नगर सभाका सम्पूर्ण सदस्य ज्यूहरु
कर्मचारी तथा उपस्थित सम्पूर्ण महानुभावहरु,
१. कोरोना भाइरस (कोभिड १९ ) वाट सिर्जित विश्वव्यापी महामारीका कारण उत्पन्न असहज परिस्थितिका बीच आज म आर्थिक वर्ष २०७७।७८ को नीति तथा कार्यक्रम यस गरिमामय नगर सभा समक्ष प्रस्तुत गर्न गइ रहेको छु । यस अवसरमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनका निम्ति अमूल्य जीवन सहादत्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात विर सहिदहरुलाइ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । परिवर्तन, क्रान्ति, देश निर्माण, गणतन्त्र स्थापना गर्न विभिन्न क्षेत्रमा खट्नु हुने, राजनैतिक तथा सामाजिक परिवर्तनमा नेतृत्वदायि भुमिका निर्वाह गर्नुहुने सबै अग्रजहरु प्रति सम्मान प्रकट गर्दछु ।
२. कोभिड १९ का कारण विश्वभर संकट पैदा हुनुका साथै उल्लेख्य रुपमा जनधनको क्षति भएको छ। नेपालमा संक्रमण फैलन नदिन गरिएको बन्दाबन्दी बीचमा हाम्रो नगरपालिकामा संक्रमण देखा पर्न थालेको छ। यस महामारीका कारण अहिलेसम्म नगरपालिका भित्रकसैले ज्यान गुमाउनु परेको छैन र संक्रमण नियन्त्रण भित्रै रहेको छ । संक्रमण फैलिन नदिन बाहिरवाट आएका ब्याक्तिलाइ क्वारेन्टिन तथा आइसोलेसनमा राखि आवश्यक परिक्षणको ब्यबस्था मिलाइएको छ । यस विपदको वेलामा सवै पक्ष अत्यन्त संवेदनसील रही मानव सेवामा जुट्न हार्दिक अनुरोध गर्दछु ।
३. महामारी रोकथामका लागि अपनाइएको बन्दाबन्दी, भौतिक दुरी लगायतका उपायहरुको पालना गर्दै यसको रोकथाम र नियन्त्रणको अग्रमोर्चामा खट्नुहुने स्वास्थकर्मी, सुरक्षाकर्मी,जनप्रतिनिधि, शिक्षक ,राजनीतिक दल, पत्रकार, स्वंयमसेवी,क्लव, आमा समुह तथा व्यवस्थापन कायममा संलग्न सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। साथै यस महामारीबाट भयभित र त्रसित नभइ उच्च आत्मवलका साथ यस महामारी बिरुद्धको लडाईमा विजय प्राप्त गर्नआत्म विश्वासका साथ धैर्यतापूवक जुट्न सबैलाई आह्वान गर्दछु ।
४. नेपालको संविधान बमोजिम मुसिकोट नगरपालिका स्थापना भई संविधानले दिएका अधिकारहरुको व्यापक, समन्यात्मक र प्रतिफलयुक्त अभ्यास गर्दै मुसिकोट नगरपालिकालाई समृद्धीको बाटोमा अगाडी बढाउने दृढ संकल्पका साथ निर्वाचित हामी जनप्रतिनिधिहरुले काम गर्न लागेको तीन वर्ष पुरा भएको छ ।मुसिकोट नगरपालिकाको चौतर्फी विकासको बाटो खोली सम्पूर्ण नगरबासीहरुलाई संघियताले प्रदान गरेको अधिकारको महशुस गराउनुको साथै नगरपालिकालाई समृद्धिको बाटोमा डो¥याउनको लागि यस अवधिमा मुसिकोट नगरपालिकाले अगाडि सारेका नीति तथा कार्यक्रमहरु लागु गर्न सहयोग गर्नुहुने जनसमुदाय, सघं संस्था जनप्रतिनिधि साथीहरु, कर्मचारी, राजनैतिक कर्मी, शिक्षक, बृद्धिजिवी, व्यापारी, पत्रकार, सुरक्षाकर्मी सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु ।
