विभेदबिचकै सम्बन्ध : “मृत्यु या बहिस्करण“ !

विभेदबिचकै सम्बन्ध : “मृत्यु या बहिस्करण“ !

Badigad Online
11 Min Read

जिन्दगीमा सबैले चाहेको जस्तो कहाँ हुन्छ र ? प्रेम सम्बन्ध बिबाह सम्म पुग्थ्यो भने त्यो रोमियो जुलेटको कथा कहाँ बिक्थ्यो र ? अनि आबश्यकता रहुन्जेल जायज मानिएको सम्बन्ध पनि आबश्यकता नहुँदा नाजायज बनिदिन्छ, किनकी मान्छेमा त्याग, समर्पण र नैतिकता भन्ने नै छैन । स्वार्थले भरिएको सम्बन्ध नाफा र घाटाको जोड घटाउ मै चलेको हुन्छ ।

सम्बन्धको सामान्य अर्थ कसैसँग बाँधिनु वा सम्बन्धित हुनु भन्ने बुझिन्छ । किनकी समाज भनेको नै सम्बन्धको तानाबानाबाट निर्मित हुन्छ । तर वास्तबमा सम्बन्ध, सम्बन्धित हुनुमात्र नभएर ठीक – ठीक पुरा–पुरा जवाफ दिनुसंग पनि जोडिएको विषय हो । बास्तविकतामा भने ठीक उल्टो भईरहेको हुन्छ । हामीले आधा र आशिंक जवाफ दिएर सम्बन्धलाई पनि आधा अधुरो बनाई राखेका छौं । किनकी संसारमा जे दियो त्यही, जति दियो त्यति नै पाईन्छ । तव त हाम्रो सम्बन्ध सुखद सोचे जस्तो सुन्दर र स्थायी छैन ।

हामीलाई भय छ, मेरो बारे अरुले के भन्लान, के सोच्लान भन्ने । हाम्रो सोचको परिधी स्वकेन्द्रित नभई समाज केन्द्रित छ । हामी सबै अरुको आँखाबाट सारा जीवन जगत नियालिरहेका हुन्छौं , किनकी हामीलाइ समाज भन्दा फरक भएर बाँच्न गाह्रो छ । कुरुप या नराम्रो भइएला भन्ने डर, गरिब, अज्ञानी, मुर्ख वा कमजोर, रोगी या दुब्लो, होचो, अशिक्षीत आदि÷इत्यादिको तनाब, यी सबै कारक हुन् जसले हाम्रोे इज्जत, क्षमता, भविष्य, सम्बन्ध सबैमा प्रभाव पारेको देखिन्छ ।

अनि सम्बन्ध भनेको सम्यक सम्पर्कमा रहिरहनु पनि त हो नि । त्यस्तो सम्पर्क जहाँ हामी पुरापुर उत्तरदायी, स्वच्छ भुमिका निभाउन सक्छौ । जव हामी कसैलाई भेट्छौ, दैख्छौ तव हाम्रो मनमा के कस्ता भाव पैदा हुन्छन् ? जव हामी कसैसँग बोल्छौ शब्दमा के बोल्छौ, अनि भित्र के सोच्छौ ? हामी कसैसँग किन सम्बन्धित बन्छौं । सबैको चाहाना हुन सक्छ सद्भाव, शान्त, प्रेममय जिन्दगी र समाजको निर्माण । तव मात्र यो सम्भव छ, जव हाम्रो सोच विचार ब्यवहारमा क्रान्ति हुन्छ । अनि मात्र हाम्रो सम्बन्ध सुमधुर बदन्छ ।

आज मानव जगतको सबैभन्दा ठूलो समस्या भनेको सम्बन्धको हो । सम्बन्धमा देखिएको विकृति, विरोध, धोका आदिले सारा मानवीय जीवन नरकमय बन्दै गएको छ । भय र घृणा सर्वत्र फैलिएको छ । जीवनको मुलाधारमा बसेर यस समस्यालाई बुझेर समाधान गर्न नलागेसम्म मानवीय जीवन अभिशाप बनि नै रहनेछ । मानिस ढुंगालाई देवता मान्न सक्छ भने एक मानवले अर्काे मानवलाई प्रेम गर्न किन सक्दैन ? तर मानवले मानव बन्न सक्नुपर्छ , दानव होइन । अनि मानिस सामाजिक प्राणी न हो अनि ऊ समाजबाट छुटिएर बस्न सक्ने कुरै भएन । त्यसैले ऊ कुनै न कुनै तरिकाबाट सामाजिक संरचनामा बाँधिनै पर्छ ।

