काठमाडौं वैशाख १९ । हाँस्य श्रृखला ‘भद्रगोल’का निर्माता तथा कलाकार सुवास कार्की ‘बेलासे’लाई कोरोना संक्रमण भएको छ । करिब २ बर्षदेखि लण्डनमा बस्दै आएका उनी कोरोना पुष्टि भएपछि लण्डनस्थित निवासमै सेल्फ आइसोलेसनमा बसिरहेका छन् । श्रीमती वीना, एक छोरा र एक छोरीका साथ लण्डनमा बस्दै आएका उनी लण्डनको एक कम्पनीमा सुरक्षासम्बन्धी काम गर्दै आइरहेका थिए ।
उनले लण्डनमा कोरोना संक्रमण फैलिन थालेपछि कतिपय साथीभाई नेपाल फर्के पनि आफु नेपालको तुलनामा लण्डनमा राम्रो उपचार हुने ठानी उतै बसेको बताएक छन् । उनले आइसोलेशनको बेडबाट मार्मिक डायरी लेखेका छन् । जसमा आफूले भोगिरहेको पीडा र बेलायतको समग्र अवस्थालाई उल्लेख गरेका छन्। प्रस्तुत छ, उनको डायरीको सम्पादित अंश :
मैले एउटा राम्रो कम्पनीमा करिब १ वर्ष ८ महिनादेखि कन्सियर्ज (सुरक्षासम्बन्धी काम) का रूपमा काम गर्दै आएको छु । विश्वभरि कोरोना भाइरसको महामारी फैलिरहेको बेला यता लन्डनमा पनि कोरोना बढ्न थालेको थियो । तर, हाम्रो नेपालमा त्यति सुनिएको थिएन । त्यो बेलामा कति साथीभाइ नेपालतिर लागे । म चाहिँ आफ्नो परिवार सबै यता लन्डनमै भएकोले श्रीमतीको काम, छोराको एसएलसी करिब–करिब नजिकै र छोरी सानी अनि नयाँ घर किनेको तथा यहाँका हस्पिटल राम्रो भएकाले साँच्चै केही भइहाल्यो भने पनि नेपालमा भन्दा यतै राम्रो उचार हुन्छ भनेर नेपाल फर्कन मन भएन ।
दिन बित्दै गए, यता कोरोना भाइरसले उग्ररूप लिँदै गयो। सरकारले लकडाउन गर्यो । श्रीमती र मेरो काम अत्यावश्यकीय भएकाले हामी जानुपथ्र्यो। झन् बुढी हस्पिटलको एएलईमा काम गर्छिन् । छोरी सानी भएकाले काम छोडिदेउ भनिरहन्थें । जेनतेन उनले एक महिना बिदा लिइन् । म आफ्नो काममा त्यति जोखिम नभएकाले आफ्नो साधन लिएर आउने–जाने गर्थें । खाद्यान्न पाउने पसलहरू जस्तैः टेस्को, आस्दा, मोरीसन जताजतै मानिसको भीड लाग्न थाल्यो। म पनि रातिको काम सकेर बिहान टेस्को सपिङ सेन्टरमा घरमा चाहिने खाद्यान्न सामान लिन जान्थें। टेस्को सपिङ सेन्टरमा मानिसहरुको भीड देखेर लन्डनमा त यस्तो छ, नेपालमा कस्तो होला भन्ने चिन्ता हुन्थ्यो।
दुई घन्टा लाइनमा बसेपछि बल्ल सपिङ सेन्टर खुल्थ्यो र सबै मानिसहरु हाहाकार गर्दै भित्र छिर्थे । मलाई छोरी ११ महिनाकी सानी भएकाले उसले खाने पोरेज र दूध लिनु थियो । दूध ३ वटा पाएँ तर पोरेज पाइनँ । टेस्को सपिङ सेन्टरभित्र जता हे¥यो त्यतै खाली थियो। त्यसले झन् अब के होला भन्ने चिन्ता थप्यो । जसोतसो सपिङ गरी घर फर्केर ब्रेकफास्ट खाएर सुते । राति काम गर्ने भएकाले फेरि काममा जानु थियो। यसरी दिन चलिरहेको थियो ।