नगर सभाका सम्पूर्ण सदस्य ज्यूहरु,
५. संघीयता नेपालकै सन्दर्भमा नौलो अभ्यास रहेको हुंदा केही समय यस नौलो ब्यवस्थाका अभ्यासहरुको सिकाइमा समय खर्च हुन गएतापनि जनताको घर आगनको सरकार हुनुको नाताले जनताका प्रत्यक्ष सरोकारका विषयमा सरकार लागि रहेको छ । जसले गर्दा स्थानीय नागरिकहरुले स्थानीय सरकारको अनुभुती गर्न सक्ने अवस्था श्रृजना भएको छ ।
६. खानेपानी तथा सरसफाई कार्यक्रमलाई नगरपालिकाको उच्च प्राथमिकताको रुपमा स्वीकार गर्दै दिगो खानेपानी अवधारणा अनुसार एक घर एक धारा नीति अनुरुप संचालित खानेपानी योजनाहरुको लागि बजेटको सुनिश्चिता गरि एकघर एक धारामा जाने सबै योजनाहरुलाई दिगो खानेपानी सञ्चालन कार्यविधि अनुसार संचालन गर्ने नीति अनुरुप जनताका प्रत्यक्ष अनुभुत गर्ने गरि खानेपानी योजनाहरु धमाधम संचालनमा रहेका छन ।
७. चालु आर्थिक वर्षमा मुसिकोट नगरपालिका खरका छाना मुक्त नगरपालिका बन्ने अन्तिम चरणमा रहेको छ । भने कृषि, यन्त्र, उपकरण, हाते ट्याक्टर, चापकटर, दुध दुहुने मेसिन, घाँस काट्ने मेसिन, मकै छोड्याउने मेसिन, पिस्ने कुट्ने मेसिन, खाल्डो खन्ने उपकरण जस्ता सबै यन्त्र, उपकरण, मेसिनमा कृषकलाई ५० प्रतिशत अनुदान दिई यान्त्रीकरण गर्ने नीतिलाइ थप शसक्त बनाइएको छ ।
८. न्याय सम्पादन तथा मेलमिलापलाई उच्च प्राथमिकतामा राखी प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन र मेलमिलापकर्तालाई तालिम दिइ न्यायलाई छिटो छरितो बनाउने कार्यमा नगरपालिका अग्रसर रहेको कुरा नगरवासीले अनुभूत गरेका छन ।
९. स्वारा होमस्टेलाई व्यवस्थित गरी व्यवसायिकीकरण गरिएको छ भने मालिका मन्दिर, मुसिकोट दरबार, सालिमे दहलाई संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटक प्रवध्र्दनमा सहयोग भएको छ ।मुसिकोट दरबार, मालिका मन्दिर, सालिमे दह, ढोडेनी बगर शहिद पार्क, स्मालि थान पार्कको विस्तृत परियोजना प्रतिवेदन(डि.पि.आर) तयार गरिएको छ ।
१०. चौविसै घण्टा संचालित वर्थिङ्ग सेन्टरहरुको लागि आधुनिक डेलिभरी टेवलको वितरण ,वर्थिङ्ग सेन्टरको लागि सोलार सिस्टम वितरण गरिएको छ । थामडाँडा सहरी स्वास्थ्य केन्द्र,पेगा सहरी स्वास्थ्य केन्द्र, वरदान शहरी स्वास्थ्य केन्द्र, वामीमैदान शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएका छन् । आँपचौर स्वास्थ्य चौकी र पौदी अमराइ स्वास्थ्य चौकीमा वर्थिङ्ग सेन्टरको सुविधा थप गरि स्वास्थ्य क्षेत्रमा केही महत्वपूर्ण उपलव्धी प्राप्त गर्न सफल भएका छौ ।
नगर सभाका सम्पूर्ण सदस्य ज्यूहरु,
११. अब म आर्थिक वर्ष २०७७।७८ को नीति तथा कार्यक्रम यस गरिमामय नगर सभा समक्ष प्रस्तुत गर्दछु ।
१२. नरपालिका क्षेत्र भित्र संचालन हुने यात्रुबाहक सवारी नियमित, व्यवस्थित गरिनुका साथै यात्रु भाडा दर दुरीको आधारमा सरोकारवालाहरुको सहयोगमा समाधान गरिने नीति लिईने छ ।प्रत्येक वडाका सडकहरु सवै मौसममा चल्न सक्ने बनाइनेछ ।
