सागर भण्डारी,गुल्मी । मुसिकोट नगरपालिकाले आरडिटी पोजेटिभ देखिएका २९ जनाको पीसीआर परिक्षणका लागि स्वाव सकंलन गरेको छ । यसअगाडी आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएका नगरपालिकाका ९ वटै वडाबाट उनीहरुको स्वाव सकंलन गरिएको नगरपालिकाका स्वास्थ्य सयोंजक डिबी जिसीले जानकारी दिनुभएको छ ।
अहिलेसम्म नगरपालिकाको विभिन्न क्वारेन्टाईनमा रहेकाहरुको आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएका ३० जना मध्ये १ जनाको यस अगाडी नै जिल्ला अस्पताल तम्घास पठाएर स्वाव सकंलन गरिएको र बाँकी रहेकाहरुको आज स्वाव सकंलन गरिएको उहाँले जानकारी दिनुभयो । यसअगाडी स्वाव सकंलनका लागि भिटिएम किटको अभावमा तम्घास पठाउनुपर्ने बाध्यता रहेपनि बुधवार नगरपालिकामा तम्घासबाट भिटिएम किट आएपछि स्वाव सकंलनको काम नगरपालिका भित्रै हुन थालेको हो ।
२९ वटा भिटिएम किट आएकोमा सबैको स्वाव सकंलन गरिएको र अब फेरी किट मगाएर अन्यको स्वाव सकंलन गरिने उहाँले बताउनुभयो ।सबैको स्वाव सकंलन गरी नगरपालिकाको सवारी मार्फत परिक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देही पठाईएको छ । यसैबीच नगरपालिकाले आज पनि विभिन्न वडामा आरडिटी परिक्षण गरेको छ । वडा नं १,२,३ र ४ मा गरिएको परिक्षणमा ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।