अफिसका साथीहरू बिरामी भन्दै सेल्फ आइसुलेट बस्न थाले । यहाँ २ हप्तासम्म सेल्फ आइसुलेट बस्न पाउँछ । त्यो अफिसले भुक्तानी गर्छ । उनीहरु साँच्चै बिरामी भएर सेल्फ आइसुलेटमा बसेका हुन् या होइनन् , त्यो उनीहरूलाई नै थाहा होला । तर, हामी नेपाली जता पनि राम्रो काम गर्ने र इमानदार हुने भएकाले ढाँट्न र छल्न जानेका हुँदैनौं । हामी राति अफिसमा दुई कन्सियर्ज र दुई सेक्युरिटी गरेर जम्मा चार जना कामदार हुन्थ्यौं ।
यहाँका मान्छेहरू प्रायः अल्छी भएकाले काम गर्न त्यति रुचाउँदैनन्। उनीहरू बहाना बढी बनाउने भएकोले कहिले के कहिले के भनेर त्यति अफिस आउँदैनन् थिए । उनीहरू नआएका बेलामा एजेन्सीहरूबाट काम गर्न आउँछन् । नेपालको जस्तो छैन विदेशमा । एजेन्सी (हस्पिटलमा नर्स बिरामी भएर आएन भने अर्कोले ओभर टाईम गर्छ तर ओभर टाईम पनि गर्ने मान्छे नभए विभिन्न अफिस खोलेर बसेको एजेन्सी हुन्छ तिनीहरुले स्टाफ पठाउँछ । यसरी कहिले को कहिले को गरेर एजेन्सीले विभिन्न मान्छेहरू काम गर्न पठायो । यस्तोमा अब त अफिसको रेसिडेन्ट भन्दा पनि आफूसित काम गर्ने ‘कलिग’सँग पो डराउनुपर्ने भयो ।
यही सोचेर मैले पनि २ हप्ताका लागि एनुअल लिभ’ लिएँ । मेरो दिन दिनको काम थियो । डेमा काम गर्ने स्टाफ धेरै हुने भएको भएर लगभग सबै ‘कन्सियर्ज’ आइसकेकाले ह्यान्डओभर गरेर खुशीका साथ ‘सी यू आफ्टर टु विक्स’ भन्दै घर फर्कंदा सबैले जिस्काएर्र इन्जोय योर होलिडे’ भने । म दुई हप्ता आफ्नो परिवारसँग रमाएर बस्छु भनेर घर आएँ । छोरी रमाइली र हसिली भएकाले घर छिरेपछि सबै थकान बिर्सिन्छु ।त्यो दिन मेरी श्रीमतीको बिदा सकिएकाले म घर आउँदा उनी ड्युटी गइसकेकी थिइन् । म प्रायः बिहान ८ बजे घर पुग्दा छोरी उठिसकेकी हुन्छे, त्यो दिन पनि छोरी बाबाको बाटो हेरेर बसेकी थिइन्। मलाई देख्नेबित्तिकै उनी नजिकिइन्।
तर, म कामबाट आएको हुनाले सधंै नुहाईधुवाई गरेर मात्र उसलाई बोक्थें। त्यो दिन पनि त्यसै गरें । ब्रेकफास्ट बनाएर आफुले पनि खाए र छोरीलाई पनि खुवाए । छोरा भने सुतिरहेको थियो उठ्न मानेन । श्रीमती अफिस गएको भएर आज उसलाई खाना बनाएर खुवाउँछु भनेर दिउँसोबाटै आफुलाई बनाउन नआए पनि युट्युबमा हेरेर चिकेनकरी र खाना बनाएँ । साझ उनी आईसकेपछि सबै जना बसेर मुभी हेर्दै रमाइलो गर्दै खाना खायौं। भोलिपल्ट उनी काममा जान तयार भएर मलाई उठाइन् । त्यति नै बेला मेरो जिउ भारी भएजस्तो भयो। बुढीलाई मेरो जिउ दुखिरहेको छ भने । बुढी मेडिकल फिल्डमै काम गर्ने भएकाले मेरो फिबर हे¥यो। फिबर त १०२.६ रहेछ ।
उसले प्यारासिटामोल दिइन् । तातोपानी, खानेकुरा, बिस्कुट, फलफूल दिएर छोरोलाई बाबालाई ज्वरो आएको छ, नानीलाई हेर है भनेर अफिस गइन् । उनको काम साँझ ८ बजेसम्म हुन्थ्यो। तर, त्यो दिन उनी चाँडै आइन् । मलाई अलि साह्रै भइसकेको थियो । त्यसैले छुट्टै कोठामा सुत्छु भनें। ट्वाइलेट पनि छुट्टै युज गरें। त्यो रात त्यसरी नै गयो ।भोलिपल्ट साह्रै गाह्रो भएकाले बुढीले अस्पताल लगिदिइन्। मलाई इमरजेन्सीको छुट्टै रूममा राखियो । म एक्लै थिएँ, नो कलर आईडीबाट फोन आयो। डक्टरको रहेछ । मैले आफ्नो सबै समस्याहरु भनें । १ घन्टापछि डाक्टरले मेरो नाम लिएर बोलाउनुभयो ।