१३. खानेपानी तथा सरसफाई कार्यक्रमलाई नगरपालिकाको उच्च प्राथमिकताको रुपमा स्वीकार गर्दै दिगो खानेपानी अवधारणा अनुसार एक घर एक धारा नीति अनुरुप संचालित खानेपानी योजनाहरुको लागि बजेटको सुनिश्चिता गरिनेछ । साथै एकघर एक धारामा जाने सबै योजनाहरुलाई दिगो खानेपानी सञ्चालन कार्यविधि अनुसार संचालन गर्ने नीति लिईनेछ ।
१४. फोहोरमैला उत्सर्जन गर्न उत्पादन स्थलमा नै कुहिने र नकुहिने फोहर छुट्याउने र कुहिने फोहोरमैला मल बनाई करेसाबारी प्रयोग गर्ने गराउने बनाइनेछ भने नकुहिने फोहोर परिप्रयोगलाइ जोड दिइनेछ । बजार क्षेत्रमा फोहोरको राम्रो व्यवस्थापन गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने नीति लिइनेछ ।
१५. नगरपालिकाका वडा नं. १, २, ३ र ४ समेट्ने, वडा नं. ५, ६, ७, ८ र ९ समेट्ने गरी निर्माण हुने दुई वटा चक्र पथ, मुसिकोट दरबार, मालिका, शालिमे दह, ढोडेनी सहिद पार्क, ग्वादीका चौर खेल मैदान, स्मालीथान पार्क, थुम पिकनिक स्थल, भुकुवा चौरको प्राविधिक शिक्षालय, स्वाँरा होमस्टे, आँपचाौर नमूना बस्तीलाई मुसिकोट गौरबका योजनाका रुपमा अगाडी बढाईनेछ ।
१६. बस पार्क, वामीटक्सार पार्क, जेष्ठ नागरिक विश्राम तथा मनोरञ्जन पार्क, उद्योग ग्राम, फोहोर प्रशोधन केन्द्र, प्रत्येक वडामा (बगैचा, पोखरी, प्रतिक्षालय, पैदल मार्ग भएको) कम्तिमा एउटा स्मार्ट मनोरञ्जन पार्क निर्माण गरिनेछ ।
१७. नगरपालिका भरि ४० प्रतिशत जनसहभागिता जुटाई सिंचाई गर्नका लागि कुलोहरु निर्माण, मर्मत तथा व्यवस्थापन गर्ने काम तिव्रताका साथ अगाडी बढाईने छ । सिंचाईका लागि प्रयोग हुने जलाधार क्षेत्र, मुहान, खोल्सीहरुमा पानी रिजर्वका लागि अपनाईने संरक्षण पद्धती लागु गराईने छ ।छोटो दुरीमा हुन सक्ने अवस्थामा लिफ्ट सिंचाई गराई सिंचित क्षेत्र विस्तार गरिने छ । खानेपानी तथा लिफ्ट सिंचाईमा प्रयोग हुने मोटर, पाईप र वाईरिङ्गको महशुलमा संघीय सरकारले दिने अनुदान छुटलाइ उपलब्ध गराइन सहजीकरण गरिनेछ ।
१८. नगरपालिकाको सबै बस्तीमा राष्ट्रिय प्रशारण लाईनको विस्तार गरिने छ । नगरपालिका भित्र रहेका सम्पूर्ण साना तथा लघु जलविद्युत आयोजनाहरुलाई एकीकृत गर्दै ग्रीडिङ, विद्युत प्राधिकरण सँग समन्वय गरी विक्रीको सुनिश्चित गर्ने काम अगाडी बढाईने छ । सम्पूर्ण काठका पोल विस्थापन गरिनेछ । सामुदायिक विद्युतीकरणको प्रणाली सुधारका लागि ९० प्रतिशत र १० प्रतिशत साझेदारीमा काम गरिनेछ ।
१९. भु–उपयोग नीति अवलम्बन गरी कृषि क्षेत्र, बन क्षेत्र, आवासिय क्षेत्र, व्यवासायिक क्षेत्र, औद्योगिक क्षेत्र, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र, सार्वजनिक तथा खुल्ला क्षेत्र, निर्माण समाग्री उत्खन्न क्षेत्र, खानी तथा खनिज क्षेत्र आदि पहिचान गरी संरक्षण, उपयोग र व्यवस्थापन गरिनेछ ।नगरपालिका भित्र भूमि बैङ्क स्थापना गरिनेछ । कृषि, उद्योग गर्न चाहाने व्यवसायिलाई उक्त भूमि बैङ्कमा प्राप्त जग्गा सुलभ तरिकाले उपलब्ध गराउने नीति लिईनेछ ।
