सागर भण्डारी,गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले नगरभित्र विभिन्न क्वारेन्टाइनमा बसेका २७ जनाको आरडिटी परिक्षण गरेको छ । भारतबाट आई क्वारेन्टाईनमा बसेको १४ दिनको बसाई अवधि पुरा गरेकाहरुको आरडिटी परिक्षण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिबी जिसीले जानकारी दिनुभएको छ ।
२७ जनाको आरडिटी परिक्षण गरिएकोमा ३ जनाको रिपोर्ट पोजेटिभ देखिएको उहाँले जानकारी दिनुभयो । जसमध्ये वडा नं २, ३ र ५ का रहेका छन् । आईतबार वडा नं १ मा २ जना, वडा नं २ का ४ जना, वडा नं ३ का २, वडा नं ४ का ५ जना, वडा नं ५ का ९ जना, वडा नं ६ का ३ जना, वडा नं ७ का २ जना गरी २७ जनाको आरडिटी परिक्षण गरिएको थियो ।
आईतबारको परिक्षणमा आरडिटी पोजेटिभ देखिएकाहरुलाई पीसीआर परिक्षणका लागि तैयारी थालिएको उहाँको भनाई छ । त्यस्तै शुक्रवार आरडिटी परिक्षण गरिएको एकजनाको स्वाव सकंलन गरी परिक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देही पठाईएको पनि प्रमुख जिसीले जानकारी दिनुभयो । अर्का आरडिटी पोजेटिभ देखिएका १ जना सगैं आईतबार पोजेटिभ देखिएकाहरुको स्वाव सकंलन सोमबार देखि गरिने बताईएको छ ।
त्यस्तै आज नगरपालिकाका ९ वटै वडाका विभिन्न क्वारेन्टाईनमा रहेका १ सय ३ जनाको आरडिटी गर्ने नगरपालिकाको तैयारी रहेको छ । २ सय ७० आरिडिटी किट नगरपालिकामा आएकोमा किट सकिन लागेकाले फेरी थप किट ल्याउनका लागि पहल थालिएको पनि प्रमुख जिसीले जानकारी दिनुभएको छ ।