वैशाख २५ । डेंगु भाइरसको माध्यमबाट फैलिने हुँदा यसको संक्रमण हुँदा मानिसलाई कडा ज्वरो आउँछ । यो ज्वरो आएको मानिसलाई टोकेको लामखुट्टेले अर्को मानिसलाई टोकेमा संक्रामक रूपमा फैलिन्छ । लामखुट्टे यस ज्वरोको प्रसारक मानिन्छ । हिजोआज धेरै मानिसलाई डेंगुले संक्रमण गरेका समाचार जताततै पढ्नु, हेर्नु र सुन्नु परिरहेको छ ।
डेंगुको संक्रमण बढाउने लामखुट्टे प्रमुख कारक हो । डेंगु लागेपछि अत्यधिक ज्वरो आउँछ । यस ज्वरोमा हड्डी पनि तात्छ भनिन्छ । डेंगु लागेपछि ज्वरो आउँदा हड्डीमा पनि असह्य दुखाइ हुन्छ । डेंगुका धेरै लक्षण हुन्छन् । अत्यधिक ज्वरो, टाउको दुख्ने, छालामा राता गोलागार निसाना बन्ने, मांसपेशी र जोर्नीमा अत्यधिक दुखाइ यसका लक्षण हुन् ।
डेंगु लागेपछि यसको उपचार समयमै गर्नुपर्छ । यसको लक्षण देखिनासाथ चिकत्सको परामर्श त अत्यावश्यक हुन्छ नै । केही घरेलु उपचारबाट पनि डेंगुको संक्रमणबाट बच्न सकिन्छ । सकेसम्म भिटामिन सी युक्त खानेकुरा बढाउनुपर्छ । भिटामिन सीले मानिसको शरीर स्वस्थ राख्नुका साथै शरीरमा रोग प्रतिरोधक क्षमता बढाउन मद्दत गर्छ । यसबाहेक भिटामिन सीले कुनै पनि प्रकारको संक्रमण प्रसार हुनबाट रोक्ने काम गर्छ ।
बेसारको सेवन पनि डेंगुमा फलदायी मानिन्छ । सामान्यतस् दाल र तरकारीमा बेसारको प्रयेग त हुन्छ नै यसबाहेक दूधमा पनि बेसार मिसाएर सेवन गर्न सकिन्छ । बेसारमा रहेको एन्टिबायोटिक तत्वले व्यक्तिको प्रतिरक्षालाई मजबुत बनाएर बिरामी हुनबाट जोगाउँछ । तुलसी र महको सेवन गर्नाले पनि डेंगुबाट सुरक्षित हुन सकिन्छ । यसका लागि तुलसीका पात पानीमा उमालेर यसमा मह मिसाएर सेवन गर्न सकिन्छ । चियामा पनि तुलसीको पात मिसाउन सकिन्छ । तुलसीमा रहेको एन्टिब्याक्टेरियल गुणले डेंगुको संक्रमणबाट बच्न सहायक हुन सक्छ ।
डेंगुको उपचारमा मेवाका पातलाई उत्तम औषधीका रूपमा लिइन्छ । मेवाका पातको रस दिनमा दुई पटक २÷३ चम्चाका दरले सेवन गर्नाले डेंगुको संक्रमणबाट बच्न सकिन्छ । मेवाका पातमा पर्याप्त प्रोटिनयुक्त पपेन इन्जाइम पाइन्छ । यसले पाचन शक्ति सुदृढ बनाउँछ । रगतमा रातो रक्त कणको मात्रा बढाउन पनि मद्दत गर्छ । डेंगु ज्वरोका कारण शरीर रक्त अल्पता र कमजोरी हटाउन अनार सेवन लाभकारी हुन्छ ।
अनारमा रहेको भिटामिन ई, सी, ए एवं फोलिक एसिड र एन्टिअक्सिडेन्ट अत्यन्त फाइदाजनक मानिन्छ । अनारले रातो रक्त कण निर्माणमा पनि महत्वूर्ण भूमिका खेल्छ । रक्तअल्पता घटाउन पनि यसले सहयोग र्पुयाउँछ ।मेथीको साग सेवन गर्नाले पनि डेंगुबाट बच्न सकिन्छ । मेथीको साग खानाले शरीरबाट सबै किसिमका हानिकारक तथा विषाक्त पदार्थ बाहिर निस्कन्छन् ।
शारीरिक दुखाइ र अनिद्राको समस्यामा पनि मेथीको साग लाभकारी मानिन्छ । तरकारीका रूपमा वा त्यत्तिकै उमालेर यसको रस सेवन गर्न सकिन्छ । साग उपलब्ध नभए मेथीका दाना भिजाएर पनि उपयोग गर्न सकिन्छ । गुर्जो हरेक बिमारीका लागि अमृत बराबर मानिन्छ । यसको सेवनले राता रक्त कणिका वृद्धि गराउँछ । यसले शरीरमा रोग प्रतिरोधक क्षमता बढाउँछ ।
तुलसी पात र गुर्जो बेसरी उमालेर सेलाएपछि यसको सेवन गर्नुपर्छ । योबाहेक तयारी रूपमा पाइने गुर्जाको जुस अथवा चक्कीको सेवनले पनि शरीरमा फाइदा र्पुयाउँछ । कुनै पनि प्रकारले दिनमा दुई वा तिन पटक गुर्जोको सेवन गर्नु डेंगुबाट बच्ने उत्तम उपाय हुन सक्छ । डेंगु ज्वरोले थलिएकालाई बाख्राको दुध सेवन लाभकारी मानिन्छ । बाख्राको काँचो दुध दिनमा दुई–तिन पटक पिउनाले यस ज्वरोलाई निकै फाइदा गर्छ । बाख्राका दुधले रगतको कमी हटाउँदै प्रतिरक्षा प्रणालीलाई पनि सबल बनाउँछ ।
जोर्नीको दुखाइमा पनि बाख्राका दुध लाभकारी मानिन्छ । जमराको जुस पनि डेंगुको ज्वरो समनकारी मानिन्छ । यसको सेवनले रगतमा प्लेटलेट्सको निर्माण शीघ्र हुनुका साथै रोग प्रतिरोधक क्षमता पनि सबल हुन्छ । दैनिक दुईपटक यसको सेवनले डेंगुको संक्रमण कम हुन जान्छ । हर्बल चियाको सेवनले शरीरमा जम्मा भएको हानिकारक तत्व बाहिर निस्कन्छ । यसले रोग प्रतिरोधक क्षमता पनि सबल हुन जान्छ ।
अतः दिनमा दुई तिनपटक हर्बल चिया सेवन गर्ने बानी गर्नु फाइदाजक देखिन्छ । यीबाहेक डेंगुबाट सुरक्षित रहन सकेसम्म लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न सकेसम्म जोगिनुपर्छ । घरनजिक पानी जम्न दिनु हुँदैन । पानी जमेका ठाउँमै लामखुट्टेको बास हुन्छ । डेंगुको लक्षण देखिने बित्तिकै अन्य औषधी सेवनपूर्व विज्ञ चिकित्सकको परामर्श लिनुपर्छ ।
(एजेन्सीको सहयोगमा)