२०. कृषि, स्थानीय कच्चा पदार्थमा आधारित साना तथा घरेलु उद्योग, पर्यटन प्रवद्र्धन सँग जोडिएको व्यवसाय, हस्तकला उद्योगलाई लगानीको अभाव हुन नदिन व्यवसाय ऋणको व्याजमा ५० प्रतिशत अनुदान दिने व्यवस्था मिलाईने छ । कृषि, यन्त्र, उपकरण, हाते ट्याक्टर, चापकटर, दुध दुहुने मेसिन, घाँस काट्ने मेसिन, मकै छोड्याउने मेसिन, पिस्ने कुट्ने मेसिन, खाल्डो खन्ने उपकरण जस्ता सबै यन्त्र, उपकरण, मेसिनमा कृषकलाई ५० प्रतिशत अनुदान दिई यान्त्रीकरण गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
२१. बेमौसमी तरकारी खेती उत्पादनका लागि टनेल प्लाष्टिकमा ९० प्रतिशत अनुदान दिईने नीतिलाई निरन्तरता दिइएको छ । प्लाष्टिक पोखरी निर्माणका लागि प्लाष्टिकमा दिईने ८० प्रतिशत अनुदानलाई निरन्तरता दिईएको छ । उद्यमी महिला समूहलाई विउ पुँजी र प्रस्तावमा आधारित अनुदान रकम उपलब्ध गराउने कामलाई निरन्तरता दिइनेछ ।
२२. कफिलाई नगरपालिकाको मुख्य बालिको रुपमा विकास गर्ने निति लिएको छ । कफिको जननी मुसिकोट नगरपालिकालाई राष्ट्रिय पहिचान दिन कफि लागाऔँ आम्दानी बढाऔँ कार्यक्रम संचालन गर्दै कफि बगैचाहरु निर्माण गर्ने नितिलाई निरन्तरता दिइनेछ ।
नगर सभाका सम्पूर्ण सदस्य ज्यूहरु,
२३. “मानव क्षमताको आधारः शिक्षा” पूर्वाधार भन्ने शिक्षाको राष्ट्रिय नीतिअनुरुप मुसिकोट नगरपालिकाको शैक्षिक व्यवस्थापनलाई व्यवस्थित गरिनेछ ।विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका सबै विद्यार्थीहरुलाई विद्यालयमा भर्ना गरिने अभियानलाई निरन्तरता दिइनेछ । विद्यालयमा सफ्टवेयर प्रणाली, विद्यालय डिजिटलाइजेशन, भर्चअल कक्षा सञ्चालन जस्ता क्रियाकलाप सञ्चालन गरीनेछ ।विद्यालयहरुकोे रङ्गरोगनमा एकरुपता ल्याईनेछ ।
२४. बालशिक्षा सहयोगी कार्यकर्ता , बिद्यालयका सहायक कर्मचारी तथा लेखाकर्मचारीले खाइपाइ आएको तलवमान बृद्धि गर्नेगरी बजेटको ब्यवस्था मिलाइएको छ ।
२५. नेपाल संघिय संरचनामा प्रवेश गरीसकेको अवस्थामा स्वास्थ्य सेवालाई गुणस्तरीय तथा सवैको पहुचमा पुर्याउनु स्थानीय सरकारको मुख्य दायित्व हो । तसर्थ मुसिकोट नगरपालिकाले नगर भित्र गुणस्तरीय स्वास्थ्य सेवामा सवै नागरिकहरुको पहुँचमापुर्याउने निती लिईने छ ।नगरपालिकाले यस क्षेत्रका महिला, बालबालिका, जेष्ठ नागरिक, दलित, सिमान्तकृत, अपाङ्ग सबैलाई आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूति गराई सवै लिङ्ग, क्षेत्र, आर्थिक रुपले विपन्न,शारीरिक अशक्तलाई स्वास्थ्य सेवामा प्राथामिकता दिइने छ
२६. समुदायमा आधारभूत स्वास्थ्य सेवालाई सुदृढ गर्नको लागि महिला स्वास्थ्य स्वयम् सेविका प्रोत्साहन कार्यक्रमलाई निरन्तरता प्रदान गरिएको छ । नगरपालिका भित्रको स्वास्थ्य संस्थामा कम्तीमा एक जना ःMBBS डाक्टरको व्यवस्था गरिनेछ ।
