जीवन पाण्डे, बडिगाड । भारतका विभिन्न ठाउँमा रहेका बाग्लुङको बडिगाड गाउँपालिकाका ५४ जना आईपुगेका छन् । रोजगारीको शिलशिलामा भारतका विभिन्न स्थानमा बसेर बन्दाबन्दीको समयमा प्रभावित बनेपछि नेपाल आउन हिँडेका उनीहरु सुनौली बुटबल हुँदै आएका हुन् ।
विगत ३ दिन देखि बडिगाड गाउँपालिकाले बन्दाबन्दीका कारण प्रभावित बनेका भारतमा रहेका आफ्ना नागरिकहरुलाई उद्धार गरिरहेको छ । यसैक्रममा शनिवार राति करिब साढे ९ बजे ५४ जना पालिकामा आएका छन् । उनीहरु भारतको चेन्नेइ र दिल्लीबाट सुनौली नाकासम्म बस रिजर्भ गरेर आएको र त्यहाँदेखि यता बडिगाड गाउँपालिकाको समन्वयमा बसमार्फत नै बडिगाड ल्याईएको बताईएको छ ।
उनीहरुमध्ये १५ जनालाई बडिगाड २ स्थित त्रिभुवन माविमा निर्माण गरिएको क्वारेन्टाईनमा र बाँकीलाई वडा नं ५ स्थित भानु माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको छ । यसअगाडी शुक्रवार आएका १९ जना र पहिले आएका ६ जना गरि २५ जनालाई क्वारेन्टाईनमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको रोहवरमा राखिएको छ । भारतको कृष्णनगर नाकाबाट पालिका भित्रिएका १९ जनालाई गाउँपालिकाले वडा नं २ खर्बाङको त्रिभुवन नमुना माध्यमिक विद्यालयमा निर्माण गरेको क्वारेन्टाईनमा राखिएको छ ।
भने शनिवार थपिएका ५४ जना गरि अहिलेसम्म ७९ जना व्यक्तिहरु बडिगाड गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा रहेको गाउँपालिकाका स्वास्थ्य सहसयोंजक चुरामणी कडेंलले जानकारी दिनुभयो । शनिवार सुनौली नाका भई आउनेमा वडा नं ५ का १७ जना, वडा नं ४ का १८ जना, वडा नं ९ का ५ जना, वडा नं ७ का १ जना, वडा नं २ का २ जना, वडा नं १ का १ जना र वडा नं ३ का १० जना रहेका छन् । उनीहरु रातिसम्म आईपुग्ने र तशपश्चात जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको पहलमा क्वारेन्टाईनमा राखिने बताईएको छ ।
बन्दाबन्दीले प्रभावित बनी दैनिक जीवन यापन गर्न समेत कठिनाई भई अलपत्र परेका उनीहरु कृष्णनगर नाकासम्म आएको र त्यसपछि उनीहरुको खर्चमा गाउँपालिकाले सहजीकरण गरी बडिगाडमा ल्याईएको वडा नं ७ का वडाध्यक्ष एवम् गाउँपालिका स्तरीय क्वारेन्टाईन व्यवस्थापन तथा दु्रत गति समितिका अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाले क्वारेन्टाईनमा बसेको ५ दिनमा सबैको स्वाव सकंलन गरी पीसीआई परिक्षणका लागि पठाउने तैयारी गरेको छ ।