विराटनगर, वैशाख २४ । प्रदेश १ मा कोरोनाको उपचार गराइरहेका ६ जना डिस्चार्ज भएका छन् । प्रदेश १ सरकारले संचालनमा ल्याएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराएर ठिक भएका ६ जना भारतीय नागरिक बुधबार डिस्चार्ज भएका हुन् ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ मा अवस्थित नुरी मस्जिदमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएका उनीहरु विराटनगरको कोशी अस्पताल कोभिड—१९ उपचार केन्द्रमा उपचाररत थिए । उनीहरुको पिसिआर परीक्षणमा दुई पटक कोरोना रिर्पोट नेगेटिभ आएपछि बुधबार अस्पतालबाट विदाई गरिएको हो। डिस्चार्ज भएकाहरु विराटनगरको रानीस्थित क्वारेन्टाइनमा पुनः १४ दिन बस्नेछन् । त्यहाँ १० शैयाको क्वारेनटाइन तयार छ ।
कोशी अस्पतालका अनुसार कोरोनामुक्त भई डिस्चार्ज हुनेमा २१, २६, २८, २९, ३० र ३४ वर्षीय पुरुष छन् । अस्पताललमा भर्ना भएको १४ दिनपछि दोस्रो र तेस्रो पटकको स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको कोशी अस्पतालकी मेसु संगीता मिश्रले जानकारी दिनुभयो ।
उदयपुरको भुल्केस्थित मस्जिदमा बसेका बेला परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ५ गते राति उनिहरुलाई प्रदेश सरकारले कोशी कोभिड १९ उपचार केन्द्रमा ल्याएको थियो । अस्पताल भर्ना गराइएका १२ जनामध्ये ६ जना बुधबार डिस्चार्ज भएका हुन् । उनीहरुसँगै आएका बाँकीको अस्पतालमै उपचार भइरहेको छ । कोभिड १९ उपचार केन्द्रमा २५ जना उपचाररत छन् । उनीहरुको अवस्था सामान्य छ ।
प्रदेश १ मा हालसम्म कोरोना सक्रंमण पुष्टी भएका ३१ जना मध्ये अब दुई महिलासहित २५ जनाको उपचार भईरहेको छ । सबैको स्वास्थ्य स्थिति राम्रो रहेको बताईएको छ । तीमध्ये उदयपुरमा सक्रंमण पुष्टी भएका २२ जना, झापाका २ जना र भोजपुरका एक जना रहेका छन् । लकडाउनका कारण निको भएकाहरुलाई भारत पठाउन सीमा नाका बन्द भएका कारण विराटनगरको एक मस्जिदमा क्वारेन्टाईनमा राखिने जनाईएको छ । सेतोपाटीबाट