बडिगाड अनलाईन । मुसिकोट नगरपालिकामा निर्माण गरिएका क्वारेन्टाईन असुरक्षित रहेको गुनासो बढेको छ । पछिल्लो समय भारतबाट आउनेहरुको संख्या बढ्दै गएपनि क्वारेन्टाईन व्यवस्थापनमा भने त्यत्ति ध्यान नदिएको गुनासो बढ्न थालेको हो ।
नेपाल राष्टिय त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट २ मुसिकोट देउरालीका प्रधानाध्यापक सुरेन्द्र नेपालीले विभिन्न समस्याका बाबजुद क्वारेन्टाईन भनेजस्तो व्यवस्थापन गर्न नसकिएको बताउनुभयो । क्वारेन्टाइन ब्यवस्थापनमा आफुहरु निकै चासोको साथ लागिरहेको र स्थानियको साथ मिलेको भएपनि क्वारेन्टाईनमा रहेकाहरुलाई एउटै चर्पीको प्रयोग गराउँदा जोखिम बढाउने धारणा व्यक्त गर्नुभयो । त्यस्तै उहाँले क्वारेन्टाईनमा बसेकाहरुलाई खानेपानीको समस्या रहेको बताउनुभयो ।
मुसिकोट नगरपालिकामा विदेशबाट आएकाहरुलाई राख्न अहिले १० वटा सामुदायिक विद्यालयलाई क्वारेन्टाईनको रुपमा प्रयोग गरिएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति गुल्मीकी सचिव विष्णु सापकोटाले क्वारेन्टाईनमा बसेकाहरुलाई आधारभूत सेवा सुविधा समेत नहुनु र शुन्य पूर्वाधार विना नै तैयार पारिएका क्वारेन्टाईनले जोखिम बढाउने भन्दै मापदण्डलाई ध्यानमा राखेर क्वारेन्टाईनको पूर्वाधार निर्माण र सुधार गर्नुपर्ने बताउनुभयो ।
उहाँले क्वारेन्टाईनमा बसेकाहरुले सामाजिक दुरी कायम गर्नुपर्नेमा एउटै चर्पी प्रयोग हुँदा झनै सक्रंमण बढ्दै जाने भन्दै शौचालयको प्रबन्ध गरी क्वारेन्टाईन व्यवस्थापनमा खटिनेहरुलाई सेनिटाईजर, माक्स, ग्लोब्स लगायतका सुरक्षा सामाग्रीको प्रबन्ध गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । पछिल्लो समय भारतबाट आउनेहरुको संख्या बढ्दै जान थालेकाले उनीहरुको स्वास्थ्य चेकजाँचका विषयमा पनि गम्भीर हुनुपर्ने उहाँले बताउनुभयो ।
यसैबीच नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमितिले यस विषयमा गम्भीर बन्न नगरपालिकालाई आग्रह गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै काँग्रेसले लामोसमय भारतमा अलपत्र परेका परेका नगरबासीहरुलाई आफ्नो गाउँ फर्काउने काम स्वागत योग्य भएपनि उनीहरुको उद्धारका नाममा महगों भाडा लिईएको भन्दै नगरपालिका गम्भीर बन्न विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएको छ ।
नेपाली काँग्रेस मुसिकोट नगर कार्यसमिति सभापति सुदर्शन शाक्यद्धारा हस्ताक्षरित विज्ञप्तीमा नगरभित्र निर्माण गरिएका क्वारेन्टाईन स्थलहरुमा पूर्वाधार विना मानिसहरु राख्दा सक्रंमण बढाउने त्रास सिर्जना भएको भन्दै आधारभूत स्वास्थ्य सामाग्रीको समेत अभाव रहेको उल्लेख गरिएको छ । अधिकाशं क्वारेन्टाईनमा फोहोरमैला जम्मा भएको, सामुहिक चर्पी प्रयोग गर्ने गरेको, लामखुट्टेको विगविगी रहेको र सुरक्षा सामाग्रीको व्यवस्था नगरिएको लेखिएको छ ।
साथै विज्ञप्तीमा भारतबाट आउने मानिसहरुलाई लामो समय हिँडाएर एक्लै घर पठाईएको ,आवश्यक निगरानी नगरिएको र भोकभोकै हिँड्न विवश बनाईएको भन्दै काँग्रेसले गम्भीर आपत्ती प्रकट गर्दछ, भनिएको छ । साथै काँग्रेसले वामीबजारमा उपयुक्त जग्गा हुँदा हुँदै केही जनप्रतिनिधिहरुले व्यापारिक तथा आर्थिक स्वार्थका कारण नगरपालिकाको भवन असुरक्षित र अनुपयुक्त स्थानमा निर्माण गर्न लागिएको भन्दै अनुपयुक्त स्थानमा भवन निर्माण गरिए जनता सडकमा आउन बाध्य हुने विज्ञप्ती मार्फत बताएको छ ।
विपत्तीको घडीमा नागरिक माथि हुने अशोभनीय क्रियाकलाप काँग्रेसले हेरेर बस्न नसक्ने भन्दै अन्य पालिका र छिमेकका जिल्लाहरुमा समेत कोरोनाको सक्रंमण देखिएकाले नगरपालिकामा तत्काल पीसीआर परिक्षण सुरु गर्न, क्वारेन्टाईन व्यवस्थित गर्न आवश्यक स्वास्थ्य सामाग्रीको सबै वडामा पहुँच पुर्याउन, सीमामा अलपत्र परेका नागरिकको विना सर्त अविलम्ब उद्धार गर्न र क्वारेन्टाईन स्थलसम्म निशुल्क पुर्याउने व्यवस्थ ागर्न समेत काँग्रेसले विज्ञप्ती मार्फत माग गरेको छ ।