विपदको घडीमा समन्वय गर्न आग्रह गर्दै मुसिकोट ७ ले राजनैतिक दललाई काट्यो पत्र !

विपदको घडीमा समन्वय गर्न आग्रह गर्दै मुसिकोट ७ ले राजनैतिक दललाई काट्यो पत्र !

Badigad Online
2 Min Read

सागर भण्डारी, गुल्मी । मुसिकोट नगरपालिका वडा नं ७ वडा कार्यालयले क्वारेन्टाईन व्यवस्थापन तथा समन्वयका लागि स्वयंसेवक उपलब्ध गराईदिन मुसिकोटमा क्रियाशिल २ ठुला राजनैतिक दलहरुलाई पत्र काटेको छ ।

पछिल्लो समय भारतबाट वडा भित्र आउने नागरिकको संख्या बढ्दै जान थालेकाले क्वारेन्टाईन व्यवस्थापन, सुरक्षा र सक्रंमणको जोखिम नियन्त्रण र व्यवस्थापन गर्न जनशक्तिको अभाव भएको महसुस गरिएकाले यो विपदको घडीमा सबैको दायित्व हुन आउने कुरालाई मध्येनजर गरेर समन्वकारी भूमिका निर्वाह गर्न र स्वयंसेवक उपलब्ध गराईदिन आग्रह स्वरुप पत्र काटिएको वडाध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभएको छ ।

क्वारेन्टाईनमा बस्नेहरुको संख्या बढेसगैं क्वारेन्टाईनको व्यवस्थापन र रेखदेखको जिम्मेवारी पनि बढेको र यो दायित्व सबैको रहेकाले मुसिकोटमा क्रियाशिल २ मुख्य राजनैतिक दल नेपाल कम्यूनिष्ट पार्टी नेकपा र नेपाली काँग्रेसलाई स्वयंसेवकको रुपमा खटिन सक्ने कम्तिमा १०/१० गरी २० जना युवालाई सहभागी गराउन वडा कार्यालयले आग्रह गरेको छ । अहिलेको विषम परिस्थितिमा वडा कार्यालयले मात्रै सबै कार्य गरेर सम्भव नहुने र जनशक्तिको समेत अभाव रहेकाले राजनैतिक दलहरुले पनि समन्वयकारी भूमिका खेलि कोरोना भाईरस सक्रंमणको जोखिम व्यवस्थापन अभियानमा सहयोग गर्न पनि वडाध्यक्ष काफ्लेले आग्रह गर्नुभएको छ ।

भारतबाट आउनेक्रम जारी रहेको र अझै केही दिनमा धेरै नागरिकहरु वडा भित्र भित्रन सक्ने कुरालाई मध्येनजर गरेर उनीहरुको व्यवस्थापनमा जनशक्ति आवश्यकता महसुस गरी सहयोग गर्नका लागि राजनैतिक दलसगं अनुरोध गरिएको बताईएको छ । नगरभित्र क्रियाशिल युवा क्लव, आमा समुह, सघंसंस्था, अगुवा, समाजसेवी व्यक्तिहरुलाई पनि स्वेच्छाले स्वयंसेवीको रुपमा सेवा गर्न ईच्छुक व्यक्तिहरुले वडा कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ । साथै वडाध्यक्ष काफ्लेले यस कठिन परिस्थितिमा खटिने सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, शिक्षक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र समाजसेवी व्यक्तिहरुप्रति आभार व्यक्त गर्नुभएको छ ।

३० जना क्वारेन्टाईनमा : स्वास्थ्य परिक्षणको तैयारी

मुसिकोट नगरपालिका वडा नं ७ मा अहिलेसम्म भारतबाट आई क्वारेन्टाईनमा बस्नेहरुको सख्ंया ३० पुगेको छ । देशका विभिन्न नाकाबाट वडा कार्यालयले समन्वय गरी उनीहरुलाई ल्याईएको हो । वडा भित्र निर्माण गरिएका ६ वटा सामुदायिक विद्यालयमा निर्माण गरिएका क्वारेन्टाईनमा उनीहरुलाई राखिएको छ । क्वारेन्टाईनमा बसेकाहरुको कोरोना परिक्षणका लागि अहिले आरडिटी किट खरिद गर्ने प्रक्रियामा रहेको वडाध्यक्ष काफ्लेले जानकारी दिनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित