रूपन्देही । बिहीबार बिहान तिलोत्तमाको क्रिमसन अस्पतालमा मृत्यु भएका गुल्मीका कोरोना संक्रमित ४१ वर्षिय शिक्षकका परिवारले शव उठाउन सहमति नदिएपछि उनको शद्गद् हुन सकेको छैन । मृतकका परिवारले मृत्युको कारण कोरोना भनिएकोमा समेत आशंका प्रकट गरेका छ । क्रिमसन अस्पताल प्रशासन र चिकित्सकको लापरबाहीको छानबिनको माग गर्दै शव उठाउन परिवारले सहमति दिएको छैन ।
मृतकका भाइले निष्पक्ष छानबिनको माग आफूहरुको रहेको बताउनुभयो । बिरामी एम्बुलेन्सबाट झरेर हिँड्दै अस्पताल छिरेको र अर्को दिन ढाडबाट पानी निकाल्ने क्रममा बेहोश बनाएपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । उहाँको सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएको समाचार आएका दिनदेखि चिकित्सकले दाजुको उपचार नगरेको पनि उहाँले बताउनुभयो । ‘उपचारै नगरिदिएका कारण दाईको मृत्यु भएको हो । यो लापरबाहीको छानबिन हुनुपर्छ,’ उहाँले भन्नुभयो ।
जिल्लाको सुरक्षा स्रोतका अनुसार शव जलाउने स्थानको पनि टुंगो लागेको छैन । मृत्युको १२ घण्टा बिते पनि उनको शव अस्पतालकै आइसियू कक्षमै छ । स्थानीय प्रशासनले सुरक्षाकर्मीले शव अस्पतालबाट लैजाने र तिलोत्तमा नगरपालिका–३ स्थित मगरघाटमा व्यवस्थापन गर्ने तयारी गरेको थियो । तर, स्थानीयले विरोध गरेपछि अर्को स्थानको व्यवस्थापन हुन सकेको छैन ।
प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले परिवारसँग छलफल भइरहेको र स्थानको समस्या नरहेको दावी गर्नुभयो । शब व्यवस्थापनको जिम्मा जिल्ला संकट व्यवस्थापन केन्द्रको भएकोले केन्द्रले नै बैठक बसेर सबै कुराको टुंगो लगाउने तयारी गरेको उहाँले बताउनुभयो । #cp Kantipur