अझै पनि नेपाली समाजले मागि विवाहको तुलनामा प्रेम विवाहलाई सहजै स्वीकार गर्न सकिरहेको छैन । त्यसमा पनि अन्तरजातीय प्रेम र विवाहलाई स्वीकार गर्न अझ गाह्रो छ । यहि गाह्रो विषय किन उब्जिन्छ त ? अब सामाजिक दृष्टिकोणबाट विश्लेषण गर्न जरुरी छ ।
समाज एउटा विभिन्न सामाजिक तत्वहरु मिलेर बनेको जालो मान्छौ हामी । जुन एकअर्कासँग पारस्परिक सम्बन्ध जोडिएको हुन्छ । प्रेममा गल्तीहरूका हिसाब किताब राखिनु हुन्न । प्रेममा बितिसकेको समय र कामको असफलताको पनि कुनै महत्व रहदैन , यसको लेखाजोखा गरिदैन । तर भैरहेको हुन्छ यहि ।

कस्तो विडम्बना प्रेमलाई अमर राख्न मृत्यु अंगाल्नुपर्ने । प्रेमले त लडेको लाई उठाउँछ , हरेक सकारात्मक काम गर्न प्रेरित गर्छ , जिवन सुखमय बनाउँछ इतिहास हेर्दा प्रेमका अगाडी सबै झुकेका छन् तर छुवाछुत जस्तो घृणित कार्य गर्ने ,अमानविय व्यवहार गर्ने सँग आज चोखो प्रेम झुकेको छ साच्चै नमिठो लागेको छ । दिल अनि दिमागमा प्रश्न धेरै खडा भएका छन् । हरेक बहानामा अद्भुत प्रेमले यो ढोंगी समाजमा कहिले सम्म घोडा टेक्नु पर्ने हो कठै ।

आज अपवाद बाहेक अन्तरजातीय प्रेम र विवाहसँग सम्बन्धित प्रायःजसो परिणाम, घटना किन नकारात्मक हुने गर्छ त ? ती पक्षलाई सामाजिक दृष्टिकोणबाट इतिहास घटनाक्रमको खोजी हुन जरुरी छ । समाजको यस्तो पराकाष्टको पछिल्लो उदाहरण हेर्न कहाँ टाढा जानु पर्छ र । रुपन्देही र जाजरकोटका घटनाले हाम्रो सम्बन्ध र बौद्धिकता छर्लङ्ग पारेको छ । राजनितिक ,शैक्षिक ,चेतना अनि अन्य धेरै क्षेत्रमा अघि रहेको भनिएको सुगम जिल्ला रुपन्देहीमा भर्खरै घटेको घटनाको कुरा गरौ न । जातिय छुवाछुतको कारणले , अन्तरजातिय प्रेममय जिवन जिउन पाउने असहज अवस्था देखेर प्रेम बचाउन देह त्याग्नु पर्ने बाध्यता छ ।

हाम्रो वरपर धेरै छन् जातकै कारणले छुट्याइएका प्रेम सम्बन्धका डोवहरु । आखिर कहिले सम्म थप्ने बाध्यतामा जलेर टुटेका प्रेम सम्बन्धका डोवहरु । हुन त व्यवहार र बोली समान हुदो हो त विकल्पमा आत्महत्या या हत्या रोज्नै पर्दैन थियो होला तर आत्महत्या समस्याको समाधान होइन, डटेर सामना गर्नुपर्छ । अझै पनि नेपाली समाजमा दलित र गैरदलित विवाह वा प्रेम गरेकै आधारमा माथिल्लो समुदायबाट फकाएर, सम्झाएर, मनोवैज्ञानिक डर देखाएर उस्तै परे कुटपिट र मृत्यु सम्म हुन्छ ।

