विष्णु प्रसाद आचार्य,वामीटक्सार । गुल्मीको मुसिकोट नगरपालिका वडा नं ७ वामीका एक घरबेटीले २ महिना बराबरको भाडा छुट दिएका छन् । काफलटोला निवासी नुन्द्रलाल काफ्ले र धनिकला काफ्लेले वामी बजारमा रहेको आफ्नो घरमा डेरा गरेर बस्ने र व्यापार व्यवसाय गर्नेहरुलाई २ महिनाको घरभाडा छुट गरेको बताउनुभयो ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको सतर्कता अपनाउन चलेको लकडाउनमा कुनै पनि व्यापार व्यवसाय नभएकाले २ महिनाको भाडा छुट दिएको घरबेटी काफ्लेले बताउनुभयो । आफ्नो घरमा ३ वटा कोठा र दुई वटा सटरमा बस्दै र व्यवसाय गर्दै आएकाहरुलाई २ महिनाको झण्डै २६ हजार बराबरको घरभाडा छुट दिएको उहाँले जानकारी दिनुभयो ।
लामो समयसम्म व्यापार–व्यवसाय नहुँदा भाडामा व्यवसाय गर्नेहरुले भाडा तिर्नको निम्ति समस्या पर्दै गएको बताएका थिए । २ महिनाको भए पनि भाडा छुट दिएकाले केही हदसम्म राहत महसुस भएको भाडामा बस्नेहरूको भनाइ छ । सरकारले घर भाडामा दिएकालाई छुट दिन आग्रह गरे पनि त्यसको कार्यान्वयन प्रायः नभएको देखिन्छ । तर, गुल्मीमा भने केही घरबेटीले बराबरको भाडा छुट दिन शुरू गरेका छन् ।
काफ्लेका ५ भाई छोराहरु बाबुराम काफ्ले बुटबलमा हुनुहुन्छ भने घनश्याम काफ्ले, ऋषिराम काफ्ले, कृष्ण काफ्ले र टकं काफ्ले हाल वैदेशिक रोजगारीका क्रममा विदेशमा हुनुहुन्छ ।