सुरज कार्की,गुल्मी । मुसिकोट नगरपालिकाको कोराना विपद कोषमा चारतारे युवा क्लवले आर्थिक सहयोग गरेको छ । कोरोना भाईरस रोकथाम तथा व्यवस्थापन र अन्य कार्यक्रम सञ्चालन गर्न नगरपालिकाले सञ्चालन गरेको विपद कोषमा संस्थाको वामी शाखाले नगद रु २० हजार रुपैयाँ सहयोग गरेको हो ।
सो कोषमा सहयोग गर्न नगरपालिकाले सबैसगं आग्रह पनि गरेको छ । उक्त सहयोग रकम चारतारे युवा क्लव वामीशाखा कार्यक्रम प्रमुख यमुना बुढा मगरले मुसिकोट नगरपालिकाकी उपप्रमुख कमला शर्मा र प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारीलाई हस्तान्तरण गर्नुभएको हो । रकम ग्रहण गर्दै उपप्रमुख शर्माले समुदायमा केन्द्रीत सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्नुभएको थियो । साथै उहाँले यो विषम परिस्थितिमा सबैको साथ र सहयोगको आवश्यकता रहेको पनि बताउनुभयो ।
नगरपालिकाले कोरोना रोकथामका लागि गरेको प्रयासका लागि यस्ता सहयोगले काम गर्न अझै हौसला प्रदान गर्ने उहाँको धारणा थियो । चेक हस्तान्तरण गर्दै संस्थाकी प्रमुख बुढाले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोकथामका लागि नगरपालिकाले चालेका कदममा थोरै भएपनि सहयोग होस् भन्ने हेतुले सहयोग गरेको बताउनुभयो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा संस्थाका विशिष्ट सदस्य सुदर्शन शाक्य, संस्थाका प्रतिनिधि केदार कुँवर र मिना थापा, रेडियो पुष्पाञ्जलीका प्रतिनिधि सुरज कार्की लगायतको उपस्थिति रहेको थियो ।