२७. सर्वसाधारणलाई नविनतम कानुनी अवधारणा प्रदान गर्नको लागि प्रत्येक वडामा कानुनी सारक्षता कार्यक्रम संचालन गरिनेछ ।प्रत्येक वडामा मेलमिलाप केन्द्र मार्फत सानातिना विवादको समाधान गरिनेछ ।
२८. पुराना कला साहित्य र संस्कृतीलाई संरक्षण र सम्बद्र्धन गर्न बिशेष सांस्कृतिक महोत्सव तथा मेलाहरुको आयोजना तथा प्रवद्र्धन कार्यलाई निरन्तरता दिइनेछ ।ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतीक, भेषभुषा, उत्पादनमा प्रयोग हुने समाग्रीहरु आदि झल्किने गरी विस्तृत बस्तुचित्र सहितको नगरस्तरीय संग्रलाय स्थापना गरिनेछ । विभिन्न जात जातिहरु सँग सम्बन्धित रितिरिवाज तथा परम्परा बमोजिमका लोक गित, झ्याउरे गित, भजन, घाटु, संराय, भैलो, नौमति बाजा, कौरा, सोरठी, घ्याम्पे नाँच, लाखे, जात्रा आदिको संरक्षण तथा प्रवद्र्धन गरिनेछ ।
२९. ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जटिलतालाई ध्यानमा राखी क्रमशः स्वास्थ्य विमा र स्वास्थ्य शिविर कार्यक्रम संचालन गरिनेछ तथा ८४ वर्ष पुरा भएका जेष्ठ नागरिकहरुलाई घरमै गई आधारभूत स्वास्थ्य उपचार उपलब्ध गराइनेछ । समाजमा जेष्ठ नागरिकहरुलाई सम्मानपूर्वक जिउने बातावरण सिर्जना गरिनेछ ।जेष्ठ नागरिक विश्राम, मनोरञ्जन तथा योगाभ्यास पार्क निर्माण गरिनेछ ।
३० दलित समुदायमा रहेको परम्परागत व्यवसाय तथा सिपलाई समयानुकुल आधुनिकीकरण यान्त्रीकरण र व्यवसायमुखि वनाउन क्षमता अभिवृद्धी, शिक्षा, तालिम र अन्य सहयोग उपलव्ध गराईने छ । समाजमा कला कौशलको धनी दलित समुदायको परम्परागत सिपलाई आधुनिकिकरण गर्दै उद्योगको रुपमा विकास गरिने नीति अवलम्बन गरिनेछ ।
३१. उमेर पुगेको शिक्षाबाट वञ्चित एव. पँहुच पुग्न नसकेको सम्पूर्ण बालबालिकाहरुलाई शिक्षाको मुल धारमा ल्याइनेछ ।बालश्रम शोषण, बालविबाह बालहिंसा एवं बाल दुव्यवहार न्युनिकरण गर्न यस सम्बन्धी कानुनहरुलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न पहल गरिनेछ ।गैरसरकारी संस्थाहरुको समेत सहकार्यमा बालमैत्री टोल, वडा हुदै बालमैत्री नगर स्थापना गर्न आवश्यक पहल गरिनेछ ।
३२. नगरपालिकाको टोल, वडास्तरमा महिला समूह, समिति र सहकारी संस्था स्थापना गरी महिलाहरुको सशक्तिकरण तथा आयआर्जनमा बृद्धि गरिनेछ ।लैंगिक हिँसा, घरेलु हिंसा सम्बन्धि जनचेतनामुलक कार्यक्रम संचालन गरी हिंसा विरुद्धको कानुनलाई कडाइका साथ कार्यान्वयनमा जोड दिइनेछ । महिलाको क्षमता अभिवृद्धिका लागि सिपमुलक, चेतनामुलक कार्यक्रम संचालन गरिनेछ ।
३३. आदिवासी जनजातिहरुको भाषा संस्कृती र भेषभुषा सम्बन्धि सशक्तिकरण कार्यक्रम संचालन गरिनेछ ।आदिवासी जनजातिसँग सम्बन्धित पुरातात्विक बस्तु संग्रहालयलाई थप व्यवस्थित गर्दै लगिनेछ ।आदिवासी जनजातिहरुको नमुना बस्ती विकास, भाषालिपी, भेषभुषा संरक्षण गर्नको लागि अध्ययन गरिनेछ ।
३४. यस नगरपालिका भित्र हरेक भौतिक पूर्वाधार निर्माण गर्दा अपाङ्गता मैत्री बनाउने नीति लिइनेछ ।नगरपालिका भित्रका फरक क्षमता भएका व्यक्तिहरुको क्षमता विकासका लागि कार्यक्रम बनाई लागु गरिनेछ ।अपाङ्गता भएका व्यक्तिहरुको सहज जीवनयापनका लािग आवश्यकताका आधारमा सिपमुलक तालिम तथा सशक्तिकरण गर्ने नीति लिनइनेछ ।अपाङ्गले संचालन गर्ने व्यवसायलाई अनुदान दिने सुलभ ऋणको लागि सिफारिस गरिनेछ ।
३५. नगरपालिका भित्र रहेका सबै पर्यटकीय स्थलहरुको पहिचान, संरक्षण तथा निर्माण कार्यलाई प्राथमिकता दिइनेछ ।पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्नको लागि पर्यटन सँग सम्बन्धित सूचना, संचार तथा प्रचारप्रसार गरिनेछ ।मुसिकोट दरबार, सालिमे दह, मालिका मन्दिर, छत्रभूमी, शहिद पार्क, शिद्धेश्वर गुफा, थुम पार्क, स्मालीथान पार्क, हिले, मठमन्दिर, वडा स्तरीय स्मार्ट मनोरञ्जन पार्क, जेष्ठ नागरिक पार्क, कृषि पकेट क्षेत्र, होमस्टे आदिको निर्माण र संरक्षण गर्दै पर्यटकीय सर्किट निर्माण गर्दै अगाडी बढिनेछ ।
३६. नगरपालिकाबाट गरिने सम्पूर्ण क्रियाकलापहरु जस्तै जनहितका लागि सन्देश, प्रगती विवरण, बुलेटिन, नीति तथा कार्यक्रम, नगर कार्यपालिका, नगर सभाबाट गरिने निर्णय, नगरपालिकाद्वारा प्रशारित कार्यक्रमहरु, स्थानीय सामुदायिक रेडियो तथा सञ्चारकर्मीहरु सँग समन्वय गर्दै सूचना प्रवाह छिटो छरितो पारदर्शिरुपमा गरिनेछ ।स्थानीय स्तरमा संचालित सूचना तथा संचारका माध्यम रेडियो, पत्रिका, अनलाईन पत्रिकालाई प्रोत्साहन गर्ने नीति लिइनेछ ।
३७. नगरपालिका क्षेत्रका विकास तथा समृद्धिको लागि उद्योग तथा रोजगारी मुख्य मेरुदण्ड भएको कुरालाई आत्मसात गर्दै दक्ष जनशक्तिको निर्माण र रोजगारीको सिर्जन गर्ने कुरालाई नगरपालिकाकाले मुख्य आधारको रुपमा लिनेछ ।श्रमको सम्मान नै समृद्धिको आधार हो भन्ने कुरालाई मुसिकोट नगरपालिका क्षेत्र भित्रका युवाहरु माझ स्थापित गरी युवाहरुलाई परिश्रम प्रति सम्मान गर्ने नीति लिइनेछ ।आर्थिक हिसाबले सक्रिय जनसंख्यालाई उत्पादनमा जोड्नको लागि मुसिकोट नगरपालिकाका प्रत्येक वडामा “एक वडा एक पहिचान” कार्यक्रम क्रमशः लागु गरिनेछ ।
३८ स्थानियस्तरमा प्राप्त हुने श्रोत साधनहरुमा आधारित भएर स्थापना तथा संचालन हुने उद्योगहरु जस्तै, बाँसको मुढा निर्माण, खाद्यन्न प्रशोधन, विउ उत्पादन तथा प्रशोधन, जडिबुटी प्रशोधन, खानेपानी प्रशोधन तथा उत्पादन लगायतका उद्योगहरुको लागि विशेष महत्व दिइनेछ ।
३९. उद्योगहरुको स्थापना र संचालनको लागि वित्तिय पुँजीको लागि बैँङ्क मार्फत आवश्यक ऋणको व्यवस्था गरिनेछ । नगरपािलका भित्र संचालित बैङ्कहरुले आफुले प्रवाह गर्ने कर्जाको निश्चित प्रतिशत रकम औद्योगिक ऋणको रुपमा प्रवाह गर्ने व्यवस्था मिलाउन आवश्यक पहल गरिनेछ ।
