रासस । एकल महिलाले मात्र होइन, एकल पुरूषले पनि अब सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । यसका लागि मेलम्चीको हेलम्बु गाउँपालिकाले श्रीमती मृ*त्यु भएका सबै उमेरका समूहका एकल पुरूषलाई आन्तरिक स्रोतबाट मासिक रु ५०० भत्ता उपलब्ध गराउन सुरूवात गरेको छ ।
सो गाउँपालिकाका सात वटै वडाका १ सय ९५ जनालाई भत्ता वितरण गरिएको अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले सो भत्ता वितरणका लाागि चालू आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन थियो । ‘राज्यले महिला पुरूष समान भनेकाले व्यवहारिक रूपमै हामीले त्यसको सुरूआत गरेका हौं । समानताको नारा अनुसार नै एकल पुरूषलाई पनि भत्ता वितरण गरिएको हो’, उहाँले भन्नुभयो ।
एकल पुरूष भत्ता लिइरहेकाले ज्येष्ठ नागरिक भत्ता लिन सुरू गरेपछि भने दोहोेरो सुविधा पाउने छैनन् । हाल पालिकाभित्रका सबै वडामा एकल पुरूषको संख्या सङ्कलन गर्ने काम भइरहेको र ३ सय ५० कोे हाराहारीमा सो संख्या रहेको जानकारी सो गाउँपालिकाले दिएको छ । अहिले रु ५०० बाट सुरू गरेको यो कार्यक्रम आगामी वर्षहरूमा बढाउँदै लैजाने योजना रहेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।