जीवन पाण्डे वैशाख २२ । बडीगाड गाउँपालिकाको राहत कोषमा सहयोग रकम जुट्ने क्रम बढ्दै गएको छ । कोरोना भाईरस कोभिड १९ सक्रंमणको रोकथाम र नियन्त्रणका लागि गाउँपालिकाले निर्माण गरेको राहत कोषमा विभिन्न व्यक्ति र संस्थाहरुले सहयोग गरेका छन् ।
यसैक्रममा सोमबार बडीगाड गाउँपालिका वडा नं २ निवासी एक थापा परिवारले गाउँपालिकाको राहत कोषमा नगद रकम सहयोग गरेका छन् । खर्बाङको हाँडिखोला स्थित डिभी इलेक्ट्रोनिक्सका सञ्चालक दिपेन्द्र थापाका पुज्यनिय बुवा डम्मर बहादुर थापा र आमा मनमाया थापाले बडिगाड गा.पा राहत कोषमा सहयोग नगद रु १० हजार रुपैयाँ सहयोग गर्नुभएको हो । थापाले उक्त रकम गाउँपालिका अध्यक्ष मेयरसिहं पाईजालाई हस्तान्तरण गर्नुभएको हो ।
गाउँपालिका भित्र रहेका विपन्न मजदुर वर्गहरुलाई कोरोनाका कारण भोकै वस्ने अवस्था सिर्जना नहोस र कोरोना रोकथाम र नियन्त्रणका लागि गाउँपालिकाले चालेको कदमलाई थोरै भएपनि सहयोग होस् भन्ने हेतुले आफुले सहयोग गरेको उहाँको भनाई छ ।रकम बुझ्दै गाउँपालिका अध्यक्ष मेयरसिहं पाईजाले सहयोगी थापा प्रति धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले गाउँपालिकामा वास्तविक विपन्नले भन्दा पनि सम्पन्न वर्गले समेत राहतको लागि दाबी गर्ने होडबाजीका विच व्यक्तिबाट सहयोग आउनु सकारात्मक सन्देश भएको बताउनुभयो ।
यस अगाडी विपद व्यवस्थापन राहत कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडिगाडका अध्यक्ष गुणानिधि घिमिरेले ५० हजार सहयोग गर्ने घोषणा गर्नुभएको थियो । त्यस्तै बडीगाडमा रहेका मुस्लिम समुदायले पनि नगद १५ हजार रुपैयाँ सहयोग गरेका थिए । गाउँपालिकाले कोरोना भाइरस कोभिड १९ वाट वचाउँन राहत तथा अन्य कार्यक्रम संचालन गर्न कोषको स्थापना गरको छ । सो कोषमा स्व स्फूर्त रुपमा सहयोग गर्न गाउँपालिकाले अपिल पनि गरेको छ ।