४०. बैदेशिक रोजगारमा गएका युवाहरुलाई फर्किने बातावरण तयार गर्न कृषि, पर्यटन, उद्योग व्यापार, जडीबुटी खेती, पशुपालन र उर्जा उत्पादनको कार्यमा ठुलो लगानीको बातावरण तयारी गरी स्वदेशमै रोजगारीको सिर्जना गर्ने नीति लागु गरिनेछ ।
४१. कोभिड १९ को महामारीले नेपालको अर्थतन्त्रमा पार्न सक्ने क्षतीलाई न्यूनीकरण गर्न अव सवै उत्पादनका कार्यमा लाग्नुपर्ने जरुरी देखिएको छ । बैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाइ लक्षित गरि बढिमा २ लाख सम्मको लागि विना धितो सुलभ कर्जा प्रवाह गरी युवाहरुलाइ स्वदेशमा स्वरोजगारकालागि प्रेरित गर्न जन्मभुमि बनाउ कर्मभुमी कार्यक्रम संचालन गरिनेछ । साथै उद्यमका लागि तयार रहेका युवाहरुलाइ धितो सहितको प्रस्तावका आधारमा बढिमा २० लाख सम्म सुलभ कर्जा प्रवाह गरिनेछ ।
नगर सभाका सम्पूर्ण सदस्य ज्यूहरु,
४२. वातावरण संरक्षणमा कृयाशिल सामाजिक व्यक्तित्व, संस्था वा समुहको श्रम सहयोगमा वृक्षारोपण, वन नर्सरी, पदमार्ग, पोखरी तथा चौतारी निर्माण तथा भु–संरक्षणका लागी विशेष व्यवस्था गरीने छ ।वन जंगल, जलाधार क्षेत्रको उचित संरक्षण गर्न अतिक्रमण अवैध निकासी पैठारी नियन्त्रणका कार्यक्रम संञ्चालन गरिनेछ ।सार्वजनिक महत्वका पोखरी निर्माण र संरक्षण,नदि–खोला तटबन्ध र भल व्यवस्थापन,बाटीका निर्माण र भू–संरक्षण,चौपारी निर्माण र बृक्षारोपण गर्ने समुदाय,संस्था,समूह(व्यक्ति समेत) लाई आवश्यक निर्माण सामाग्री दक्ष मिस्त्री तथा प्राविधिकको सेवा उपलब्ध गराई वातावण संरक्षण तथा स्वच्छ वातावरण निर्माणमा साझेदारी मार्फत व्यापक सहयोग दिने नीति अवलम्बन गरिनेछ ।
४३. चारैतिर सदाबहार खोलानाला र नदीहरु प्रवाहित मुसिकोट नगरपालिकामा प्रसस्तै मात्रामा जल सम्पदा रहेकोले नगरको समृद्धिका लागि हामीसँग भएको जल सम्पदाको अधिक उपयोग गर्दै जलविद्युत, पर्यटन तथा पर्यावरणीय विकास र ठुला सिँचाई परियोजन निर्माणका लागि आवस्यक योजना निर्माण गरि कायाँन्वयनमा लगिनेछ ।
४४. नदीकिनाराका कुमाल वस्ती, लेक–बेसी क्षेत्रका मगर बस्ती, गुरुङ्ग, वस्ती, स्थानीयबजारक्षेत्रकानेवार वस्ती र यत्रतत्र रहेका ब्राहमण, क्षेत्री, ठकुरी, दशनामी, समुदायगन्धर्वहरु र तामाङ्गजाति समेतको मिश्रित जनसंख्या, तीनका विभिन्न थरे उपजातीले सिंगारिएको मुसिकोट नगरपालिकाभित्रतत् तत् जातीका चाडपर्व रिती रिवाज, भेषभुसा र साँस्कृतिकचालचलन संरक्षित छन् । मारुनी, सोरठी, धाटु, झाम्रे, लाखे, दोहरी, भजन, र्कीतन चुड्का र सरायँ सहितकाविविधनाचगानले रङ्गीनहाम्रो समाज साँस्कृतिक सम्पदाले पनि धनी छ । सालिमे आश्रम, छत्रभुमी, देउराली, मालिका, इष्टमाली थान, अकला देवीमुसिकोट २,थुम देउराली, पँधेरा शिवालय, राधाकृष्ण मन्दिर, ब्रहमकुमारी आश्रम र सिद्धेश्वरी–कोटेश्वरी गुफा जस्ता यहाँका स्थानीयतिर्थस्थलहरुलाई लक्षित गर्दै र विविधधर्माबलम्बीका मठ–मन्दिर, गुम्बा, मण्डली, मस्जितमार्फत हुने पुजा–प्रार्थना र रहन सहनलाई एकताबद्ध बनाई सांस्कृतिकविकासका निम्ति विविधक्रियाकलाप अगाडी बढाउने नीति अवलम्वन गरिनेछ ।
