तिलाचन पाण्डे, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं १ का ५२ बर्षिय एक पुरुष जेठ ११ गते भारतबाट आई शारदा माध्यमिक बिद्यालयको क्वारेन्टाइनमा बसेका थिए ।क्वारेन्टाइनमा बसेका उनको आरडिटी परीक्षण गर्दा पोजेटिभ आयो र उनको स्वाब संकलन गरि परीक्षणका लागि पठाइयो तर उनको रिपोर्ट नआउँदै उनलाई असार १५ गते परीक्षण रिपोर्ट नेगेटिभ आयो भनेर घर पठाइयो । उनी घरमा गई घरपरिवार र छिमेकीहरुसंग घुलमिल भएको स्थानीयहरुले बताउँदै आएका छन् ।
घरमा गएको २ दिन पश्चात अर्थात असार १७ गते उनी लगायत चन्द्रकोट गाउँपालिकाका तीन जनाको पिसिआर रिर्पोट पोजेटिभ आएको छ । जेठ ३१ गते लिएको स्वावको रिपोर्ट १८ दिनमा आएको छ । उनको स्वाब जेठ ३१ गते संकलन गरि परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही पठाइएको थियो । संक्रमितमा कुनै लक्षणहरु नदेखिएकाले अरुमा नसर्ने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
संक्रमित ब्यक्ति यसरी गाउँमै आएर सबैसंग घुलमिल भएपछि स्थानीयमा त्रास छाएको स्थानीय ४५ बर्षिय रामप्रसाद सापकोटाले बताउनुभयो । गाउँपालिकाले होचुवाको भरमा घरमा पठाउँदा समुदायमा समेत कोरोना फैलिन सक्ने भएकाले त्रास छाएको उहाँले बताउनुभयो । अहिले स्थानीयहरुमा त्रास छाएको र सामाजिक संजालमा बिभिन्न टिका टिप्पणीहरु आइरहेका छन् ।
स्थानीयहरुले गाउँपालिकाले होचुवाको भरमा घरमा पठाई गम्भिर रुपमा स्वास्थ्यको खेलवाड गरेको आरोप लगाएका छन् । उनीहरुले रिपोर्ट नै नआउँदै नेगेटिभ आयो भनेर घर पठाउँनु जनताको स्वास्थ्य माथि गाउँपालिकाले गँिभर खेलवाड गरेको भन्दै गाउँपालिकालाई खुला पत्र समेत लेखेका छन् ।
यता चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले उनीमा केही लक्षण नदेखिएकाले होम क्वारेन्टाइनमा बस्ने गरि घरमा पठाएको बताउनुभयो । पछिल्लो समयमा संघिय सरकारको निर्देशिका अनुसार नै लक्षण नदेखिएकाहरुलाई अनिवार्य रुपमा होम क्वारेन्टाइनमा बस्ने गरि पठाएको भन्दै हल्लाको पछि नलाग्न खत्रीले आग्रह गर्नुभयो । गाउँमा सामान्य कुरा भएपनि यसलाई नकारात्मक रुपमा लिने र बास्तविकता नबुझी सबै हल्लाको पछि लाग्दा समस्या भएको भन्दै उनले बास्तविकता बुझन आग्रह समेत गर्नुभएको छ ।







