गुल्मी । कोरोनाबाट संक्रमित धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । उनले मंगलवार दिउँसो प्रेस विज्ञप्ती सार्वजनिक गरि कोरोना संक्रमण भएको बताएका हुन् । जोडिएको मदाने गाउँपालिका एक शिक्षकलाई कोरोना पोजेटिभ देखिएपछि धुर्कोटका जनप्रतिनिधी, कर्मचरी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको आरडिटी परिक्षण गरिएको उनले विज्ञप्ती मार्फत जनाएका छन् ।
आरडिटीमा एक जना पदाधिकारीको रिपोर्ट पोजेटिभ आएको र उनीसँगै आफ्नो पनि स्वाब पिसिआर परिक्षणका लागि भैरहवा पठाएको उनले विज्ञप्तीमा लेखेका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले सोमवार आफ्नो कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट पठाएको उनले उल्लेख गरे । आफ्नो रिपोर्ट पोजेटिभ आएसँगै धुर्कोट गाउँपालिका कोरोना संक्रमणबाट उच्च जोखिममा रहेको समेत उनले विज्ञप्ती मार्फत जानकारी गराएका छन् । ‘खासै आत्तिहाल्नुपर्ने छैन् ’,उनले लेखेका छन् ,‘तर उच्च सतर्कता भने अपनाउनुपर्छ ।’
एक हप्तासम्म एकान्तबासमा बस्ने समेत उनले जानकारी गराए । आफूसँग सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ हुने भएकाले सवैलाई एकान्तवासमा नै बस्न उनले आग्रह गरेका छन् । यसबीचमा आफू सदरमुकाम तम्घास बाहेक अन्यत्र नगएको जानकारी दिएका छन् । एकान्तबासमा बस्दाको समयलाई उनले समग्र गाउँपालिकाको आगामी योजना र रणनीति बनाई समृद्ध धुर्कोट निर्माणमा समय खर्चिने पोखरेलले उल्लेख गरेका छन् ।
भारतबाट आएका धुर्कोट ४ जैसीथोकका एक दिर्घ रोगी व्यक्तिलाई पनि संक्रमण पुष्टि भएको पोखरेलले बताए । कोरोना पुष्टि भएपछि आम संचारमाध्यममा उनी खुलेरै सार्वजनिक भएर प्रतिक्रिया दिइरहेका छन् । उनले आज विहान एक टेलिभिजनमा समेत अन्तरवार्ता दिएका छन् ।