सुमन सुनार/बुर्तिबाङ/बैशाख २३ गते । कोरोनाभाईरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि जिल्लाको ढोरपाटन नगरपालिकामा थप कडाई गरिने भएको छ । जारी लकडाउनका समयमा नगरपालिकामा बाहिरबाट आउने मानिसहरुको आवागमन पुर्ण रुपमा बन्द गरिने भएको छ । नगर प्रमुख देव कुमार नेपालीको अध्यक्षतामा आज नगर कार्यपालिका कार्यालयमा बसेको सरोकारवालाहरुको विशेष बैठकले उक्त निर्णय गरेको हो ।
नगर प्रमुख नेपालीका अनुसार,नगर क्षेत्र भित्र बाहिरबाट आउनेहरुको आवागमन रोक्न नगर भित्रिने सम्पूर्ण नाकाहरु पुर्ण रुपमा बन्द गरिने भएको छ । निर्णयको कडाईका साथ कार्यान्वयन गर्दै तुरतुरे नाका, हुन्द्रफेदी, पाखुट्टे लगायतका नगर भित्रने सबै नाकाहरुमा स्वयंसेवक तथा सूरक्षाकर्मी परिचालन गरिने नगर प्रमुख नेपालीले बताउनुभयो ।
आज बसेको बैठकले विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाईरस (कोभिड १९) संक्रमणको संभावित जोखिमलाई मध्यनजर गर्दै अन्य केही महत्वपूर्ण निर्णयहरु पनि गरेको छ । बुर्तिबाङका तरकारी तथा खाद्यन्न पसलहरु हरेक दिन २ घण्टा मात्र सञ्चालन गरिने भएको छ । अर्को निर्णय नहुन्जेल सम्म हरेक दिन अपरान्नको ४ बजे देखि साँझ ६ बजे सम्म मात्रै खाद्यान्न पसलहरु खोल्ने निर्णय गरिएको जनाइएको छ । दुग्धजन्य पसलहरुलाई आयात तथा निर्यातलाई मध्यनजर गर्दै विहान ७ देखि ९ बजे सम्म र बेलुकीका लागि अपरान्न ४ बजे देखि ६ बजे सम्म खोल्न दिने निर्णय गरिएको छ ।
बुर्तिबाङ बजारका बैंक तथा वित्तिय संस्थाहरु भने हप्ताको दुई दिन मात्र सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत धन प्रसाद पोखरेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार, बैंक तथा वित्तिय संस्थाहरु हरेक हप्ताको आईतबार र बुधबार विहान ११ बजे देखि दिउँसो १ बजे सम्म २ घण्टा मात्र खुल्ने छ । सवारी सञ्चालनका विषयमा भने खाद्यान्न धुवानी र एम्बुलेन्स बाहेक अन्य सबै सवारी पास रोक्का गर्ने र हालजारी गरिएका सबै पास रद्द गर्ने निर्णय गरिएको छ । खाद्यान्न ढुवानीका लागि पनि हप्ताको १ दिन बुधबार मात्रै सवारी सञ्चालनको पास दिइने प्रमुख प्रशासकिय अधिकृत पोखरेलको भनाई छ ।
कोरोना रोकथामका लागि नगरपालिकाले उच्च सतर्कता अपनाएको बताउँदै पोखरेलले भन्नुभयो, लकडाउन उल्लंघन गर्नेहरुलाई कानुन अनुसार कारवाही गरिने छ । बैठकमा नगर उप–प्रमुख करमती पुन, ईलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुँवर, उद्योग बाणिज्य संघ बुर्तिबाङका अध्यक्ष चिन्तामणी शर्मा सहित विभिन्न वडाका वडाअध्यक्ष, बुर्तिबाङका बैंक तथा वित्तिय संस्थाका प्रमुख एवं प्रतिनिधी, स्थानिय समाजसेवी, बुद्धिजिवी, पत्रकार लगायतको विशेष उपस्थिती रहेको थियो ।