गुल्मीमा बाढी पहिरोबाट एकवर्षमा २० जनाले ज्यान गुमाए !

गुल्मीमा बाढी पहिरोबाट एकवर्षमा २० जनाले ज्यान गुमाए !

Badigad Online
3 Min Read

गुल्मी । प्रदेश ५ मा बाढी पहिरोबाट एक वर्षको अवधिमा ४६ जनाले ज्यान गुमाएका छन् । २०७६ साउनदेखि असार दोश्रो सातासम्म प्रदेशका १२ जिल्लामा ४६ जनाको मृत्यु हुनुका साथै २९ जना घाइते भएका प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बाढी पहिरोबाट सबैभन्दा बढी गुल्मीका २० जनाले ज्यान गुमाएका छन् । रोल्पाका ८ जना, पाल्पाका ६ जना, पश्चिम नवलपरासीका ५ जना, दाङका ३ जना र प्युठानका २ जना र रुकुम पूर्वका एक–एक जनाको मृत्यु प्रदेश प्रहरी कार्यालय प्रदेश ५ का प्रवक्ता एसपी राजकुमार वैदवारले जानकारी दिनुभयो । प्रहरी कार्यालयको तथ्यांकअनुसार यही असार महिनामा मात्र प्रदेश ५ मा बाढी पहिरोमा परी १० जनाले ज्यान गुमाएका छन् । असार १८ गते सम्ममा १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । असारमा गएको बाढी पहिरोबाट पाल्पामा ५ जना, गुल्मीमा ३ जना, पश्चिम नवलपरासी र अर्घाखाँचीमा एक–एक जनाको मृत्यु भएको हो ।

त्यस्तै गुल्मीमा ४ जना र पाल्पामा एक जना घाइते भएका छन् । त्यसैगरी बाढी पहिरोमा परी गुल्मीमा २० र अर्घाखाँचीमा ८ वटा गरी २८ वटा चौपाया मरेका छन् । ३० वटा घर गोठमा क्षति पुगेको छ । असार महिनामा मात्र बाढी पहिरोबाट ५४ लाख ७० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ । तथ्यांकअनुसार २०७६ साउनमा १७ जनाले ज्यान गुमाएका थिए भने ७ जना घाइते भएका थिए । गत भदौमा १२ जना, असोजमा २ जना, कात्र्तिकमा, माघ, चैत्र, वैशाख र जेठमा एक एक जनाको ज्यान गएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । बाढी पहिरो बाहेक अन्य विपतबाट दर्जनौको संख्यामा मानवीय क्षति भएको छ ।

जस अनुसार एक वर्षको अवधिमा चट्याङबाट १० जना, आगलागीबाट १० जना, र हावाहुरीबाट ५ जनाको ज्यान जाने गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चट्याङबाट दाङ र रोल्पामा ३–३ जना, रुपन्देही र प्युठानमा २–२ जनाको मृत्यु भएको थियो । चट्याङबाट ४९ जना घाइते भएका छन् । आगलागीबाट गुल्मीका ४ जना, नवलपरासी पश्चिममा २ जना, रुपन्देही, रोल्पा, कपिलवस्तु र दाङमा १–१ जनाको मृत्यु भएको छ । आगलागीमा परी ३८ जना घाइते भएका थिए । हावाहुरीका कारण बाँकेमा ४ जना र रुपन्देहीमा १ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित