वैशाख १६, २०७७ । सामाजिक संजालमा भईरहेका चर्चा, केहि राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्रा्ष्ट्रियस्तरका अनलाइन पोर्टलमा आएका क्षुद्रग्रह १९९८ ओ.आर.२ सम्बन्धी समाचारहरुले नेपाली जनमानसमा पर्ने गरेको असरप्रति हाम्रो ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छौं ।
प्राय राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्रा्ष्ट्रिय सबै स्तरका समाचारले यो क्षुद्रग्रह पृथ्वीदेखी नजिकै आउने बताइएको भए पनि कति नजिक आउने हो, यसले पृथ्वीमा खतरा छ र छैन तथा नाङ्गो आँखाले देख्न सकिने र नसकिने बारे स्पष्टरुपमा बताइएको नपाईएकाले नेपाली नागरिकको सुसुचित हुन पाउने हकको सम्मान गर्दै यो विज्ञप्ति जारी गर्दछौं । साथै यसै विज्ञप्ति मार्फत् अस्पष्ट रहेका विषय स्पष्ट पार्न चाहन्छौं । आशा छ मलाई यहाहरु सबैले शेयर गरी अनावश्यक त्रासबाट नेपाली जनतालाई मुक्त राख्ने हाम्रो प्रयासमा साथ दिनुहुनेछ ।
अप्रिल २९ तारिख वैशाख १७ गते के हुँदैछ ?
यस दिन यो क्षुद्रग्रह पृथ्वीदेखी सबैभन्दा नजिक आउँदैछ । तर अत्यन्तै नजिक हँदा पनि यो आकाशीय पिण्ड हामीभन्दा करिब ६२, ८२,००० (बैसठ्ठी लाख बयासी हजार) किलोमिटर टाढा रहनेछ । पृथ्वी र चन्द्रमाबीचको औसत दुरी करिब ३,८४,००० (तीन लाख चौरासी हजार किलोमिटर) छ । त्यसैले यसरी नजिक आउँदा पनि यो क्षुद्रग्रह हामीबाट चन्द्रमा भन्दा करिब साढे सोह्र गुणा टाढा रहनेछ ।
के यो क्षुद्रग्रहबाट पृथ्वीलाई केहि खतरा छ त ?
यो क्षुद्रग्रह सन् १९९८ जुलाई २४ तारिखमा पहिलो पटक पत्ता लागेको थियो र त्यसैले यसको नाम अर्थात् १९९८ ओ.आर.२ रहन गएको हो । यो क्षुद्रग्रहको वैज्ञानिक नाम ‘५२७६८’ हो । कुनै पनि क्षुद्रग्रहलाई खगोल वैज्ञानिकहरुले राम्रोसँग बुझेपछि यस्तो किसिमको नाम दिइन्छ । यो क्षुद्रग्रहको अस्थायी नाम ‘१९९८ ओ. आर. २ हो भने स्थायी नाम’ ५२७६८’ हो । विगत् तीन दशकभन्दा बढि समयदेखि निगरानीबाट प्राप्त ज्ञान अनुसार यो क्षुद्रग्रहबाट पृथ्वीलाई कुनै खतरा छैन । त्यसैले हाल कोहि पनि त्रसित हुनुपर्ने अवस्था होइन ।
के नेपालमा पनि यस्तो किसिमको खोजीकार्य भईरहेको छ ?
सन् २०१७ देखि हामीले नेपालमा संचालन गर्दै आएको राष्ट्रिय क्षुद्रग्रह खोज अभियान भाग लिएका विद्यार्थीहरुले पत्ता लगाएका र प्रारम्भिक पहिचान पाउन सफल थुप्रै क्षुद्रग्रहमध्ये हालसम्म एउटाले अस्थायी नाम पाई सकेको छ । उक्त क्षुद्रग्रह एस. ओ. एस. सानोठिमीमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले सन् २०१९ मा पत्ता लगाएका हुन् जसको नाम २०१९ ए. ई. १८ हो । यसलाई नेपाली विद्यार्थीहरुले सन् २०१९ जनवरी २ तारिख पत्ता लगाएका हुन् ।
के यो क्षुद्रग्रहलाई वैशाख १७ गते रअप्रिल २९ तारिखका दिन नेपाली आकासमा नाङ्गो आँखाले देख्न सकिन्छ ?
हालको एउटा अध्ययनले यो क्षुद्रग्रहको आकार करिब २ किलोमिटरको रहेको बताइएको छ । सुरुमा यसको आकार १.८ देखि ४.१ किलोमिटर अनुमान गरिएकोमा अरेसीबो वेधशाला ले अप्रिल १८, २०२० मा लिएको रडार तस्विरको अध्ययनबाट यो क्षुद्रग्रह करिब २ किलोमिटरको रहेको बताइएको छ । त्यसैले नजिक आउँदा पृथ्वी (चन्द्रमाको दुरीभन्दा कम्तिमा १६ गुणा टाढा रहने र करिब २ किलोमिटरको रहेकोले साथै यसको औसत् अपेरेन्ट म्याग्निच्युड करिब ११ रहेकोले नाङ्गो आँखाले यसलाई देख्न सकिदैन । यसलाई अबलोकन गर्न ठुलै खालको टेलिस्कोप आवश्यक पर्छ ।
हामी आशा गर्छौं यी सूचनाहरु क्षुद्रग्रह पृथ्वी नजिक आउने कुरालाई लिएर हाम्रो समाजमा सृजना भएको त्रास कम गर्न सहयोगी हुनेछन् । साथै आगामी दिनमा खगोल तथा अन्तरिक्ष विज्ञान सम्बन्धि सहि सूचना तथा सम्पूर्ण जानकारीका लागि हामीसँग जोडिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
धन्यवाद्,
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी