काठमाण्डौ । सरकारले जापान र हङकङबाट छुट्टीमा नेपाल आएकालाई जान अनुमति दिने निर्णय गरेको छ । आज बसेको नोभल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धि उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठकले त्यहाँको भिसा भएकालाई जानको लागि अनुमति दिने निर्णय गरेको हो ।
जापान र हङकङमा स्थायी बसोबास भएकाहरू घुम्नका लागि नेपाल आएका, छुट्टीमा आएकालाई जान दिइने समितिका सदस्य सचिवसमेत रहनुभएका प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव नारायण विडारीले बताउनुभयो । उहाँका अनुसार सरकारले जान अनुमतिमात्र दिएकाले उनीहरू आफ्नै खर्चमा जानेछन् । सरकारले जारी लकडाउन थप्ने तयारी गरेको छ । लकडाउन थप गर्ने वा नगर्ने विषयमा छलफल गर्न विशेषज्ञलाई बोलाइएको थियो ।
छलफलमा विशेषज्ञले लकडाउन थप गर्न सुझाव दिएका सचिव विडारीले बताउनुभयो । अहिलेको अवस्थामा महामारी बढ्ने क्रम जारीनै रहेको बेला लकडाउन थप गर्न सबैले सुझाव दिएका उहाँको भनाइ छ । उहाँका अनुसार ती सुझावलाई भोलि बस्ने समितिको बैठकमा छलफल गरिने र मन्त्रिपरिषद् बैठकमा पेश गरिने छ ।