जीवन पाण्डे । बडिगाड गाउँपालिकाको क्वारेन्टाईनमा बसेका १८ जनालाई बिहिवार घर पठाईएको छ । केही समय अगाडी भारतबाट आएर बडिगाड वडा नं २ स्थित त्रिभुवन माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बसेका उनीहरुलाई एक कार्यक्रमकाबीच फुलमाला सहित बिदाई गरिएको बडिगाड गाउँपालिका स्वास्थ्य सहसयोंजक तथा सीआईटीटी सयोंजक चुडामणी कडेंलले जानकारी दिनुभयो ।
क्वारेन्टाईनमा बसेको १४ दिनको बसाई अवधि पुरा गरेका उनीहरुको प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको पीसीआर परिक्षणमा नेगेटिभ नतिजा आएको थियो । त्यस्तै बिहिवार नै गाउँपालिकाले गरेको आरडिटी टेष्टमा पनि सबैको रिपोर्ट नगेटिभ आएपछि घर पठाईएको उहाँले बताउनुभयो । उनीहरुलाई केही समय अगाडी देशका विभिन्न नाकाहरुबाट गाउँपालिकाले उद्धार गरि क्वारेन्टाईनमा राखेको थियो । जसमध्ये वडा नं ७ का १६ जना र वडा नं ८ का २ जना रहेका छन् ।
पीसीआर परिक्षण गर्दा नेगेटिभ देखिएपनि फेरी एकपल्ट आज गाउँपालिकाले उनीहरुको आरडिटी टेष्ट गरेको थियो । घर पठाईएपनि केही दिन अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको र घरमै एकान्तबासमा बस्न आग्रह गरिएको गाउँपालिकाले जनाएको छ । भारतबाट आएर केही समय क्वारेन्टाईनमा बस्दा गाउँपालिकाले आफुहरु प्रति देखाएको माया र सदभावले आफुहरु निकै खुसी भएको उनीहरुले बताएका छन् ।