जीवन पाण्डे,बडिगाड । बडिगाड गाउँपालिकाको वडा नं ९ मा एक टोलबाट अर्को टोलमा जान नपाईने भएको छ । कोरोना रोकथाम तथा पूर्व सतर्कताका लागि छलफल गर्न बसेको वडास्तरीय बैठकले कोरोनाको जोखिम बढ्दै गएकाले विरामी र अत्यावश्यक बाहेक अन्यलाई एक टोलबाट अर्को टोलमा जान प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
सामाजिक दुरी कायम गरी वडाध्यक्ष कृष्ण खत्रीको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश ५ मा कोरोनाको सक्रंमण बढ्दै गएकाले उक्त क्षेत्रबाट पश्चिम बाग्लुङमा खाद्यान्न ढुवानीसगैं मानिसहरुको आवतजावतले जोखिम बढाउनसक्ने कुरालाई मध्येनजर गरेर अबको एक महिनासम्म मालारानी टोलका मान्छेहरु अर्को टोलमा नजाने र अर्को टोलका मान्छेलाई पनि मालारानी टोलमा प्रवेश गर्न नदिने निर्णय गरेको बताईएको छ ।
साथै उक्त अवसरमा वडाभित्र उक्त कुराको रेखदेख गर्न युवा स्वयंसेवक पनि गठन गरिएको छ । अत्यावश्यक भएमा र कोही विरामी भएमा स्वयंसेवक टोलीले निर्णय गरेपछि मात्र बाहिर जान दिईने निर्णय भएको वडास्तरीय कोरोना रोकथाम व्यवस्थापन समितिका सयोंजक इन्द्र थापाले बताउनुभयो ।