काठमाडौँ, १९ वैशाख । आज मे १ अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवस । कोरोना भाइरसका कारण नेपालमा पनि मजदुर दिवस प्रभावित बनेको छ । यसअघि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइने गरिएको थियो । तर, यस वर्ष भने कोरोना भाइरसका कारण कुनै कार्यक्रम आयोजना गर्ने वातावरण रहेको छैन ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ । सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा मजदुर दिवस मनाउने गरिन्छ ।
विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा विराटनगरमा वि. सं २००७ मा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।
Badigad Online