साथै, अभिभावकको हस्तक्षेप, दलित पक्षका परिवार विस्थापित हुनुपर्ने, गैरदलित महिला भए माइतीघरसँगको सम्बन्ध छुट्ने, दलित महिला भए केटाको घर जानबाट वन्चित हुनुपर्ने, कानुनी लडाइँ, चौकी, बालविवाह, चेलीबेटी बेचबिखन, करणी जस्ता झुटा आरोप लाग्नेदेखि मृत्युको सिकार हुनुपर्ने जस्ता धेरै समस्याहरु सृजित हुने गर्छन् । अनि उपल्लो जातिको अहंकार र घमण्ड पनि चुलिदै जादा सम्बन्ध तुहिदै पनि गएका छन् ।

किन राज्यव्यवस्थाले नै कानूनी रुपबाटै जातीय सोपान निर्धारण गर्दै आएको हो ? यसका साथै राज्यले नै समाजको हरेक समुदायको क्रियाकलापलाई, रीतिरिवाज, खाना, विहेवारी, अवसर नियन्त्रण गरेकै हो त ? जातीहरुबीच आफू ठूलो, आफ्नो राम्रो भन्ने भावना सृजना हुने वातावरण तयार गरिएकै हो ? यसैको अवशेषले गर्दा समाजले अन्तरजातीय प्रेम र विवाहलाई सजिलै स्वीकार गर्न सकिरहेको छैन । आज हामी २१ औँ शताब्दीसम्म आइपुग्दा पनि जातीय संरचनाले गाँजिरहेको छ हामिलाइ ।

सम्बन्ध प्रेममा मात्रै सिमित रहदा सम्म त्यस्को प्रभाव परिवार र समाजमा पर्दैन तर त्यही सम्बन्धलाई मुर्तरुप अर्थात बिबाहमा रुपान्तरण हुँदा कि मृत्यु कि सामाजिक र ब्यक्तिगत बहिस्करण जस्ता अलंकार पाउछ । सम्बन्धको मुर्तरुप बिबाह नहुन पनि सक्छ कतिपयलाई तर यहि तितो यथार्थ हाम्रो समाजमा अझैपनी ब्याप्त छ, जाजरकोट र रुपन्देहीमा भएका पछिल्ला क्रूर घटनाले हाम्रो विकसित समाज र सामाजिक कुसंस्कारलाई चित्रण गरेको छ । गत जेष्ठ १० गतेको जाजरकोटमा भएको क्रूर घटना अनि ११ गते रुपन्देहीमा घटेको घटनाले हाम्रो समाजलाई राम्रो सङ्ग चित्रित गरेको छ ।

जातियताको नाम दिएर हेपाहा प्रवृत्ति प्रदर्शन हुनु र ज्यानै लिनु कानुनी राज्यको उपहास भएन र ? जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका २० वर्षीय नवराज विक र पश्चिम रुकुमको चौरजहारी नगरपालिका – ८, सोतीकी १७ वर्षीया मल्ल थरकी एक युवतीबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो । कथित दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिले पनि उनीहरु विवाह बन्धनमा बाँधिन चाहन्थे । त्यसैले नवराज जेष्ठ १० गते राति आफ्ना साथीहरुलाई लिएर दुलही ल्याउन चौरजहारी पुगेका थिए ।

तर, नवराजले न त घरमा दुलही ल्याए, न त आफू नै घर फर्किए । उनलाई साथ दिनको लागि सँगै गएका चौरजहारीका टीकाराम सुनार र रानागाउँका गणेश बुढा मगरको पनि अनाहकमा मृत्यु भयो । अन्य तीनजना सन्दिप विक, लोकेन्द्र सुनार र गोविन्द शाही अहिले पनि बेपत्ता छन् । आफ्नी प्रेमिकालाई विवाह बन्धनमा बाँध्ने नवराजको दोस्रो प्रयास पनि असफल भइदियो । केही महिनाअघि पनि विवाह गर्न खोज्दा चौरजहारी इलाका प्रहरी कार्यालयको रोहबरमा उमेर पुगेपछि विवाह गर्ने गरी छुटाइएको थियो ।

नवराज नेपाल प्रहरीको सिपाहीमा छनोट भएका थिए । तर, लकडाउनका कारण तालिममा भने सहभागी हुन पाएका थिएनन् । उनी बाबुआमाका एकमात्र सन्तान थिए । आफ्ना छोराछोरीको सफलतामा खुसी भइरहेका अभिभावकमाझ एउटा अभिभावक जोडी अहिले गम्भीर शोकमा डुबेको छ । जन्मेपछि मृत्यु अवश्यम्भावी छ तर आफूभन्दा पहिला सन्तान गुमाउनुको पीडा हरेक बाबुआमाका लागि असह्य नै हुन्छ । त्यसमाथि जातका आधारमा प्रेमको बन्धन टुटाउने अनि ज्यानै लिदा कस्को आमाबाबुको मन स्थिर रहने कुरै भएन ।

यता जेष्ठ ११ गते रुपन्देहीको देवदह नगरपालिका ११ की १५ वर्षीया किशोरीले अनाहकमा ज्यान गुमाउनु पर्यो । युवती दलित भएकै कारण बिबाहको भोलिपल्ट उनले देहत्याग गरिन । शुक्रबार राति १० बजे गाउँको पूर्वपट्टि ती एक युवक (जस्ले मृतक युवतिलाइ बिबाह गरेका थिए) र युवतीलाई सँगसँगै देखेको भन्दै स्थानीयले उनीहरुलाई विवाह गर्न दबाब दिएका थिए । केटी पक्षले ‘हाम्रो इज्जत गयो, अब केटीलाई अरु केटाले लाँदैन’ भनेर युवकलाई जबरजस्ती बिवाह गर्न दबाब दिएका थिए ।

पछि युवकले ती किशोरीलाई घर लिएर गए । स्थानीयको दबाबकै कारण युवकले किशोरीलाई घर लिएर गए पनि त्यहाँ युवकको आमाले घर भित्र्याउन नमानेका जनप्रतिनिधिको भनाइ छ । जनप्रतिनिधिका अनुसार दलित समुदायकी किशोरी भएकाले युवककी आमाले पस्न दिएकी थिइनन् । फलतः किशोरीले अनाहकमा ज्यान फालिन । यस्ता घटना त केबल प्रतिनिधि मात्र हुन्, सबै कुरा समाजले निर्धारण गर्ने भए न्यायपुर्ण गरिदेउ । अझै समाजमा कति जोडिको अवस्था यस्तै काहालीलाग्दो छ, जस्ले सम्बन्धलाइ प्रेम अनि विवाहमा परिणत गर्न त सफल भए तर समाजको झकडिएको यथार्थलाई स्वीकार गर्न सकेका छैनन् ।

बर्सौ सम्म बिदेशी भुमी, परदेश र घरबाहिर जिन्दगी बिताउन बाध्य छन् । भएका सम्बन्धमा पनि बढ्दो अहंकार सृजित छ, भबिस्य प्रतिको जिम्मेवारीबाट पलायन भएका छन् । के सम्बन्ध सधैं बहिस्करण या मृत्युवरणका लागि गासिएका हुन्छन् र ? राज्यले जातीय विभेदलाई कानुनी रुपमा अन्त्य कगरेपनि व्यवहारिक रुपमा अन्त्य हुन नसक्नु यो देशकै दुरदशाा हो ।

समाजमा यस्ता खालका बिकृत मानसिकता भएका र सामाजिक अपराधमा संलग्न जिम्मेवार व्यक्तिलाई सामाजिक दायित्वबाट बर्खास्त गर्नुपर्दछ ।अनि सम्बन्ध निर्वाह गर्दा आउने यस्ता बिचलित घटनाको निरुपणका लागि मानसिक स्वास्थ्यलाई बढावा दिनुपर्छ । निति, ऐन, कानुन र संविधानको ब्यबस्थाका बारे सबै सजग छ तर सोचाइमा परिवर्तन ल्याउन सक्दैनन् ।

  • भुपाल थापा, कपिलवस्तु ।
  • लेखक लामो समयदेखि पत्रकारिता छेत्रमा क्रियाशिल छन् । उनले समसामयिक विषयमा विभिन्न लेखहरु लेख्ने गर्दछन् ।
Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित