गुल्मी । रुपन्देही हुँदै पाल्पासम्म आएको सलह कीरा गुल्मीमा पनि देखिएको छ । जिल्लाको मुसिकोट नगरपालिका सहित सत्यवती, चन्द्रकोट, छत्रकोट, दरवार, रुरुक्षेत्र लगायतका क्षेत्रमा सलहको झुन्ड देखा परेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । हिँजो कालीगण्डकी गाउँपालिका वडा नं १ देखि वडा नं २ अर्बेनी तर्फ प्रबेश गरेको र चन्द्रकोट गाउँपालिकाको वडा नं ४,६ ,७, ८ नं वडाको माथि आकाशमा सलह कीरा देखिएको थियो ।
आज मुसिकोट नगरपालिका हुँदै सलहको झुण्ड बाग्लुङ तर्फ प्रवेश गरेको छ । बाग्लुङका बडिगाड, ढोरपाटन लगायतका क्षेत्रको आकाशमा पनि सलह किरा देखिएको बताईएको छ । अहिले माथि आकाशमा देखिएको र कहिँ कतै खेतीबाली र बोटबिरुवामा नबसेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिनुभयो । सलह कीरालाई बोटबिरुवा र बालीहरुमा बस्न नदिनका लागि थालहरु ठटाउने र धुवाबाल्ने जस्ता कार्यहरु गर्न घिमिरेले आग्रह गर्नुभएको छ ।
उहाँले सलह कीराको बथानै नभई केही झुण्ड तितर बितर भएकाले माहामारीको रुप लिन नसक्ने बताउनुभयो । आकाशमा सलह किरा देखिएपछि वामी लगायत, कुर्घा, वडागाउँ, पौँदीअमराई क्षेत्रका स्थानीयहरु थाल ठटाएर बसेका थिए । गुल्मीका कृषकहरु खेतबारीमा लगाएको खेती नष्ट गरिदिने हो की भन्ने चिन्तामा रहेका छन ।