सागर भण्डारी, गुल्मी । मुसिकोट नगरपालिकामा क्रियाशिल विभिन्न दलित सघं सगंठन र दलित अगुवाहरुले रुकुम पश्चिम चौरजहारीमा भएको घटनाका दोषीलाई हदैसम्मको कारबाहीको माग गरेका छन् । जातीय उन्मूलन दिवसको अवसर पारेर नगरपालिकामा क्रियाशिल विभिन्न १६ वटा दलित सघंसंस्थाहरुले आज संयुक्त विज्ञप्ती प्रकाशित गर्दै जातियताकै कारण क्रुर र अमानवीय तरिकाले लखेटी लखेटी सामुहिक रुपमा कुटपिट पछी हत्या गरी भेरी नदीमा फलिएको घटनाप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
विज्ञप्तीमा आजको युगमा जातियताको आधारमा दलितहरुको ज्यानै लिने गरी गरिएको यस बर्बरतापूर्ण घटनाको घोर भत्सर्ना एवं कडारुपमा विरोध गर्दै घटनाको सत्यतथ्य छानविन गरी घटनामा संलग्न अपराधीलाई हदै सम्मको कार्बाही गरी क्षतीपूर्ति दिलाउनका लागी सरकारसंग माग गरिएको छ । नेपालको सविंधान र मुलुकी अपराध ऐन २०७४ ज्यान सम्बन्धी कसुर र जातीय भेदभाव तथा छुवाछुत कसुर अन्तर्गत हदैसम्मको कारबाहीको माग गर्दै आजको २१ औं शताव्दीको युगमा न्याय, स्वतन्त्रता, समानता र मानव अधिकारको सुनिश्चितताबाट नै लोकतन्त्र मौलाउन सक्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । जातीयताको आधारमा मान्छेले मान्छेलाई गर्ने विभेद एवं अमानवीय व्यवहार कानुन विरुद्धको कार्य भएको बिज्ञप्तीमा लेखिएको छ ।
रुकुम पश्चिमको यस घटना राष्ट्रिय र अन्तराष्ट्रिय महासन्धी र अन्य कानुनको उपहास भएकाले यस घटनाले कानुनी राज्यमाथीनै प्रश्न चिन्ह खडा गरेको र मजबुद बन्दै गएको भनिएको लोकतान्त्रिक गणतन्त्र, सुशासन र न्यानमा समेत प्रश्न चिन्ह खडा गरेको विज्ञप्तीमा लेखिएको छ । त्यस्तै राज्यको कुनै पनि नागरिक स्वतन्त्र रुपमा बाँच्न र जीवन निर्वाह गर्न पाउनु उसको नैसर्गिक मानवीय अधिकार रहेकोले समाजमा शान्ति,सुव्यवस्था, सामाजिक सहिष्णुता, सदभाव र मानवअधिकारको गम्भीर उल्लघंन भएको बताईएको छ । साथै घटनालाई ढाकछोप गरी राजनैतिक उन्मुक्ति दिने खेल भएमा कडा आन्दोलनमा उत्रने र आन्दोलनबाट जातीय भेदभाव तथा छुवाछुत मुक्त राज्यले महगों मुल्य चुकाउनु पर्ने समेत विज्ञप्ती मार्फत चेतावनी दिईएको छ ।
यसैवीच मुसिकोटमा रहेका दलित सघंसंस्थाहरुले उक्त घटनाका दोषिलाई कानुनी कारवाहिको माग गर्दै मुसिकोट नगरपालिका मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र हस्तान्तरण गरेका छन् । उक्त ज्ञापनपत्र मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारी मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाईएको हो । मुसिकोट नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख सोमनाथ सापकोटाले आफुले तत्काल सम्बन्धित कार्यालयमा ज्ञापन पत्र पठाउने बताउँदै रुकुममा भएको जातिय रुपको घटनाले आफुलाई समेत दुखित बनाएको बताउनुभएको छ । उहाँले जातिय विभेदका घटना पछिल्लो समय बढ्दै जान थालेकाले यसको अन्त्यका लागि सबै तहतप्काका नागरिकहरु सचेत हुनुपर्ने बताउनुभयो ।
साथै उहाँले समाज परिवर्तन उन्मुख हुँदै गए पनि गाउँघरमै जातिय विभेदका घटनामा कमी हुन नसकेको प्रति दुख व्यक्त गर्नुभयो । मुसिकोटमा रहेका दलित समुदायका हकहीतका लागि नगरपालिकाबाट हुन सक्ने साथ र सहयोगका लागि नगर सधै तैयार रहेको पनि उहाँको धारणा थियो । ज्ञापनपत्र हस्तान्तरणपछी बोल्दै दलित साझा मञ्च गुल्मीका प्रतिनिधि गोविन्द विकले नेपालमा छुवाछुत मुक्त देश घोषणा गरिएको लामो समय वितिसक्दा समेत २१ औँ सताव्दीमा पनि सिँगो गाउँनै उठेर दलितमाथि जाई लागिएको वर्वरता पुर्वक घटनाले सिँगो दलित समुदायमाथि अपमान भएको भन्दै सत्यतथ्य पत्ता लगाई दोषिलाई कडा कारवाहिको माग सहित आफुहरुले सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो ।
साथै उहाँले श्रमका खानी दलितहरुमाथी बारम्बार विभेद हुँदै आएको भन्दै समयक्रम सगैं विभेदका घटनामा कमी हुनुका साथै झनै विभेदको शैलीनै परिवर्तन भएको बताउनुभयो । गत जेठ १० गते जाजरकोटका नवराज विक र पश्चिम रुकुमकी सुस्मा मल्ल विचको प्रेम सम्बन्धलाई लिएर जातिय अपमानकै कारण नवराज विक सहित उनका साथिहरुले ज्यान गुमाएको भन्दै पीडितले न्याय पाउनुपर्ने माग सहित सरकारलाई झकझकाउन आफुहरुले ज्ञापन पत्र बुझाएको नेपाल दलीत सँघ मुसिकोट सभापति दिनेश खातिले बताउनुभयो ।