बाग्लुङ । धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा उपचाररत चार जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ भने २ जनाको पोजेटिभ आएको छ । जेठ १४ गते कोरोना संक्रमण पुष्टि भएका बडिगाड गाउँपालिकाका १९ र २० बर्षिय पुरुष र तमानखोला गाउँपालिकाका दुई जना २७ बर्षिय पुरुषको दोस्रो पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको धौलागिरी अस्पताल बागलुङका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेलले बताउनुभयो ।
उनीहरुको स्वाब संकलन गरि परीक्षणको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा पठाइएको थियो । यस्तै सोहि दिन संक्रमण पुष्टि भएका तमानखोला गाउँपालिकाका २१ बर्षिय दुई जना पुरुषको रिपोर्ट पुनः पोजेटिभ आएको अस्पतालका मेसु डा. पोखरेलले बताउनुभयो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
बागलुङका २९ जना कोरोना संक्रमित मध्य धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा १७ जना रहेका छन्भने धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आइसोलेसन कक्षमा ९ जना र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको प्रि–आइसोलेसन कक्षमा १ जना रहेका छन् । दुई जना धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा उपचारपछि निको भएर घर फर्किसकेका छन् ।