सागर भण्डारी,गुल्मी । मुसिकोट नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा बसेकाहरुलाई खाजा खुवाइएको छ । नगरपालिकाको वडा नं ६ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा बसेका १९ जनालाई बिहानको खाजा स्वरुप मासु सहितको खाजा वितरण गरिएको हो ।
भुवाचिदी स्थित भुवाचिदी आमा समुहले क्वारेन्टाईनमा बसेकाहरुलाई खाजा वितरण गरेको हो । आपतकालिन अवस्थामा सरकारमात्र नभई जनताको पनि आफ्नो जिम्मेवारी हुने भएकाले खाजा उपलब्ध गराएको समुहकी अध्यक्ष तिलका घिमिरेले बताउनुभयो । यस्तो अवस्थामा एक अर्काको आलोचना भन्दा पनि जनता र सरकार एक जुट भई बिपदको सामना गर्नु पर्ने उहाँको भनाई छ ।
क्वारेन्टाइनमा नास्ता उपलब्ध गराएकोमा क्वारेन्टाइनमा बसोबास गर्ने व्यक्तिहरुले आमा समुहलाई धन्यवाद व्यक्त गरेका छन् । उनीहरुले सरकारले क्वारेन्टाइनमा खाना तथा नास्ताहरु खुवाई रहेपनि आफ्नो दायित्व सम्झेर आमा समुहले आफुहरु माथि सहयोग गरेको बताए । खाजा खुवाए पश्चात उक्त क्वारेन्टाईनमा बसेकाहरुको नगरपालिकाकी उपप्रमुख कमला शर्माले अवलोकन गर्नुभएको थियो । साथै उहाँले सहयोगी आमा समुहप्रति धन्यवाद समेत व्यक्त गर्नुभयो ।
उक्त क्वारेन्टाईनमा बसेका ३९ जना मध्ये अन्य २० जना १४ दिनको बसाई अवधि पुरा गरी आरडिटी परिक्षणमा नेगेटिभ नतिजा आएपछि घर फर्किएका छन् । अझै पनि उक्त क्वारेन्टाईनमा भारत लगायत देशका विभिन्न स्थानबाट आउने क्रम जारी रहेको र क्वारेन्टाईनको बसाई अवधि पुरा गरेकाहरुलाई आरडिटी परिक्षणको नतिजा अनुसार घर पठाईने बताईएको छ ।