लकडाउनको सदुपयोग : गुल्मी मुसिकोटमा पिकनिक स्थल बन्दै

लकडाउनको सदुपयोग : गुल्मी मुसिकोटमा पिकनिक स्थल बन्दै

Badigad Online
2 Min Read

गुल्मी वैशाख १९ । कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्न सरकारले लकडाउन गरेको झण्डै ५ साताभन्दा बढी भइसकेको छ । लकडाउनको समयमा सबै मानिस घर भित्रै बसिरहेका छन् । तर, मुसिकोट नगरपालिकाका युवा मोहन घिमिरे भने लकडाउनको समयलाई सदुपयोग गर्दे ’पिकनिक स्थल’ निर्माणमा हुनुहुन्छ ।

जिल्लाको मुसिकोट नगरपालिका र मालिका गाउँपालिकाको बीचमा पर्ने मुसिकोट नगरपालिका १ स्थित आरुचौरमा उक्त पिकनिक स्थल निर्माण गर्न लागिएको घिमिरेले जानकारी दिनुभयो । लकडाउनका कारण आर्थिक आम्दानीमा समस्या देखिन सक्ने भन्दै उहाँले आम्दानी गर्न सहयोग हुने उदेश्यले पिकनिक स्थल बनाउन लागेको बताउनुभयो । घिमिरेले बसेर दिन गुजार्नुको साटो फुर्सदमा बनाएको पिकनिक स्थलले भविष्यमा आम्दानी बढाउने उल्लेख गर्नुभयो ।

३० रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा फलफूल र बगैचासहित पिकनिक स्थलको काम अगाडि बढाइएको छ । निर्माणाधिन पिकनिक स्थल वरिपरिको क्षेत्रमा जंगल छ । पिकनिक स्थल आसपासमा फलफूलको उद्यान निर्माण गर्ने घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार प्राकृतिक वातावरणमा पर्यटकलाई फरक खालको स्वाद दिने उद्देश्यसहित पिकनिक स्थलको निर्माण थालिएको हो । उक्त ठाउँमा एक पटकमा बढीमा ५० जनासम्मले वनभोजको आनन्द लिन सक्नेछन् । पिकनिक स्थलमा विश्राम गृह, सभाहल, बाल उद्यान, खानेपानी, सडकलगायतका सुविधा समेत निर्माण गरिने छ ।

सोही ठाउँमा फलफूल बगैचा, सुन्तला, टिमुर, आरु, बोधीचित्त, किवी लगायतका बिरुवा लगाउने निर्माणका अगुवा मोहन घिमिरेले जानकारी दिनुभयो । पिकनिक स्थलबाट विभिन्न हिमश्रृङखला,धौलागिरि अन्नपूर्णलगायतका हिमाल देख्न सकिन्छ । बन्दाबन्दी लकडाउनको समयलाई यसरी भविष्यमा आम्दानीसँग जोड्न सकिने भन्दै घिमिरेले पारिवारिक कृषि उत्पादनमा लाग्न युवालाई सुझाव दिनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित