जीवन पाण्डे,बाग्लुङ । बाग्लुङको बडिगाड गाउँपालिकामा आएका ६ जना क्वारेन्टाईनमा बस्न नमानेपछि पुन आएकै ठाउँमा फर्किएका छन् । अहिले पालिका बाहिर जहाँबाट आएपनि क्वारेन्टानमा अनिवार्य बस्नुपर्ने प्रावधान रहेको छ ।
गुल्मीको रिडिमा श्रमिकको काम गर्दै आईरहेका उनीहरुलाई गाउँपालिकामा आएपछि क्वारेन्टाईनमा बस्न आग्रह गर्दा आफुहरु क्वारेन्टाईनमा बस्नुभन्दा उतै फर्किएर जान्छौँ भनेर पुन : रिडिनै फर्किएर गएको बडिगाड गाउँपालिकाका स्वास्थ्य सहसंयोजक तथा सि.आइ.टि.टि संयोगक चुरामणी कंडेलले बताउनुभयो । रिडिबाट पैदल नै आउनुभएको रहेछ हामीले फर्केर नजानुस क्वारेन्टाईनमा बस्नु केही समय पछाडी घर जानुहोला भनेर धेरै आग्रह गर्दा पनि उहाँहरुले मान्नुभएन्, फर्किनुभयो, सयोंजक कडेंलले भन्नुभयो ।
बेलुकी करिब ७ बजेको समयमा उनीहरु पैदल हिँड्दै गर्दा गाउँपालिकामा कोरोना रोकथाम तथा व्यवस्थापनका लागि खटिएको अनुशासन टोलिले फेला पारेको थियो । राक्सेमा उनीहरु आउँदै गर्दा सोधपुछ गर्ने क्रममा बडिगाड गाउँपालिका वडा नं १० दर्लिङ जाने बताएको र उहाँ गएर क्वारेन्टाईनमा बस्न आग्रह गर्दा क्वारेन्टाईनमा नबस्ने बरु उतै गएर मजदुरी गर्ने भन्दै फर्किएको उहाँले जानकारी दिनुभयो ।रिडिबाट आउँदै गरेका तिलक बुढा, दिपक घर्तिमगर कृष्ण बुढामगर,विक्रम बुढामगर चन्द्र बुढा मगर,किशान बुढा मगर पुन रिडि नै फर्किएको उहाँले बताउनुभयो ।
बडिगाड गाउँपालिकाले लकडाउनको पालना गरे नगरेको विषयमा अनुगमन गर्न अनुशासन टोली बनाएको छ । जसमा हेम पुन,दिपक थापा,शेर बहादुर बुढा लगायतले जिम्मेवारी लिनुभएको छ । यसैबीच गाउँपालिकाले भारत लगायत देशका विभिन्न ठाउँबाट आउँदा अनिवार्य रुपमा गाउँपालिकालाई जानकारी गराएर मात्रै आउन पनि आग्रह गरेको छ । गाउँपालिकालाई जानकारी नै नगराई आउँदा जोखिम बढ्ने र उद्धारमा पनि कठिनाई हुने हुनाले गाउँपालिकामा र सम्बन्धित वडा कार्यालयमा जानकारी गराएर मात्र आउन आग्रह गरिएको बताईएको छ । साथै आफ्नो घर र छरछिमेकमा कोही विना जानकारी आएको भए र क्वारेन्टाईनमा नबसेको भए गाउँपालिकालाई जानकारी गराउन पनि गाउँपालिकाले आग्रह गरेको छ ।