राहत वितरण पछि ढोरपाटन नगरपालिकाले थाल्यो मजदुर उद्धार अभियान

राहत वितरण पछि ढोरपाटन नगरपालिकाले थाल्यो मजदुर उद्धार अभियान

Badigad Online
2 Min Read

सुमन सुनार/बुर्तिबाङ/बैशाख २९ गते । जिल्लाको ढोरपाटन नगरपालिकाले लकडाउन अर्थात बन्दाबन्दीकाकारण अलपत्र परेका मजदुरको उद्धारलाई तीव्रता दिएको छ । विभिन्न अवरोधकाबीच पनि नगरपालिका मजदुरको व्यवस्थापनमा जुटेको नगरपालिकाले जनाएको छ ।

आफ्नो घर सम्म पुग्नका लागि लकडाउनको समयमा पैदलयात्रा गरी हिडेका मजदुरलाई गन्तव्यमा पु¥याउन कुनै पनि ठाउँमा नरोक्न अनुरोध सहितको सिफारिस गरी नगरपालिकाले सवारी साधनको व्यवस्था नै गरेर विभिन्न स्थान सम्म पु¥याउने गरेको नगर प्रमुख देव कुमार नेपालीले जानकारी दिनुभयो । यति बेला वर्षातको समय सुरु भएसंगै खेतीपातीको समय भएकाले मजदुर आ–आफ्नो घर फर्कनै पर्ने भएकाले उनीहरुको उद्धारमा नगरपालिकाले विशेष अभियान थालेको नगर प्रमुख नेपालीको भनाई छ ।

नगरपालिकाले हालसम्म विभिन्न स्थानबाट बुर्तिबाङ आएका १ सय जना भन्दा बढि मजदुरहरुलाई उद्धार गरी गन्तव्य सम्म पुग्न मद्धत गरेको छ । उनिहरु सबैलाई नगरपालिकाले आफ्नै खर्चमा खाजा, खाना र गाडीको व्यवस्था गरी रुकुम, रोल्पा, बुटवल लगायत विभिन्न स्थानमा पु¥याएको छ । यसैक्रममा नगरपालिकाले आज २१ जना मजदुरको उद्धार गरेको प्रमुख प्रशासकिय अधिकृत धन प्रसाद पोखरेलले बताउनुभयो । रोल्पा, थबाङका ४ जना, सल्यान, बागचौरका १५ जना र दैलेखका २ जनाको उद्धार गरिएको पोखरेलले बताउनुभयो ।

उनिहरु मध्ये ४ जना पोखरामा भवन निर्माणको काम गर्दै आएका थिए भने ४ जना पर्वतमा बाटो निर्माणको काम गर्दै आएका थिए . कोरोनाभाईरस रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउन भएपछि अलपत्र परेका उनिहरु रुकुमको बाटो हुँदै घर जाने उद्धेश्यले बुर्तिबाङ आई पुगेका थिए । कष्टकर यात्रा गरी आएका उनिहरुलाई पनि ढोरपाटन नगरपालिकाले खाजा, खानाको व्यवस्था सहित सवारी साधनको व्यवस्था गरी निसीखोला गाउँपालिकासम्म पठाइएको प्रमुख प्रशासकिय अधिकृत पोखरेलको भनाई छ । रुकुमको सिमानासम्म पुग्नकालागि भने निसीखोला गाउँपालिकाले सहजीकरण गर्ने ढोरपाटन नगरपालिकाले जनाएको छ ।

रुकुम, रोल्पा, दाङ जान नजिक पर्ने भएकाले अधिकांश मजदुरले ढोरपाटनको बाटो रोज्ने गरेका छन् । बागलुङ सहित मुस्ताङ, कास्की, पाल्पा, स्याङ्जा लगायतका जिल्लामा दैनिक ज्यालामजदुरी गर्दै आएका मजदुरहरु जारी लकडाउन अनिश्चीत बनेपछि उनिहरु आफ्नो घर जानकालागि पैदलयात्रा गरी ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ आउने गरेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित