बाग्लुङ, वैशाख ३१ । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाको क्वारेन्टाईनमा बसेका मध्ये १४ जनामा कोभिड–१९को पोजेटिभ रिपोर्ट आएपछि यतिबेला बागलुङ सनसनी बनिरहेकोे छ । क्वारेन्टाईनमा बसेका ६२ मध्ये एकै पटक १४ जनालाई कोरोना संक्रमण भेटिए पछि मानिसहरु त्रसित बनिरहेका छन् ।
यसले बागलुङलाई झनै सनसनी बनाईरहेको छ । यो मानेमा सनसनी बनाईरहेको छ कि ति मजदुरहरु केही दिन पहिले (बैशाख ११, २०७७) बागलुङको गलकोटबाट गई क्वारेन्टाईनमा बसेका थिए । बागलुङबाट गएको हुनाले पनि यसले बागलुङबासीलाई फेरी एक पटक झस्काएको छ । दुई संक्रमित निको भएर घर फर्केपछि शान्त महशुस गरेको बागलुङ एक्कासी आतङ्कित बन्न पुगेको छ ।
बागलुङमा पहिल्यै दुई जना व्यक्ति संक्रमित भएर पनि निको भई घर फर्कि सकेका छन् । यस्तो अवस्थामा पर्साका उनीहरुलाई कोभिड–१९ बागलुङबाट नै सर्यो ? वा उनीहरुलाई कहीँबाट बाटोमा लाग्यो वा त्यहीँ क्वारेन्टाइनमै बसेको समयमा अन्य व्यक्तिबाट सर्यो ? यो बढो गम्भीर प्रश्न उब्जिएको छ । यद्धपी बागलुङबाटै उनीहरुलाई कोभिड–१९ सरेको भए अब कोभिड–१९ बाट बागलुङ भयाबह बन्दैछ भनेर अड्कल काट्दा फरक पर्दैन ।
अहिलेसम्मको बुझाईमा त्यो सम्भावना जीवित नै छ । बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूका अनुसार यहीँबाट सर्यो वा त्यहीँ क्वारेन्टाईनमा बसेको समयमा अन्य व्यक्तिबाट सर्यो ? एकिन छैन । यद्धपी त्यसबारे अनुसन्धान भईरहेको छ । केही भनाई अनुसार बागलुङबाटै जाँदा एकजनालाई ज्वरो आएकोले उनीहरु मध्ये कसैलाई बागलुङबाट कोरोना संक्रमण भएको हुनसक्ने अड्कल गरिएको छ तर हालसम्म पुष्टि कहिँबाट पनि भईसकेको छैन ।
अर्को थरि भनाई क्वारेन्टाईनमा रहेका अन्य (जो भारतबाट आएर क्वारेन्टाईनमा बसेका) थिए उनीहरुबाट सर्यो भन्ने अड्कल पनि गरिएको छ । मजदुरलाई गलकोटदेखि पर्सा पठाउने गलकोट नगरपालिका प्रमुख भरत शर्मा गैरेका अनुसार त्यसको आशँका चौतर्फी गर्न सकिन्छ । गैरेका अनुसार त्यतिखेर बैशाख पूर्णिमाको समय थियो, त्यस कारण गलकोटमा भारत लगायतका विभिन्न देशबाट गरि १ सय ३७ जना आएका थिए । उनीहरु मध्ये जम्मा १ सय २९ जनाको र्यापिड टेष्ट गरियो, ति सबैको रिपोट नेगेटिभ आयो, अन्य ८ जनोले परीक्षण नै गराएनन् ।
अर्को कुरा र्यापिड टेष्टको विश्वसनीयता पनि छैन । र्यापिड टेष्टको अविश्वसनीयता र विदेशबाट ठूलो संख्यामा पालिकामा मानिसहरु भित्रिएकोले उनीहरुबाटै ति मजदुरलाई सर्यो कि ? गैरेलाई चिसो पसिरहेको छ । त्यो भन्दा बढि आशँका ति मजदुरहरु गलकोटबाट हिँडेपछि सर्यो भन्ने छ । त्यसमा सबै भन्दा बढि जोखिम पर्साको क्वारेन्टाईनमै बस्दा सर्यो भन्ने लाग्छ । गैरेलाई प्राप्त भएको श्रोत अनुसार त्यहाँको क्वारेन्टाईनको बसाई अत्यन्त भद्रगोल थियो, त्यहाँ भारतबाट आएकाहरुलाई पनि संगै राखिएको थियो, बढिसम्भावना त्यतैबाट भयो कि भन्ने छ ।
अर्को सम्भावना पनि जीवित छ । गलकोटमा काम गर्ने ति मजदुरहरु गलकोटबाट पर्साको लागि हिँड्दा जम्मा ७९ जना थिए । तर बागलुङ बजार, पर्वतबाट थपिएर पर्सा पुग्दासम्म ९० जना पुगे त्यसैले ति १४ जनालाई बीचबाटो (बागलुङ बजार, बिहुँ, कुश्मा) कतैबाट पो सर्यो कि ? यद्धपी यसको सत्यता छिटै पत्ता लाग्ला तर संक्रमितहरुको संख्या बढिरहँदा तपाई हामीमा जोखिम पनि उत्तिकै बढिरहेको छ । त्यसैले यस्तो समयमा अत्यावश्यक कामले बाहेक बाहिर ननिस्के राम्रो होला ।
यस क्रममा संक्रमित मजदुरको समूहलाई छोड्न गएका बसका चालक, सहचालक सहित चार जनालाई रामरेखा स्थित क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको स्वाब समेत संकलन गरिएको र बुधवार नै पिसिआर परीक्षणका लागि पोखरा पठाइने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । पर्सा मजदुर छोड्न गएका चालक १, रुपन्देही बुटवलबाट आएका ३, तराईबाट आएर बसिरहेका मुस्लिम समुदायका २, अर्घाखाचीबाट आएका १, नेपाली सेना १ र काठेखोला गाउँपालिकाको बिहुँमा बाहिरबाट आएका थप ३ (हिजो २ जनाको गरिसकिएको) को गरि १३ जनाको स्वाब पोखरा पठाइदैछ । गलकोट क्षेत्रमा अरु सम्पर्क भएका व्यक्तिहरुका बारेमा समेत खोजी शुरु गरिएको जनस्वास्थ्य अधिकृत गुरौले जानकारी दिनुभयो ।
गलकोटमा मजदुरी गर्दै आएका उनीहरुलाई गत बैशाख ११ गते गलकोट नगरपालिकाले दुई वटा बसको व्यवस्थापन गरेर घर पठाएको थियो । गलकोट नगरपालिकाको हरिचौर, मल्म, हटिया, नरेठाटी लगायतका क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्र, घर निर्माण, फर्निचर, खानेपानी लगायतका योजनामा काम गर्दै आएका उनीहरुले पटक–पटक आग्रह गरे पछि सवारी पास बनाएर बस व्यवस्थापन गरी पठाएको गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले बताउनुहुन्छ । साभार ईपरी न्यूज र आदर्श अनलाईन