समुदायमा कोरोना फैलिएपछि बाग्लुङको काठेखोला गाउँपालिका सिल !

समुदायमा कोरोना फैलिएपछि बाग्लुङको काठेखोला गाउँपालिका सिल !

Badigad Online
2 Min Read

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि गाउँपालिकालाई एक हप्ताको लागि सिल गरिएको छ । बिहुँ–६ अमर मावि क्वारेन्टाइनमा रहेकाहरुलाई खाना खुवाउने तथा सुरक्षकर्मीलाई कोरोना पुष्टि भएपछि कार्यपालिकाको आकस्मिक बैठकले एक हप्ताको लागि सिल गर्ने निर्णय गरेको हो । आज राति १२ बजेदेखि असार २० गते राति १२ बजेसम्म सिल गर्ने गरिएको छ ।

बैठकले दुध, एम्बुलेन्स, सुरक्षाकर्मी तथा निर्माणको सवारी बाहेक अन्य सवारी संचालनमा रोक लगाउनका साथै मध्य पहाडी लोकमार्ग निर्माण कार्यमा प्रयोग हुने सवारीलाई सिधा सिधा संचालन मात्रा गर्न दिने, विचविचमा रोक्न नपाउने निर्णय गरेको नायव सुब्बा मनोज कार्कीले जानकारी दिए ।

तत्कालको लागि टोल–टोलमा संचालन भएको शैक्षिक गतिविधि, होटल, पसल पूर्णरुपमा बन्द गर्ने, निर्णय गरेको छ । जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा सुरक्षकर्मी बाहेक अन्यलाई हिड्डुलमा समेत बन्देज लगाउने निर्णय भएको छ । बैठकको निर्णय कार्यान्वयनको लागि जिल्ला प्रशासन र प्रहरीसँग समन्वय गर्ने बताइएको छ ।

क्वारेन्टाइन व्यवस्थापनको लागि प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा राजनीतिक दल, सुरक्षाकर्मी, वडा सदस्य, सम्बन्धी विद्यालयका प्रधानध्यापक सदस्य सचिव रहने गरी समिति गठन गरिएको छ । अमर मावि क्वारेन्टाइनमा खाना व्यवस्थापनको लागि बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रका अध्यक्ष कृष्ण प्रसाद कँडेललाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।

समुदाय स्तरमा कोरोना फैलिए पछि उनीहरुको सम्पर्कमा आएका व्यक्तिको खोजी तथा स्वासथ्य परीक्षणको लागि गाउँपालिकाका टिपिआइ समूहलाई जिम्मेवारी दिने निर्णय भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकको भनाई छ । काठेखोला गाउँपालिकामा हालसम्म २६ जनामा कोरोना पोजेटिभ देखिएको छ । ती मध्य तीन जना नेपालमा रहेका व्यक्ति हुन भने अन्य भारतदेखि आएका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित