गुल्मी । गुल्मीको इस्मामा पहिरोमा फसेकी महिलाको १८ घण्टापछि जिवितै उद्धार गरिएको छ । मुसिकोट नगरपालिका २ की तारा कुमालको उद्धार गरिएको स्थानीय श्रीराम महतले जानकारी दिनुभयो । उनलाई मंगलबार दिउँसो साढे १ बजेतिर इस्मा गाउँपालिका १ हस्तिचौरको मल्दी च्युटारीबाट उद्धार गरिएको महतले बताउनुभयो ।
सोमबार साँझ ६ बजेबाट पहिरोमा फसेकी कुमालको शरिर पुरै निलो भएको छ । उनी पहिरोले बगाएको खेतबारीको मकै लिन गएकी थिइन् । कुमाल मकै बोकेर फर्कने क्रममा पहिरोमा फसेको र रातिदेखि ठुलो पानीसंगै बगेको लेदोले थप पुरेपछि १८ घण्टासम्म कुनै उद्धार नभएको स्थानीय क्रृषिराम अर्यालले जानकारी दिनुभयो । दर्लामचौरबाट पहिरो हेर्न आएका व्यक्तिहरुले पहिरोमा फसेको देखेपछि स्थानीय मिलेर कुमालको उद्धार गरिएको अर्यालले बताउनुभयो ।
हस्तिचौर र मुसिकोटका अधिकांश सडक अवरुद्ध भएकाले उनलाई कुन माध्यमबाट अस्पताल पुराउने भन्ने बिषय अन्यौलमा परेको छ । एम्बुलेन्सको प्रर्वन्ध गरेर जानेसक्ने स्थानसम्म गएर बिरामी ल्याउन प्रहरीलाई निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले बताउनुभयो ।