन् आमा ! त्यही आमालाइ विभिन्न बाहानामा उपेक्षा गरिरहन्छन त्यही सन्तानहरु । एकल आमाहरुको घाउमा मल्हम लगाउन न राज्यले सकेको छ नत आफ्नै सन्तानले । सिमित स्वार्थका लागि मुग्लान र शहर पसेका सन्तानले यो विषम परिस्थितिमा पनि आमालाइ नसम्झिनु नालायकिपन होइन र ? आमा भन्दा ठुलो र सर्वश्रेष्ठ अरु कोहि छ र ? किन गुमनाम छौ ए सन्तानहरु…..

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित