ढोरपाटनका मेयर नेपालीले बडिगाडका २ सय ४० परिवारलाई दिए खाद्यान्न सामाग्री !

ढोरपाटनका मेयर नेपालीले बडिगाडका २ सय ४० परिवारलाई दिए खाद्यान्न सामाग्री !

Badigad Online
3 Min Read

सुमन सुनार, बुर्तिबाङ । ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले बडिगाड गाउँपालिकालाई खाद्यान्न सामाग्री सहयोग गर्नुभएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित बनेका विपन्न परिवारलाई राहत सामाग्री वितरण गर्ने गरी गाउँपालिकालाई मेयर नेपालीले व्यक्तिगत खर्चमा खाद्यान्न सामाग्री वितरण गर्नुभएको हो ।

एक कार्यक्रमकाबीच ढोरपाटनका मेयर नेपालीले झण्डै २ सय ४० परिवारलाई पुग्ने गरी २ सय ४० बोरा जिरा स्टिम चामल, सोही परिमाणमा दाल, नुन र सोही परिमाणमै खानेतेल बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिहं पाईजालाई हस्तान्तरण गर्नुभएको हो । लकडाउनका कारण विपन्न परिवारहरु भोकै बस्न नपरोस भनेर आफुले पश्चिम बाग्लुङका ढोरपाटन नगरपालिका लगायतका अन्य पालिकाहरुमा खाद्यान्न सामाग्री वितरण गरेको मेयर नेपालीले बताउनुभयो ।

साथै उहाँले आफुले दिएको खाद्यान्न सामाग्री वास्तविक पीडितले पाउनेमा बडिगाड गाउँपालिका प्रति आफु विस्वस्त रहेको पनि बताउनुभएको थियो । खाद्यान्न सामाग्री ग्रहण गर्दै बडिगाड गाउँपालिकाका अध्यक्ष पाईजाले कोरोना भाईरसका कारण यतिबेला विश्वनै प्रभावित भैरहेको समयमा पश्चिम बाग्लुङका विपन्न परिवारलाई राहत वितरण गर्ने गरी नेपालीले गर्नुभएको यो कदम साँच्चिकै प्रशसंनीय रहेको बताउनुभएको थियो ।

साथै उहाँले बडिगाड गाउँपालिकामा पनि खाद्यान्न सामाग्री वितरण गरेकोमा धन्यवाद दिँदै उक्त सामाग्रीहरु गाउँपालिका भित्र रहेका लकडाउनका कारण प्रभावित दैनिक ज्यालामजदुरी गरेर जिवोकोपार्जन गरिरहेकाहरुलाई वितरण गर्ने पनि बताउनुभयो । उक्त राहत सामाग्री बडिगाड गाउँपालिका वडा नम्बर १ मा २९, वडा नम्बर २ मा २५, वडा नम्बर ३ मा २४, वडा नम्बर ४ मा २०, वडा नम्बर ५ मा २५, वडा नम्बर ६ मा २३, वडा नम्बर ७ मा २०, वडा नम्बर ८ मा २३, वडा नम्बर ९ मा २३, वडा नम्बर १० मा २८ घर परिवारलाई वितरण गरिनेछ ।

गाउँपालिका अध्यक्ष मेयरसिहं पाईजाको अध्यक्षतामा सम्पन्न खाद्यान्न वितरण कार्यक्रममा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अमर बहादुर श्रीस, ढोरपाटन नगरपालिकाका वडा नं १ का वडाध्यक्ष चित्र बहादुर भण्डारी, नेकपा बडिगाड गाउँकमिटी अध्यक्ष गुणानिधि घिमिरे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन दिनेश शर्माले गर्नुभएको थियो ।

स्मरण रहोस मेयर नेपालीले यस भन्दा अगाडी पनि आफ्नै व्यक्तिगत खर्चमा विपन्न परिवारमा राहत वितरण गर्नुभएको थियो । नेपालीले तमानखोलामा २ सय ३१ घर परिवार, ढोरपाटन नगरपालिकाका १ हजार भन्दा बढी परिवारलाई उहाँले आफ्नै व्यक्तिगत खर्चमा राहत वितरण गरिसक्नुभएको छ ।अब निसिखोला गाउँपालिकामा राहत वितरण गर्ने योजना रहेको मेयर नेपालीले बताउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित