ढल्यो रिघाको धरोहर, पूर्व प्रधानपन्च श्रीसको निधन !

ढल्यो रिघाको धरोहर, पूर्व प्रधानपन्च श्रीसको निधन !

Badigad Online
2 Min Read

कमल पौडेल, बागलुङ । साविक रिघा गाविसका पूर्व अध्यक्ष, पूर्व प्रधानपन्च, सामाजिक अगुवा होम बहादुर श्रीसको मंगलवार हृदयघातको कारण निधन भएको छ। हाल गल्कोट नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष डम्बर श्रीसको पिता समेत रहनुभएका श्रीस सामाजिक विभेद विरुद्ध अगुवाई गर्ने अभियान्ता समेत हुनुहुन्थ्यो।

२०१० साल कार्तिक १३ मा जन्मिनुभएका श्रीसले २०२७ साल देखि शिक्षण पेशा सुरु गर्नुभएको थियो। केहि वर्षको अध्यापन पछि गाउँपञ्चायतको सचिव, २०३४ सालमा हुलाक कार्यालयको स्थापना गरि संस्थापक प्रतिनिधि हुँदै २०३८ सालमा रिघा गाविसको प्रधानपञ्च बन्नुभएको थियो। २०४२ सालमा इलाका स्तरीय रिघा हेल्थपोष्ट स्थापना गर्दै संस्थापक अध्यक्ष रहनुभएका श्रीस २०४९ सालको स्थानिय निर्वाचनमा गाविस उपाध्यक्ष, तथा २०५४ सालको स्थानिय निर्वाचनमा नेकपा एमालेको तर्फवाट रिघा गाविस अध्यक्ष बन्नुभएको थियो।

२०५३ सालमा रिघा बचत तथा ऋण सहकारी संस्थाको स्थापनामा महत्वपूर्ण योगदान पुर्याउनुभएका श्रीस जिवनकालभर सामाजिक अगुवाको रुपमै रहनुभएको छ। हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङका जिल्ला पार्टी सल्लाहकार सदस्य रहनुभएका श्रीस २०२८ सालमा रिघामा कम्युनिष्ट पार्टी स्थापना गर्ने संस्थापक समेत रहनुभएको थियो। यसै विच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला कमिटि सदस्य गंगा भुजेल र गल्कोट नगरकमिटी अध्यक्ष ललित श्रीसलेले पार्थिव शरिरमाथि पार्टीको झण्डा ओडाएर अन्तिम सम्मान व्यक्त गर्नुभएको छ।

श्रद्धाञ्जली सभाको गल्कोट नगरपालिका ११ रिघाका पार्टी अध्यक्ष श्याम वि.क.ले सञ्चालन गर्नुभएको थियो। श्रीसको हिन्दु संस्कार अनुसार अन्त्यष्टि भएको पारिवारीक स्रोतले जनाएको छ। श्रीसको ५ भाइ छोराहरु रहनुभएको छ, पारिवारीक रुपमा मुखियाली भनेर चिनिने श्रीसको जेठो छोरा डम्बर श्रीस हाल गल्कोट नगरपालिका ११ को वडा अध्यक्ष हुनुहुन्छ। होम बहादुर श्रीसको निधनले रिघा शोकमा डुवेको छ, रिघाका राजनैतिक दलका प्रमुख, जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रमुखहरुले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अभिभावक गुमाएको प्रतिक्रिया दिएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित