सुमित्रा कडेंल, पाल्पा । जिल्लाको रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरीको छचुवा लिफ्टिङ्ग खानेपानी आयोजनाको टंकी निर्माण अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारको १० लाख लगानीमा टंकी निर्माण र पाइपलाइन विस्तार अन्तिम चरणमा पुगेको वडा अध्यक्ष लाल बहादुर दर्लामीले जानकारी दिनुभयो ।
उक्त खानेपानी आयोजना बाट १ सय २० घरधुरी लाभान्बित हुनेछन् । घरघरमा खानेपानीको धारा पुर्याउनको लागि स्थानीय मुलमा टंकी बनाएर खानेपानी विस्तारको काम सुरु गरिएको वडाध्यक्ष दर्लामीले बताउनुभयो । नजिकै रहेको मुलबाट लिफ्टिङ्ग गरेर खानेपानीको समस्या समाधान गर्नका लागि प्रदेश सांसद तुलाराम घर्तीको पहलमा बजेट परेको थियो । छचुवामा अधिकांश कुमाल समुदायको बस्ति रहेको ठाउमा खानेपानीको समस्या हुँदा खानेपानी लिन घण्टौं समय लगाएर जानु पर्ने बाध्यता रहेको स्थानीय खिम बहादुर कुमालले बताउनुभयो । अहिले टंकी निर्माण भएर पानी वितरण भएमा समस्या समाधान हुने स्थानीयवासीहरुको भनाइ छ ।