सागर भण्डारी, वैशाख २९ गुल्मी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण सरकारले लकडाउन जारी गरेपछि यतिबेला विकास निर्माणका प्राय काम ठप्प बनेका छन् । सरकारले महत्वपूर्ण आयोजनाहरु सञ्चालन गर्न निर्देशन दिएपनि मजदुरको अभावसगैं अन्य विविध कारणले आयोजनाहरु सञ्चालन हुन सकेका छैनन् ।

यसैबीच मुसिकोट नगरपालिका वडा नं ८ मा भने लकडाउनकाबीच पनि एक घर एक धाराको काम धमाधम भईरहेको छ । लकडाउनका कारण सामाजिक दुरी कायम गरेर खानेपानी आयोजनाको काम चालु गरिएको वडाध्यक्ष नारायण सापकोटाले जानकारी दिनुभयो । मुसिकोट नगरपालिकाको वडा नं ८ स्थित वामी खानेपानी आयोजनाको निर्माण कार्य धमाधम अगाडी बढेको छ ।

मुसिकोट नगरपालिकाको एक घर एक धारा कार्यक्रम अन्तर्गत प्रदेश सरकार अन्तर्गत नगरपालिकाको शसक्त बजेट कार्यक्रम मार्फत १ करोड रुपैयाँ र स्थानीय जनश्रमदान ३० लाख गरि ३०/७० लागतमा निर्माण शुरु भएको आयोजनाको अहिले घरघरमा पाईपलाईन बिच्छ्याउने, ट्याङकी निर्माण गर्ने सम्पन्न भईसकेको र सङ्कौलमा ट्याङ्की निर्माण गर्ने, पाईपलाईन बिच्छ्याउने काम भईरहेको छ त्यस्तै मैदानमा २ वटा ट्याङ्की निर्माणको काम चलिरहेको वडाध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

त्यस्तै वडा नं ८ मै निर्माणाधीन मालारानी खानेपानी आयोजनाको काम सम्पन्न भएको छ । जिल्ला खानेपानी आयोजना र मुसिकोट नगरपालिकाको ४० लाख बजेटमा उक्त परियोजना सञ्चालनमा आएको र जसबाट त्यसक्षेत्रका १ सय ३ घरधुरी लाभान्वित भएको उहाँले बताउनुभयो । नगरपालिकाले यस आर्थिक बर्षको अन्त्य सम्म २ हजार घरधुरीमा खानेपानी धारा पुराउने लक्ष्य राखेको छ । पाँच बर्षे कार्यकाल भित्र नगरवासीमा एक घर एक धारा पुराएरै छाड्ने नगर कार्य समितिको अठोट रहेको छ ।