स्टेप बाई स्टेप हुँदै मेरो होल बडी चेकअप गरियो। लगभग साँझसम्म त्यहीं राखियो। सबै टेस्ट गरियो, तर, कोरोना भाइरसको टेस्ट गरिएन । मैले अनुरोध गर्दा हामी सिरियस र भर्ना भएका बिरामीको मात्र टेस्ट गर्छौं भनियो । त्यहाँ अरू बिरामी देखेरै दिक्क लागिसकेको थियो। त्यसैले त्यहाँ बस्नुभन्दा घरै जाउँजस्तो लागिरहेको थियो। डाक्टरले सबै रिपोर्ट नर्मल छ भन्नुभयो र औषधि दिनुभयो । म घर फर्किएँ। मलाई केही भए पनि छोरी चमेलीलाई केही नहोस् भन्ने लागिरह्यो । ज्वरो बढ्ने क्रम जारी थियो । मेरो कोठादेखि सबै कुरा छुट्टै थियो । हुन त हामी एउटै घरमा थियौं, तर एक–अर्कासँग कुरा गर्दा पनि भिडियो कल गरेर कुरा गथ्र्यौं । यसरी एउटै घरमा भएर पनि हामी कति टाढा थियौं ।
बुढीले खाना ढोका अगाडि राख्दिन्थिन्। यतिकैमा बुढीलाई पनि खोकी आउन थाल्यो। चमेलीले पनि खोक्न थाली । यसरी दिन बित्दै गयो, म झन–झन् गल्दै गएँ । आवाज हराउन थाल्यो । खाना रुच्न छोड्यो, बास्ना फिटिक्कै आउँदैन थियो। अब म मर्छु होला जस्तो लाग्यो । धेरै गाह्रो हुन थालेपछि बीनाले हस्पिटलमा फोन ग¥यो । र, हामी हस्पिटल गयौं । स्वाब टेस्ट गर्यो, रिपोर्ट आउन ४८ घन्टा लाग्दोरहेछ । भर्ना भने गरिएन, डाक्टरले घरमै बस्ने सल्लाह दिए । घर आयौं, शरीरको सबै अंगले काम गर्न छोडेको जस्तो भयो। मलाई कोरोना भएको अनुमान भइसकेको थियो । नभन्दै पोजेटिभ रिपोर्ट आयो । अब बाँच्दिन भनेर मनमा झन् धेरै कुरा खेल्न थाल्यो । नेपालको धेरै याद आउन थाल्यो । छोरो सुविज्ञ सानो छ जम्मा १३ वर्ष, छोरी भर्खर १ वर्ष पुगिन् । बीनालाई मेरो नेपालको जिम्मेवारीबारे त्यति थाहा छैन। झन् पीर बढ्न थाल्यो।
नेपालमा कसैलाई भनेको थिइनँ म बिरामी छु भनेर, बुढीले ससुरालीतिर भनिछन् । यतिकैमा दिन बित्दै गए । गाह्रोमाथि गाह्रो हुन थाल्यो । बेडबाट उठ्न नसक्ने भएँ । बिना झन् पीर लिन थालिन् । यता लन्डनमा थाहा पाउने साथीहरूले सान्त्वना दिन थाले फोनमा । हस्पिटलको सेकेन्ड रिपोर्ट पनि कोरोना भएको पुष्टि भयो। मैले यस्तो विकसित देशमा केही हुँदैन होला भन्ने सोचेको थिए । तर‘‘बुढीलाई घरको जिम्मेवारीका बारेमा सबै कुरा भनुँ भने पनि ऊ झन् आत्तिएर डराउली । ‘बाँचे त ठीकै छ, म*रें भने कालो डायरी पढ’ । मेरा दिदीबहिनी उसै त सधैं फोन गर्थिन् । अहिले उनीहरूलाई थाहा छैन। थाहा पाई भने झन् पीर लिन्छे भन्ने भो। मेरी ठूलीआमा सकीनसकी दिनदिनै फोन गर्नुहुन्छ । उसै त कमजोरी मान्छे झन् पीर लिन्छिन् भनेर भनिनँ ।