४५. नगर स्तरीय विपद् व्यवस्थापन सम्बन्धी आकस्मिक राहत कोष खडा गरिने छ र उद्धार कार्यको लागि राहत सामाग्री र जनशक्ति सम्बन्धि आवश्यक निति तर्जुमा गरिनेछ ।नगरपालिका स्तरीय विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना बनाई कार्यान्वयन गरिनेछ ।
४६. कोभिड १९ को महामारी संध जुध्ने स्वास्थ्यकर्मी तथा कर्मचारीको मनोवल बृद्धि गर्न संधीय सरकारले ताकेको मापदण्ड भित्र रही स्वास्थ्यकर्मी तथा कर्मचारीलाइ प्रोत्साहन भत्ताको ब्यवस्था गरिनेछ ।
४७ मुसिकोट नगरपालिकामा कार्यरत करार तथा अस्थायी कर्मचारीको तह कायम गरि तह अनुसारको तलव भत्ताको ब्यवस्था गरिनेछ ।
४८. राष्ट्रसेवक कर्मचारीहरुको मनोवल उच्च राख्नको लागि कार्यसंम्पादनमा आधारीत प्रोत्साहन भत्ता आवास भत्ता, फिल्ड भत्ता, ईन्धन र सञ्चार तथा कार्यालय समयमा खाजाको व्यबस्था गरिनेछ ।
४९. प्रदेश सरकारले निर्धारण गरेको कानून बमोजिम जनप्रतिनिधिहरुलाई तोकेको सेवा सुविधाहरुको लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
५०. जनसभागितालाई उत्साह पूर्वक जुटाउन टोलटोलमा निर्माण प्रकृया, सरसफाई, वित्तिय अनुसाशन, बातावरण प्रवद्र्धन, बालबालिका, महिला, जेष्ठ नागरिक अपाङ्ग सुरक्षा, सुशासन, विकास निर्माणका जनताको पँहुच वस्ती विकास आदिलाई मध्यनजर गरी टोल विकास संस्था गठन प्रकृया तिव्रताका साथ अगाडी बढाइनेछ ।
५१. नगरपालिकामा एक श्रम बैंक स्थापना गरिनेछ । श्रम बैंकमा श्रमका लागि इच्छुक युवा युवतीहरुलाई सुचिकृत गरि आवस्यक तालिम प्रदान गरिनेछ । नगरपालिकाबाट संचालित आयोजनामा तोकिएको प्रतिशत कार्य श्रम बैकका श्रमिकहरुबाट गराउनु पर्ने ब्यवस्था मिलाइनेछ ।
५२. जतालाई दिने सेवा छिटो छरितो र योजनाबद्ध ढंगले सम्पन्न गर्नका लागि एउटा “योजना कार्यान्वयन तथा खरिद परामर्श समिति” गठन गरिनेछ, जसले गर्दा आगमी आर्थिक वर्षमा जेष्ठ मसान्त भित्र काम सम्पन्न भई आषाढ पहिलो हप्तामा नै भुक्तानी भैसक्ने छ । योजना अनुसार खरिद गर्नुपर्ने सामाग्री, मेसिन, औजार, फर्निचर आदि समयमै थप पारदर्शी ढंगले सम्पन्न हुने छ ।सार्वजनिक सुनुवाईलाई निरन्तरता दिईने छ ।
अन्त्यमा,
सभामा उपस्थित सभा सदस्य ज्यूहरु, सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरु, पत्रकार मित्रहरु, राजनीतिक दलका प्रतिनिधि मित्रहरु, बुद्धिजीवि वर्ग लगायत उपस्थित महानुभाव तथा सम्पूर्ण आम जनसमुदायहरुमा यो नीति तथा कार्यक्रम कार्यन्वयनमा समन्वय, सहयोग, सक्रिय र सार्थक सहभागिताको अपेक्षा सहित हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
नमस्कार ।।।