काठमाण्डौ, वैशाख ३० । नेपाली सन्ततीले विश्वका अनेकौँ स्थानमा विश्व चकित हुने प्रगति गरिरहेका छन् । नेपाली छोरा दिवेश पोखरेल विश्वचर्चित रियालिटी शो अमेरिकन आइडलको फाइनलमा प्रवेश गरेको सुखद खबरकैबीचमा अर्को खुशीको खबर आएको छ । नेपालकी छोरी ललितपुरको जावलाखेल घर भई हाल अमेरिकामा बस्दै आएकी अर्की नेपाली चेली कन्चन अमात्यलाई बेलायत सरकारले अत्यन्तै ठूलो सम्मान दिएको छ ।
उनलाई बेलायत सरकारले शाही सम्मानका साथ मानवता सेवा पुरस्कार दिएको हो । उनले मानवता र सामाजिक कार्यमा गरेको असल कामको मूल्यांकन गर्दै बेलायती शाही परिवारले उनलाई उक्त सम्मान दिएको हो । सम्भवत उनी यो सम्मान पाउने पहिलो नेपाली युवा नेतृत्व हुन् । गत वर्ष २०१९ मा अमात्य डायना अवार्ड रोल अफ अनरबाट सम्मानित भइसकेकी थिइन् ।
उक्त पुरस्कार अमात्यसहित अन्य १९ वटा देशका व्यक्तिहरुलाई पनि दिइएको छ । जसमा बेलायत, क्यानडा, मलेसिया, नाइजेरिया, तान्जानिया र भारत छन् । उक्त पुरस्कार ड्युक अफ क्याम्ब्रिज प्रिन्स विलियम र डायनाका भाइ लर्ड एर्ल स्पेन्सरले वितरण गरेका थिए । अमात्य शीर्ष २० उत्कृष्ट युवाहरूमा छनौट परेकी थिइन् । उनीहरू समुदायको सेवाका लागि नयाँ पुस्तालाई प्रेरणा र परिचालन गर्ने आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।
कन्चनले पाएको उक्त सम्मान र पुरस्कार उनले आमा कृष्ण अमात्यलाई ग्रहण गर्न पठाएकी छिन् । उनले यसमा पनि महानता देखाएकी छिन् । किनकी उक्त दिन अन्र्तराष्ट्रिय मातृ दिवस थियो । यसैले उनले आमालाई पठाइन् । पुरस्कार ग्रहण गरेपछि आमा कृष्ण अमात्यले एक आमाको रूपमा एउटा बच्चा (कन्चन) पाएकोमा अत्यन्तै खुसी लागेको बताईन् ।
त्यस्तै कन्चनले अन्तर्रा्ष्ट्रिय आमा दिवसको अवसरमा पाएको यो पुरस्कार आफुले विश्वभरिका सबै आमाहरूलाई र विशेष गरी आफ्नी आमालाई समर्पण गर्ने बताईन् । उनले आफ्नी आमा जीवनको ज्योति रहेको र जसले सबै कठिनाइहरूको बाबजुद पनि उत्तम पालनपोषण गरेको भन्दै आमालाई सम्मान प्रकट गरिन् ।